वालिङमा छुवाछुत मुक्त दिवस मनाइयो

आरती कुँवर,
वालिङ ।
स्याङ्जाको वालिङमा जातीय भेदभाव तथा छुवाछूत मुक्त रास्ट्र घोषणा दिवस विषयक अन्तरक्रिया गरिएको छ । आइतबार वालिङ नगरपालिकाको आयोजनामा दलित महिला उत्थान केन्द्र तथा स्थानीय सरकार सवलिकरण, अष्ट्रेलियन एआइडी र द एसिया फाउन्डेसनको समन्वयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै वालिङ नगर प्रमुख कृष्ण खाँणले छुवाछूत र भेदभाव फरक कुरा भएको भन्दै छुवाछूतको अन्त्य पहिला आँफुबाट नै गर्न आवश्यक रहेको औल्याए । साथै उनले छुवाछूतको अन्त्य आफ्नै भान्साबाट गर्ने घोषणा पनि गरे । दलित समुदायका व्यक्तिलाई आफ्नै भान्सामा संगै बसेर खाना खाएर यो कुराको अन्त्य गर्ने उहाँको भनाइ छ । सबैभन्दा ठूलो धर्म मानव धर्म रहेको भन्दै संसारमा मानवीय धर्म हराउँदै गएको बताए । मानवले नै बनाएको यश गलत संस्कारको शिकार दलित समुदाय बन्नुपरेको उनको भनाइ रहेको छ । यस कुराको अन्त्यका लागि नगरपालिका सधैं सकारात्मक रहेको जनाउदै दलित समुदाय उत्थानको लागि एजेन्डा नै तयार पारी अगाडि बढ्ने बताए ।
यस्तै कार्यक्रमको बारेमा पृष्ठपोषण तथा कार्यक्रमलाई प्रकाश पार्दै निवर्तमान नगरप्रमुख दिलिप प्रताप खाँणले छुवाछूत प्रथा अन्त्यको घोषणा गरेको पाँच वर्षपछि ऐन बन्नु दुखद रहेको बताए । उनले वर्ण र जात फरक रहेको भन्दै मानिस जन्मिदै माथिल्लो र तल्लो जात भनेर नजन्मिने तर परम्परा र संस्कारले जात छुट्टाइएको बताए । साथै यो जातजाति भनेर छुट्टाउने परम्परा पहिलेदेखि नै चलिआएको र अबको संस्कार तथा परमपरा सकारात्मक खालको हुनुपर्नेमा जोड दिए ।
वास्तवमा दलित समुदायले सहानुभूतिको आशा नराखेको तर समानुभुतिको अपेक्षा गरेको उनको भनाइ रहेको थियो । हरेक अवसरमा समानता भएमा मात्रै दलित समुदाय पनि अरु समुदायको बराबरीमा आउने उल्लेख गरे । साथै उनले विभेद गर्न पनि आग्रह गरे । सकारात्मक खाले विभेद भएमा पनि समान अवसर मिल्ने बताए । उनले भने’ जबसम्म समान विभेद हुदैन तबसम्म समान अवसर मिल्न सक्दैन । माथिल्लो समुदायको कुनै व्यक्तिले यदि ७० प्रतिशत ल्याउछ र दलित समुदायको एक व्यक्तिले ५० प्रतिशत ल्याउछ भने उसलाई डाक्टर पढ्ने अवसर दिनुपर्छ । जबसम्म माथिल्लो समुदाय र दलित समुदाय बराबरिमा आउँदैनन तबसम्म यो आवस्यक छ । यसैले विभेद गर्न म सबैलाई आग्रह गर्छु उनले भने ।
समाजमा सकारात्मक संस्कार तथा परम्परा र चेतनाको विकास हुन आवश्यक रहेको उनले बताए । अबको नयाँ पुस्ताले छुवाछूत विरुद्धको संस्कार लिएर अगाडि बढे छुवाछूतको अन्त्य हुने उनको भनाइ थियो । यस्तै सहभागीको तर्फबाट कार्यान्वयन गर्ने ठाउँ तथा क्षेत्रका व्यक्तिहरुले दलित समुदायका समस्याको पहिचान गर्न नसकेको गुनासो गर्दै खुल्ला सोच राख्न आग्रह गरेका थिए ।
कार्यक्रममा वालिङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, द एसिया फाउन्डेसनका गण्डकी प्रदेश संयोजक लगाएतले बोलेका थिए । साथै कार्यक्रममा दलित महिला उत्थान केन्द्रकी राधा नेपालीले कार्यक्रमको प्रकाश तथा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम सामाजिक विकास समिति संयोजक युगमाया पंगेनीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत कार्यपालिका सदस्य भक्त बहादुर गोतामेले र संचालन वालिङ ५ कि वडा सदस्य अनिता नेपालीले गरेका थिए ।
आज छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ वर्ष पूरा हुँदा अझै पनि हाम्रो नेपाली समाजमा छुवाछूत कायमै रहेको छ । छुवाछूत कानुनी तबरमानै दण्डनीय भएता पनि हाम्रो समाजमा भने यसको व्यवहारिक रुपमा नै अन्त्य नहुनु दुखद पक्ष रहेको छ । छुवाछूत अन्त्यका लागि विभिन्न नियम कानुन बनेता पनि मानिस कानुन भन्दा पनि माथी बनेर यसलाई कायम राख्नु साँच्चै नै हाम्रालागि लज्जास्पद बनेको छ । यस कु संस्कारको विकास हुनुमा कहि कतै राजनीतिकदल, बुद्धिजीवी, सामाजिक व्यक्तित्व, सामाजिक संरचना तथा दलित समुदायमा पनि हुने तल्लो वर्ग र माथिल्लो वर्गबिचको अन्तर ले नै यश छुवाछूतले जरा गाडेको भन्दा कत्ती फरक नपर्ला । यस विषयमा गहन छलफल तथा बहस हुन आवश्यक देखिएको छ ।
प्रतिक्रिया