‘टेलिफोनबाट नागरिकको गुनासो’

स्याङ्जा ।
स्याङ्जाको वालिङ नगरपालिकाले नागरिकका गुनासा सुन्न तथा ती गुनासाहरुलाई व्यवस्थित रुपमा सुनुवाई गर्न कलसेन्टर स्थापना गर्ने भएको छ । नागरिकका वैयक्तिक, पारिवारिक तथा सामुदायिक रुपमा आइपरेका समस्या तथा नगरपालिकाको काम कारवाहीका विषयमा सिधा टेलिफोन गरेर गुनासो टिपाउने र समाधान गर्न कलसेन्टर स्थापना हुने भएको हो । नगरपालिका भित्रका १४ ओटै वडाहरुका नागरिकले नगरपालिकाले गरेको सेवा प्रवाह, तिनको प्रभाव र आवश्यक जानकारी लिन कलसेन्टर स्थापना गर्न लागिएको नगर प्रमुख कृष्ण खाँणले बताए ।

सबै जनप्रतिनिधिहरु नागरिक माझ पुग्न समस्या हुनसक्छ उनले भने,‘नागरिकका गुनासाहरु धेरै हुनसक्छन्, ती गुनासाहरुलाई सहज रुपमा छिटो सुनुवाई गर्न कल सेन्टर लाभदायी हुनेछ ।’ नगरका गतिविधिहरु नागरिकमाझ पु¥याउन नगरपालिकाले प्रविधिको बढीमात्रामा प्रयोग गर्ने, सामान्य कामको लागि नागरिकले नगरपालिकाको कार्यालयसम्म आउनुपर्ने स्थिति नहोस उनले भने । यो प्रविधिको नागरिकले प्रयोग गरेर अधिक फाईदा उठाउन नगर प्रमुख खाँणले अनुरोध गरेका छन् ।

भौगोलिक दृष्टिकोणले नगरभित्रका केही वडाहरु अलि अपायक रहेकाले कलसेन्टरले नागरिकलाई फाईदा हुने विश्वास नगरपालिकाले लिएको छ । नगरपालिकाको कामकारवाहीका लागि सुशासन कायम होस भन्ने हेतुले यो प्रविधिको प्रयोग गर्न लागेको नगर उपप्रमुख कविता तिवारी गैह्रेको भनाई छ । महिलाहरुलाई पालिकाको केन्द्र सम्म आउन कठिन हुने, घरकै कामधन्दामा व्यस्त हुने भएकाले कलसेन्टर मार्फत आफ्ना गुनासा टिपाउन सजिलो हुने विश्वास आफुले लिएको गैह्रेको बताइन् । समयको मागअनुरुप नागरिकलाई सहज सेवा प्रवाह गर्न कल सेन्टर फलदायी हुने गैह«ेको विश्वास छ ।

झण्डै १ लाख नागरिक वालिङ नगरपालिकामा बसोवास गर्दै आउको तथ्याङ्क छ । नागरिकका गुनासा व्यवस्थापन गर्न सहज हुने अनुमान गरेर कलसेन्टर स्थापना गर्ने अभियानमा लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए । स्मार्ट नगर तर्फ उनमुख वालिङ नगरपालिका यो प्रविधिको प्रयोग हुनु भनेको स्मार्ट नगर मध्येको एक सुचक हुने भट्टराईले बताए । नागरिकको नजिकको सरकार भनेकै स्थानीय सरकार भएकाले नागरिको गुनासो सहजै आउने र समाधान गर्न सहज हुने माध्यम बन्ने उनको विश्वास छ ।

कल सेन्टरमा फोन गर्दा कुनै शूल्क नलाग्ने नगरपालिकाले जनाएको छ । बिहान १० बजेदेखि ५ बजे सम्म टेलिफोनबाट गुनासो टिपाउन सकिने व्यवस्था छ भने अन्य समय कल रेकर्ड गरेर गुनासो टिपाउन सकिने व्यवस्था मिलाइएको सूचना तथा प्रविधि प्रमुख प्रकाश अर्यालले जानकारी दिए । आएका गुनासा नगरभित्रका कुन शाखाका हुन पहिचान गरेर सोही शाखामा पठाउने व्यवस्था रहनेगरी अगाडी बढेको उनले बताए ।

प्रतिक्रिया