दोषी सबैलाई कारवाही गर्छौं ः मन्त्री गुरुङ

वालिङ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले सरकार अहिले जनता बचाउने अभियानमा लागेको बताएका छन् । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ ले स्याङ्जाको वालिङमा आयोजना गरेको प्रथम क्षेत्रीय सम्मेलनमा उनले नेता बचाउने भन्दा पनि जनता बचाउने कुरा ठूलो रहेको बताए । “अहिलेको मन्त्रिपरिषद्को मुख्य कार्यभार सुशासन हो, सरकार त्यही अनुरुप अघि बढेको छ” उनले भने । भुटानी शरणार्थीमा महाअपराध भएको भन्दै उनले यो सामान्य घटना नभएको बताए । घटनामा संलग्न जो सुकै भए पनि कानूनी दायरामा ल्याइने उनको भनाइ छ ।
“भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिङ्ग, क्षेत्र, राजनीति पार्टी हुँदैन भन्ने मान्यता स्थापना गर्न र सुशासन स्थापनाका लागि अहिलेको सरकार लागेको छ”, उनले भने । शरणार्थीको विषयमा दबाब आइरहेको बताउँदै उनले भने, “जति सुकै दबाब आए पनि सुशासन स्थापना गर्ने बाटोमा सरकार अग्रसर हुनेछ ।” नेपाली काँग्रेसका उपसभापति समेत रहेका गुरुङले भ्रष्टाचारको मुद्दामा नेताहरु मुछिएको घटनाबारे पार्टीभित्र छलफल भइरहेको जानकारी दिए । नेपाली काँग्रेसको चाहना निष्पक्ष र स्वतन्त्र ढङ्गबाट छानबिन होस भन्ने रहेको उनको भनाइ छ । छानबिनका लागि सहयोग गर्नुपर्छ भन्ने कुरा पार्टीभित्र भएको उनले जानकारी दिए । अपराधीले उन्मुक्ति पाउनु हुँदैन भन्नेमा सरकार र पार्टी रहेको भन्दै उनले भ्रष्टाचारमा मुछिएकालाई निलम्बन गर्नुपर्ने विषयमा पार्टीभित्र छलफल भएको बताए ।
मन्त्री गुरुङले बोल्नेभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । उनले नेताले जनतालाई आश्वासन नभई कामले पुष्टि गर्नुपर्ने समय भएको बताएका हुन् । “आफूले चुनेर पठाएको जनप्रतिनिधिबाट जनताले आशा गरेका छन्”, उनले भने, “जनताले झुठा आश्वासन नभई विकास निर्माण चाहेका छन् ।” उनले राजनीतिक दलका नेताको बोलीभन्दा पनि कामको प्रतिफल (उपलब्धि) लाई मूल्याङ्कनको आधार बनाउने भएकाले पनि कामले पुष्टि गर्नुपर्ने बताए । उनले राजनीतिक नेतृत्वमा रहेकाहरुको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिए । उनले सम्पत्ति छानबिनको सुरुआत आफैँबाट गर्न पनि आग्रह गरे ।
क्षेत्रिय समितिले सम्मेलनका अवसरमा वालिङ बहुमुखी क्याम्पसमा निर्वाचित भएका स्ववियु सभापति, पदाधिकारी तथा टिमलाई सम्मान गरेको छ । सम्मेलनमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा गण्डकी प्रदेश सांसद भोजराज अर्याल र कल्पना तिवारी, पुर्व सांसद मोहन पाण्डे, जिल्ला कार्यबहाक सभापति केदार काफ्ले, वालिङ नगर उपप्रमुख कविता तिवारी, युवा नेता विष्णु पौडेल र गल्याङ नगरसभापति श्यामप्रसाद बस्याललगायतले बोलेका थिए । सम्मेलनको खुला सत्रमा पार्टीका ३० जनाले आआफ्ना जिज्ञासा तथा सुझावहरु राखेका थिए । सोही कार्यक्रममा अन्य पार्टी परित्याग गरी करिब १ दर्जन व्याक्तिहरु काँगे्रसमा प्रवेश गरेको क्षेत्रीय सभापति दिलिपप्रताप खांणले बताए ।

प्रतिक्रिया