अर्जुनचौपारीमा ट्रस ब्रिज

स्याङ्जा ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको केन्द्रविन्दु हो, अर्जुनचौपारी बजार । अग्ला पहाडले घेरिएको बीचमा केही फराकिलो ठाउँ । जहाँ गाउँपालिकाको प्रशासकीय भवन पनि रहेको छ । गाउँ नै गाउँले भरिएको अर्जुनचौपारी गाउँपालिकाको मुकामको रुपमा रहेको छ, अर्जुनचौपारी बजार । बजारलाई दुई भागमा विभाजन गर्दै बहेको दरौँखोला । हालसम्म प्रदूषित नबनिसकेको दरौँ खोला स्याङ्जा जिल्लाकै ठूलो मध्येको एक खोला पनि हो । मुख्य बजारको बीच भागमा ३० वर्ष अघि निर्माण भई सञ्चालनमा रहेको झोलुङ्गे पुल । जीर्ण अवस्थामा रहेको पुल जहाँ काठका फलिया ठोकिएको थियो । वर्षाको पानीले बीच बीचमा कुहिएर वारपार गर्दा दुर्घटना हुन सक्ने जोखिम थियो ।
मुख्य बजारबाट वारपार गर्न ३० वर्ष अघि निर्माण भएको पुलबाट स–साना बालबालिका विद्यालय जानुपर्ने बाध्यता थियो । सुसाउँदै बहेको दरौँ खोला र झोलुङ्गो जस्तै हल्लिने जीर्ण अवस्थामा रहेको पुलले जो कोही वारपार गर्न पनि डराउँथे । धेरै मानिसहरुले ओहोरदोहोर गर्ने पुल जीर्ण बनेकाले आवतजावतमा समस्या भएपछि उक्त ठाउँमा ‘ट्रस ब्रिज’ निर्माण गरी सञ्चालनमा ल्याइएको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए ।
“बजारको बीच भागमा रहेकाले लठ्ठा तानेर पुल बनाउन नमिल्ने भएपछि ‘ट्रस ब्रिज’ को डिजाइन गरी पुल निर्माण गरेका हौँ”, उनले भने, “पुल निर्माण भएसँगै दुर्घटनाको जोखिम हटेर गएको छ भने ओहोरदोहोर गर्न पनि निक्कै सहज र छिटो भएको छ ।” पुल निर्माण गर्न संघीय सरकारको २९ लाख, गाउँपालिकाको २० लाख र स्थानीयवासीको एक लाख गरी कूल ५० लाखको लागतमा निर्माण सम्पन्न भएको उनले बताए । दरौँ खोलामा निर्माण सम्पन्न भई सञ्चालनमा आएको पुल ३२ मिटर लम्बाइको रहेको छ ।
सम्झौता भएको मितिले तीन महिनाभित्र काम सम्पन्न गरी हस्तान्तरण गरिएको अर्जुनचौपारी बजार झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष क्याप्टेन रुद्रबहादुर थापाले बताए । “तीस वर्ष अघि निर्माण भएको झोलुङ्गे पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता थियो”, उनले भने, “पुल जीर्ण हुँदा, पुलमा प्रयोग भएका फलिया कुहिँदा स–साना स्कुले बालबालिकाको खुट्टा छिर्ने, चप्पल बगाउने, घाउ चोटपटक लाग्ने गरेको थियो ।” पुल सम्पन्न भई सञ्चालनमा आएसँगै स्थानीयलाई निक्कै सहज भएको महसुस गरेका छन् । पुलले अर्जुनचौपारी गाउँपालिका वडा नं १ र २ लाई जोडेको छ ।
प्रतिक्रिया