आँधीखोलामा २ लाख ८० हजार माछाका भुरा छाडियो

टीकाराम अधिकारी,
गल्याङ् ।
आँधीखोला जलविद्युत केन्द्रको ड्याममा माछाका भुरा छाडिएको छ । नेपाल विद्युत प्राधिकरण कालीगण्डकी ‘ए’ जलविद्यतु केन्द्र मत्य ह्याचरीको संयोजकत्वमा विभिन्न प्रजातिका २ लाख ८० हजार माछाका भुरा छाडिएको हो । गर्दि, हाडे, ठेड जातका भुरा छाडिएको केन्द्रले जनाएको छ । गल्याङ नगरपालिका वडा नं. ३ स्थित विपिसि ड्याम साईड आँधीखोला क्षेत्रमा गर्दि ८० हजार, हाडे १ लाख र ठेड १ लाख गरी २ लाख ८० हजार माछाका भुरा छाडिएको छ । केन्द्रले हरेक वर्ष माछाका भुरा आँधीखोलामा छाड्दै आएको छ ।

कार्यक्रममा गल्याङ नगरप्रमुख गुरुप्रसाद भटराईले पछिल्लो समय आँधीखोलामा स्थानीय जातका माछाहरु लोभ हुँदै गएको भन्दै यहाँको रैथाने माछा संरक्षण गर्दै माछा मारेर नै जिविकोपार्जन गर्दै आएका समुदायलाई समेत मध्यनजर गर्दै गल्याङ नगरपालिका अगाडि बढ्ने र जलचर संरक्षणमा लागेको बताए । माछा मारेर जिविको पार्जन गर्ने बोटे र माझीहरुको परम्परागत पेशाको समेत संरक्षण हुने र माछा विक्रीबाट राम्रो आम्दानी श्रोत हुने भन्दै नगर प्रमुख भट्टराईले अन्य नदीको तुलनामा आँधीखोलामा माछाको स्वादनै भिन्दै हुने कुरा बताए । कार्यक्रममा उपप्रमुख हेमा न्यौपानेले ड्याममा कालीगण्डकी केन्द्रले हरेक वर्ष माछामा भुरा छाड्दै आएको भन्दै अवैधानिक रुपमा जलचर तथा माछा मार्ने कार्यलाई न्युनीकरण गर्नुपर्नेमा जोड दिइन् । त्यस्तै गल्याङ ३ का वडा अध्यक्ष कृष्णप्रसाद भट्राईले केन्द्रले हरेक वर्ष माछाका भुरा छाड्दै आएको र छाडिएको माछाको संरक्षण गर्न आवश्यक रहेकाले यसको संरक्षण स्थानीय पालिकाले गर्नुपर्ने र आँफु वडाको तर्फबाट हुने संरक्षणका कार्य हुने बताए ।

आँधीखोला जलविद्युतका प्रमुख डोलप्रसाद खरेलले नदी सबैको सार्वजनिक सम्पत्ती भएको र यसको संरक्षणमा स्थानीय सरकारले ध्यान दिनु पर्नेमा जोड दिए । कार्यक्रमको स्वागत गर्दै नेपाल विद्युत प्राधिकरण कालीगण्डकी जल विद्युत केन्द्र मत्स्य हेचरीका सिभिल फोरम्यान डोलराज न्यौपानेले माछाले पर्यावरणलाई समेत सन्तुलन राख्ने भएकाले जलचरको संरक्षण गर्नु पर्ने कुरा बताए । नेपाल विद्युत प्राधिकरण कालीगण्डकी जल विद्युत केन्द्र प्रमुख अनन्त उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जल विद्युत केन्द्रका बरिष्ठ सहायक ठाकुर प्रसाद पाण्डेले गरेका थिए ।

 

प्रतिक्रिया