दुर्घट्नामा ज्यान गुमाएकाको सम्झनामा दिप प्रज्वलन

स्याङ्जा ।
जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले सडक दुर्घट्नामा परेर ज्यान गुमाएका नागरिकको सम्झनामा दिप प्रज्वलन गरेको छ । जिल्ला सदरमुकाम पुतलीबजारमा ट्राफिक प्रहरीले बर्षभरी सडक दुर्घट्नाबाट ज्यान गुमाएका नागरिकको सम्झनामा दिप प्रज्वलन गरेको हो । गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय पोखराको आयोजना, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र नेपा प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडाको समन्वयमा ट्राफिक प्रहरीले ट्राफिक सप्ताह २०८० संचालन गरेको थियो ।

बैशाख २५ गतेदेखी ३१ गते सम्म आयोजना गरिएको ट्राफिक सप्ताह २०८० मा ट्राफिक प्रहरीले सडक दुर्घट्नामा निधन भएका नागरिकको सम्झना गर्दै दिप प्रज्वलन गरेर समापन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख मिनबहादुर कुँवरले जानकारी दिए । एकसाता जिल्लाभरी ट्राफिक सचेतना फैलाउदै दुर्घट्ना न्युनिकरणमा प्रशिक्षण, पर्चा पम्लेट र सडकमा होडिङ बोर्ड राखिएको उनले बताए ।

दुर्घट्ना न्युनिकरणमा सबैको चासो हुनु आवश्यक छ उनले भने,‘ट्राफिक प्रहरी एक्लैले मात्रै नभएर सरोकारवालाहरुको पनि ध्यान जानु जरुरी छ ।’ सबैले ट्राफिक नियमको पालना र चासो दिने हो भने सडक दुर्घट्ना न्युनिकरणमा सहज हुनेछ उनले भने । भौगोलिक दृष्टिकोणले र समयमै मर्मत सम्भार नहुँदा सडकको अवस्था नाजुक रहेको कुँवरले बताए । दुर्घट्ना विभिन्न कारणबाट हुनसक्छन् उनले भने,‘चालकको लापरवाही र सवारी साधनको अवस्थामा ध्यान नदिदा धेरै दुर्घट्ना भएका छन् ।’ यसमा सवारी धनी र चालक नै सबै भन्दा बढी जिम्मेवार बन्नुपर्ने देखिन्छ उनले भने ।

आर्थिक बर्ष २०७९÷०८० साउन देखि बैशाख १ गते सम्म स्याङ्जामा १२ ओटा दुर्घट्ना भएका छन् । उक्त दुर्घट्नामा ९ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक बर्षमा भन्दा यो आर्थिक बर्षमा दुर्घट्नामा केही कमी आएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । ट्राफिक प्रहरीको खटाई, सचेतना, प्रशिक्षणका साथै चालक र यात्रुको संयमताले केही सफलता मिलेको दावी ट्राफिक प्रहरीको छ ।

ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले आयोजना गरेको ट्राफिक सप्ताह २०८० को दिप प्रज्वलन गरी प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले समापन गरेका छन् । समापनमा प्रजिअ घिमिरेले सडक दुर्घट्नाले धेरै नागरिकले अनाहकमा ज्यान गुमाउन परेको प्रति दुःख व्यक्त गरे । कतिपय दुर्घट्ना अप्रत्यासित र कतिपय दुर्घट्ना लापरवाहीले हुने गरेको तथ्याङकले देखाएको बताउदै प्रजिअ घिमिरेले जुनसुकै प्रकारबाट भएपनि दुर्घट्नामा न्युनिकरणमा सबैले दायीत्व बोध गर्नुपर्ने बताए । दुर्घट्नालाई कम बनाउन सरकारी तवरबाट सक्दो पहल हुने विश्वास व्यक्त गर्दै नागरिक र सरोकारवालाहरुबाट पनि उत्तिकै चासो दिएर सुरक्षित यात्रा बनाउन सहयोग गर्न प्रजिअ घिमिरेले आग्रह गरे ।

ट्राफिक प्रहरीले एकसाता भरी विद्यार्थीलाई जेब्राक्रसबारेमा प्रशिक्षण,सवारी साधनमा ट्राफिक स्लोगन सम्वन्धी स्टिकर टाँस्ने, सवारी चालकको स्वास्थ्य परिक्षण सगै यान्त्रीक परिक्षण र ग्रामिण रुट लक्षित छतहुट यात्रा सम्वन्धी सचेतना लगायतका कार्यक्रम गरिएको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ । ट्राफिकको यो कार्यक्रम प्रभावकारी भएको यातायात व्यवसायीहरुले समेत बताएका छन् ।

 

प्रतिक्रिया