नाम अनुसारको काम— बेसहाराको सहारा बन्दै उत्थान केन्द्र

स्याङ्जा ।
अर्जुनचौपारी गाउँपालिका २ का हुमबहादुर बि.क. यतीबेला निकै हर्षित छन् । ५०÷५२ बर्ष उमेर पुगेका बि.क.लाई अर्जुनचौपारी दलित उत्थान केन्द्रले सानो घर बनाईदिएपछि हर्षित भएका हुन् । ४÷५ बर्ष अगाडी बर्षादको समयका आएको बाढीले घर भत्किएपछि घरबार बिहिन बन्न पुगेका थिए । आर्थिक अवस्था कमजोर भएका कारण घर बनाउन नसकेका बि.क. दिनभरी जहाँ काम गरे उही घरमा बास बसेर आफ्नो दिनचर्या बिताउदै आएका थिए ।

साथमा भएकी श्रीमतिले समेत साथ छाडिदिएपछि एक्लो जिवन बिताउदै आएका बि.क. झण्डै ५ बर्षदेखी घामपानी, हुरीबतास लगायत प्रकृति विपद्सगै जुध्दै कष्ठकर दिन काट्न बाध्य थिए । उनको कष्टकर जिवनको सहार बन्न आईपुग्यो दलित उत्थान केन्द्र । बिषेश गरी दलित समुदायको उत्थानका लागि निर्माण गरिएको यो संस्थाले छोटो समयमा हुमबहादुर जस्ता धेरैको सहारा बनेको छ । जहाँ दुख छ त्यहाँ दलित उत्थान केन्द्र छ भन्ने उदेश्य बोकेको यो संस्थाले अहिले सम्म घरबार बिहिन भएका ४ जनालाई घरबासको व्यवस्था गरिदिएको संस्थाका अध्यक्ष दिपक बिश्वकर्माले जानकारी दिए । लामो समयदेखी घर नभएर अर्कैको घरमा बस्दै आएको खबर थाहा पाएपछि गाउँपालिका र सहयोगीदाताको सहयोगमा हुमबहादुर घर बनाईदिएको उनले बताए ।

एककोठे घर निर्माण सम्पन्न भएपछि गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले हुमबहादुरलाई घरको साँचो हस्तान्तरण गरेका छन् । अध्यक्ष तिवारीले स्थानीय सरकार सहाराबिनको सेवक भएको बताउदै गाउँपालिकाका कुनै पनि नागरिक घरवार बिहिन हुन नदिने प्रतिवद्धता व्यक्त गरे । हुमबहादुरलाई घर बनाएर बसोबास गर्ने प्रवन्ध मिलाउने दलित उत्थान केन्द्रलाई अध्यक्ष तिवारीले धन्यवाद दिदै यस्ताकाममा गाउँपालिका सगै हातेमालो गर्ने उनले बताए ।

उत्थान केन्द्रले घर नभएकालाई घर, खानेपानी नभएकालाई खानेपानी, शौचालय नभएकालार्य शौचालय, विद्युत नभएकालाई विद्युत लाईन जोड्ने र उपचारमा समस्या भएकालाई आर्थिक सहयोग गर्दै आएको संस्था अध्यक्ष विश्वकर्माले बताए । हामी दलित उत्थान केन्द्र मात्रै बन्न चाहादैनौ उनले भने,‘अब गरिव उत्थान केन्द्र बनाउन चाहान्छौ ।’ अन्य समुदायमा पनि यस्ता समस्या छन् भने पहिचानको आधारमा सहयोग गर्नेछौं उनले भने । अब केही दिनमा गैह्र दलित समुदायका दुई जनाका लागि पनि घर बनाइरहेको उनले बताए । केही दिनमा हस्तान्तरण हुने बताए ।

 

 

प्रतिक्रिया