ह्वाइट वर्डस नामक पुस्तक विमोचन

भीरकोट ।
बालोदय अंग्रेजी आवसीय माविको १६ औं बार्षिकोत्सव समारोहमा ह्वाइट वर्डस नामक पुस्तकको भीरकोटमा विमोचन गरिएको छ । पुस्तकको भीरकोटका नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले एक समारोहका बीच विमोचन गरेका छन् । भीरकोटको बालोदय माविमा कार्यरत वालिङ १३ का युवा लेखक दर्शन पाठकले आफ्नो शिक्षण अनुभव र जीवन भोगाई समेटेर अंग्रेजी माध्यममा लेखिएको यो पुस्तक पाठक आफैले प्रकाशन गरेका हुन् । १ सय ५६ पृष्ठको सो पुस्तकमा पाठकको बल्यकालदेखि अहिलेसम्मको जीवनी समेटिएको छ । जीवन परक रहेको सो पुस्तकको विमोचन गर्दै नगरप्रमुख कर्माचार्यले विश्व परिवेश सुहाउँदो पुस्तक प्रकाशनमा पाठकको भूमिका महत्वपूर्ण रहेको बताए । शिक्षणमा लागेर साहित्य लेखनलाई पनि अघि बढाएका पाठकको पुस्तकले समाज परिवर्तनमा योगदान पुग्ने उनको भनाइ थियो । विमोचन कार्यक्रममा उक्त पुस्तकको समिक्षात्मक टिप्पणी पत्रकार नारायण प्रसाद कोईरालाले गरेका थिए ।
हरेक शब्दलाई तस्बिरमा र तस्बिरलाई शब्दमा उतार्न सक्नुपर्छ भन्ने सोचाइ राख्ने लेखक दर्शन पाठकद्वारा लिखित उक्त पुस्तक जीवानुभूतिको सँगालो हो । ९३ वटा स्वच्छन्द शैलीमा रचिएका कविता र साहित्यक निबन्धमा पाठकले आफ्नो जीवनमा भोगेका, देखेका र कल्पना गरेका विषयवस्तुलाई विशिष्ट तरिकाले प्रस्तुत गरेका छ्न् । पुस्तकमा कृतिको नाम जस्तै हरेक शब्दहरु सेतो रंगमै उतारिएका छ्न् र किताबको पानाहरु भने काला छन् । जहाँ कालो रंगको पृष्ठभूमिले यो समाजमा रहेका नकारात्मक पक्षलाई इंगित गर्दछ भने सेता अक्षरहरुले समाजमा रहेका सकारात्मक सोचाइ, आशावादी सोचाई र सम्भावनाहरुलाई प्रस्तुत गर्दछन् ।
अंग्रेजी भाषा र साहित्य सिक्न, बुझ्न र जान्न चाहने सबैको लागि उपयोगी यो पुस्तकले हामी भित्र रहेको अन्धकारमा समेत उज्यालो खोज्न सिकाउँछ । सामाजिक, व्यक्तिगत र बौद्धिक विषयवस्तुलाई सरल र साहित्यिक दुबै तरीकाले प्रस्तुत गरिएको यो कृतिमा लेखकको शिक्षण अनुभव समेत समेटिएका छन् । माइक्रोबायोलोजी र समाजशास्त्रका शब्दहरुको अलिक बढी प्रयोग गरिएको यो कृतिका केही विषयवस्तु र शब्दावली सामान्य पाठकका लागि सेता अक्षरमात्र पनि हुन सक्छ्न् । नाम जस्तै हरेक विषयवस्तुलाई दर्शनकै रुपमा व्याख्या गर्न सक्ने पाठकको जीवन दर्शन बुझ्न र समाजलाई हेर्ने अर्को एउटा फरक दृष्टिकोणलाई बुझ्न् समेत पुस्तकले सघाउँछ । काव्यात्मक शैलीमा कहिँकतै साहित्यिक निबन्धहरु समेत मिसिएका छ्न् ।
प्रतिक्रिया