तथ्यांक कार्यालय स्याङ्जाले राष्ट्रिय जनगणना नतिजा सार्वजनिक

स्याङ्जा ।
तथ्यांक कार्यालय स्याङ्जाले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित जिल्ला स्तरीय नतिजा सार्वजनिक कार्यक्रममा जिल्ला स्थित ११ वटै पालिकाको सहभागिता थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीले सहि तथ्यांकले मात्र योजना निती निर्माण र बजेटको सदुपयोग हुदै लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताए । पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी लगायतले जुनसुकै कार्यका लागि पनि सही तथ्यांक आवश्यक पर्ने हुदा वास्तविक तथ्यांक आउनु पर्नेमा जोड दिए । यसैगरी, नतिजा बारे जानकारी गराउदै तथ्यांक कार्यालय प्रमुख शारदा शर्माले स्याङ्जाको जनसंख्या २ लाख ५३ हजार २४ रहेको छ । ती मध्ये १ लाख ३६ हजार ३ सय ४६ महिला र एक लाख १६ हजार ६ सय ७८ पुरुष रहेको बताइएको छ । जनसंख्याको ५३ दशमलब ९ प्रतिशत महिला र ४६ दशमलब १ प्रतिशत पुरुष छन् ।

स्याङ्जाको जनसंख्या २०६८ को भन्दा १.२८ प्रतिशतले घटेको छ । दशबर्षअघि २ लाख ८९ हजार १४८ जनसंख्या रहेकोमा अहिले सार्वजनिक गणनामा २ लाख ५३ हजार २४ देखिएको छ । जनगणना २०७८ अनुसार, नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमा महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.०२ प्रतिशत छ भने पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् ४८.९८ प्रतिशत छ । त्यस्तै, अन्य लिङ्गीको संख्या दुई हजार ९२८ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । यो देशको जनसंख्याको ०.००१ प्रतिशत हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले गत कात्तिक २५ देखि मंसीर ९ गतेसम्म जनगणना गरेको थियो। तथ्याङ्क कार्यालयले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । जनगणनामा देशभर अक्सर बसोबास गर्ने सम्पूर्ण व्यक्तिको निश्चित समय अवधिभित्र गणना गरी व्यक्तिगत तथा पारिवारिक विवरणसँग सम्बन्धित तथ्याङ्क सङ्कलन गरिएको थियो । तथ्यांकले समग्र मुलुक, जिल्ला, पालिका र वडाका बिकास, ऐन, निती निर्माणमा सहयोग पुरयाउछ । कार्यक्रमको सहजीकरण भने तथ्यांक अधिकृत राजेन्द्रप्रसाद पराजुलीले गरेका थिए ।

प्रतिक्रिया