वालिङ स्वास्थ्य क्षेत्रमा ९७ प्रतिशत सफल

मणी प्रसाद अर्याल,
वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिका स्वास्थ्य क्षेत्रको कार्य सम्पादनमा ९७ प्रतिशत काम गर्न सफल भएको छ । नगरपालिकामा आयोजित वार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य शाखाले पेश गरेको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नगर स्वास्थ्य शाखाले आ.व.२०७९÷०८० को अवधिमा ९७ दशमलब २३ प्रतिशत सफलता हासिल गरेको जनाएको हो ।
वालिङ नगरपालिकाको आ.व.२०७९÷०८० को अवधिमा स्वास्थ्य क्षेत्रमा सशर्त अनुदानमा विनियोजित बजेट ८ करोड ५३ लाख ६ हजार मध्ये ९७ दशमलव २३ प्रतिशत खर्च भएको छ । आन्तरिक श्रोतबाट विनियोजित १ करोड ३० लाख मध्ये ७१ दशमलव ५७ प्रतिशित रकम खर्च भएको प्रतिवेदनले देखाएको छ । स्वास्थ्य क्षेत्रमा सुधारको लागि नगर अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको र शहरी स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका ५ वटा भवन निर्माण सम्पन्न भएको उल्लेख गरिएको छ ।
आ.व.०७९÷०८० को अवधिदेखि नै आकस्मिक प्रशुति शल्यक्रिया सेवा सञ्चालन गरिएको, सर्ने तथा नसर्ने रोगहरुको सर्वेक्षण तथा तथ्याङ्क संकलन गरिएको र बृहत प्रजनन तथा आँखा शिविर सञ्चालन गरी नागरिकहरुलाई स्वास्थ्यका कार्यक्रमहरुसँग प्रत्यक्ष जोडी सेवा प्रदान गरिएको प्रस्तुत प्रतिवेदनले देखाएको छ । नगरपालिकाले प्रवाह गरेका सेवा तथा कार्य सम्पादनको प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले शिशु तथा बालकालिकाहरुको लागि दिइने खोपको मात्रा सम्पूर्ण वडाहरुमा पूर्ण रुपमा दिइएको जानकारी दिए ।
उनले खोप लगाउन कुनै पनि बच्चा छुट भए नभएको एकिन गर्न सम्पूर्ण वडाहरुमा घरधुरी सर्वेक्षण गरिएको उल्लेख गरे । पाण्डेले शहरी क्षेत्रमा स्तनपान गराउने आमाहरुको संख्या कम रहेको प्रतिवेदन प्रस्तुत गर्दै ग्रामिण क्षेत्रमा यसको अवस्था राम्रो रहेको जानकारी दिए । मातृशिशु स्वास्थ्यको लागि पोषणका कार्यक्रम, नियमित स्वास्थ्य जाँच, स्वास्थ्य संस्थामा सुत्केरी गराउने सम्बन्धको चेतना तथा अभिमुखीकरण जस्ता कार्यक्रमहरु प्रभावकारी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समिक्षा कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार गत ३ वर्षको अवधिमा वालिङ नगरपालिकामा सुरक्षित गर्भपतन गराउनेको संख्या वृद्धि भएको, क्षयरोग मुक्त स्थानीय तह घोषणाको लागि सूक्ष्म योजना तथा कार्यक्रमतय गरिएको, एचआईभी तथा एड्स रोगीहरुको लागि उपचार तथा हेरचाह उचित तरिकाले गरिएको जनाएको छ । नगरबासीहरुको बीचमा गरिएको स्वास्थ्य सर्वेक्षण अनुसार मुटु, मधुमेह, स्वास प्रस्वास लगायतका नसर्ने रोगहरु सर्ने रोगको तुलनामा उच्च रहेको प्रतिवेदनमा उल्लेख छ ।
स्वास्थ्य क्षेत्रले पेश गरेको प्रतिवेदन सुखद रहेको वालिङ नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले बताए । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई अझै सुधार गर्दै वालिङ नगरलाई स्वस्थ नगर बनाउन सबै स्वास्थ्यकर्मीहरु लाग्नुपर्ने शर्माले बताए । नगरभित्रका स्वास्थ्य संस्थाहरुले नागरिकलाई सेवा दिने बिषयमा कुनै कसुर बाँकी नराखेर काम गर्न उनले निर्देशन दिए । कार्यक्रममा वालिङ १ का वडा अधयक्ष पदमराज गुरुङ्, लेखा प्रमुख ज्ञानप्रसाद अर्याल लगायतले स्वास्थ्य शाखाले पेश गरेको प्रतिवेदन सन्तोषजनक रहेका बताएका थिए ।
प्रतिक्रिया