सानिमा बैंकको नयाँ शाखा स्याङ्जाको पुतलीबजारमा

स्याङ्जा ।
सानिमा बैंकले स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरेको छ । बैंकले बिहीबारदेखि उक्त शाखाबाट बैंकिङ कारोबार सुरु गर्ने भएको छ । बैंकको यो १३३ औं शाखा हो । शाखा कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सञ्चालक रमेशकुमार पोखरेल र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरे ।
कार्यक्रममा मदनकृष्ण श्रेष्ठले सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरे । सञ्चालक पोखरेलले सानिमा बैंकलाई विश्वास गरी सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सहयोग गर्ने ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत पाण्डेले स्याङ्जामा शाखा स्थापना गरेर बैंकले स्थानीय ग्राहकलाई विश्वसनीय एवं स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । सानिमा बैंकका देशका सातै प्रदेशमा १ सय ३३ कार्यालय र १ सय २३ एटीएम सञ्चालनमा छन् ।
स्याङ्जाका ११ वटै स्थानीय तहहरुमा वाणिज्य बैंकहरु पुगेको अवस्था छ । यसअघि जिल्लाको वालिङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिएको थियो । अब छिट्टै भीरकोट नगरपालिकामा पनि यस बैंकको शाखा बिस्तार हुने भएको छ । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको स्याङ्जामा पछिल्लो समयमा वाणिज्य बैंकका शाखाहरु खुल्ने क्रम बढेको पाइन्छ ।
बैंकको सेवा सर्वसाधारणको पहुँचमा पु¥याएर ग्रामिण क्षेत्रको आर्थिकस्तर सुधार गर्नका लागि महत्वपूर्ण टेवा पुगेको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । यस क्षेत्रको आर्थिक विकासका साथै बैंकिङ प्रणालीलाई सर्वसाधारणको पहुँचमा पु¥याउन पालिका समेत लागिपरेको तिवारीको भनाई छ । वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले नगरको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका रहने बताएका छन् । उनले व्यवसायीहरुलाई आफ्नो आर्थिक कारोबार बैंकसँग जोडिएर गर्न आग्रह गरेका छन् ।
बैंक सम्वन्धि सर्वसाधारणको बुझाई भने फरक छ । सबै वित्तीय संस्थाको मुख्य काम निक्षेप संकलन र कर्जा लगानी हो । तर राष्ट्रिय स्तरका कुनै पनि बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गलाई कर्जाका लागि पत्याउँदैनन् भन्ने सर्वसाधारणको आरोप छ । स्थानीय सेवाग्राही नारायण रेग्मीले भने, ʻबैंकले कम आम्दानी भएको समूहबाट निक्षेप मात्रै संकलन गर्छन् । बैंक धनी हुन्छ जनता झन गरिब हुन्छन् ।ʼ

 

प्रतिक्रिया