वालिङ बजारमा जताततै मिति गुज्रेका सामान

नारायण कोइराला,
वालिङ ।
स्मार्ट सिटी वालिङमा उपभोक्ताहरू पनि स्मार्ट र सचेत हुनुपर्ने देखिएको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र समेत रहेको वालिङमा स्थानीय सरकारले बजार अनुगमनलाई प्राथमिकता नदिदा बजारमा जताततै मिति गुज्रेका सामान पाइएको हो । बिहिबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गरेको बजार अनुगमनका क्रममा खाद्यान्न, मिठाइ पसल र हार्डवेयरमा समेत मिति गुज्रिएका सामान फेला परेका थिए ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले चाडपर्व लक्षित बजार अनुगमन अन्तर्गत वालिङ नगरपालिकाको बजार अनुगमन गरेको हो । चाडपर्वमा हुन सक्ने कालोबजारी तथा ठगी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा बिहिबार वालिङ नगरपालिकाको बजार अनुगमन गरिएको थियो । बजार अनुगमनमा घरेलु तथा पर्यटन कार्यालय, खाद्यान्न तथा गुणस्तर नियन्त्रण कार्यालय पोखरा, उपभोक्ता मंच, करदाता कार्यालय , नगरपालिकाका कर्मचारी, पत्रकार र प्रहरीको समेत सहभागिता रहेको थियो ।

जिल्ला प्रशासन कार्यालयले २२ वटा पसलहरूको अनुगमन गर्दा धेरैजसो पसलमा मिति गुज्रिएका खाद्यान्न सामग्री फेला पारिएको जनाएको छ । १४ ओटा खाद्यान्न पसल, ४ ओटा औषधी पसल, २ वटा हार्डवेयरमा र १ ÷१ ओटा मिठाइ पसल तथा बेकरीको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

वालिङका नाम चलेका पसलहरूमा समेत उत्पादक र उपभोग्य मितिको लेबलिङ नभएका र म्याद गुज्रिएका सामग्रीहरू भेटिएको छ । गाउँवेशी डिपार्टमेन्ट स्टोर्स, नमस्ते फलफूल तथा किराना, भूम्रे किसान मार्ट, दिया वर्षा हार्डवेयर, गाउँवेशी मार्ट प्रा. लि., वालिङ स्वीट्स, बगाले बेकरीमा अनुगमन गर्दा लेबलिङ नभएका र म्याद गुज्रिएका सामाग्रीहरू भेटिएको सहायक प्रजिअ पौडेलले बताए ।

अनुगमनका क्रममा चामल, बिस्कुट, दालमोठ, कोल्ड ड्रिंक्स, बियर, फेबिकल , रंग, नमकिन , चाउचाउ, अजिनो मोटो लगायतका म्याद गुज्रिएका सामग्रीहरू भेटिएका थिए । औषधी पसलहरूमा भने कुनै कैफियत नभेटिएको पौडेलले बताए ।

अनुगमनका क्रममा वालिङ स्वीट्सलाई २० हजार जरिवाना गरिएको छ । म्याद गुज्रेका मिठाइजन्य कच्चा पदार्थ प्रयोग गरेको, मिठाइ उत्पादन गरिने स्थानको सरसफाई एकदमै कमजोर देखिएको पाइएकाले उपभोक्ता संरक्षण ऐन – २०७५ बमोजिम जरिवाना गरिएको प्रशासनले जनाएको छ । यसैगरी रंगको मूल्य केरमेट गरि नबुझिने बनाएकाले डुम्रे हार्डवेयरलाई रंगको मूल्य बराबर ३ हजार २ सय २४ रूपैयाँ जरिवाना गरिएको छ । डुम्रे हार्डवेयर पसल यो भन्दा अगाडीको अनुगमनमा ठुलोमात्रमा रंगहरु जफत गरेको थियो । हार्डवेयर, खाद्यान्न, बेकरी र मिठाइ पसलमा रहेका म्याद गुज्रिएका सामाग्री जफत गरी वालिङ सरसफाई केन्द्रमा लागि नष्ट गरिएको पौडेलले बताए ।

प्रतिक्रिया