आमाको स्मृतिमा वडाध्यक्षले बनाए बाटो

भीरकोट ।
भीरकोट नगरपालिका वडा नं. २ का वडाध्यक्ष श्यामकाजी अधिकारीले आफ्नी आमाको स्मृतिमा बाटो बनाएका छन् । वडाध्यक्षको परोपकारी कामले गर्दा भीरकोट नगरपालिकाको एक पुरानो प्रतिष्ठित विद्यालय दहथुम माध्यमिक विद्यालयमा स्थापनाको ७१ वर्षपछि सडकमार्गको सहज पहुँच पुगेको छ। सिद्धार्थ राजमार्गबाट नजिकै भएको भएपनि सहज सडक मार्ग नभएकै कारण विद्यार्थीको रोजाइमा पर्न छोडेको विद्यालयमा विद्यालयका कार्यवहाक अध्यक्ष एवं वडा अध्यक्ष श्यामकाजी अधिकारीले व्यक्तिगत लगानीमा सडक निर्माण गरेका हुन्।
भीरकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष अधिकारीले आफ्नो स्वर्गीय आमा शिरकुमारी अधिकारी र पिता देव बहादुर अधिकारीको स्मृतिमा दहथुम माध्यमिक विद्यालय जाने सडक निर्माण गरेका हुन्। आमाको पूण्यतिथीको अवसर पारेर निर्माण गरिएको सिद्धार्थ राजमार्ग देखि विद्यालयसम्म पुग्ने सडकको उद्घाटन समेत भएको छ। अधिकारीकी आमाको नवौं वार्षिक पूण्यतिथिको अवसरमा करिब ४ सय मिटर लामो सडक खण्डको नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले उद्घाट्न गरे।
सडक उद्घाटन गर्दै नगर प्रमुख कर्माचार्यले वडा अध्यक्ष अधिकारीको सत्प्रयासको प्रशंसा गर्दै नगरले गर्नुपर्ने काम वडा अध्यक्षले व्यक्तिगत रूपमा गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । अरूहरूले पनि अधिकारीको सामाजिक कार्यबाट आफ्नो वडा र समाजको हितमा काम गर्न सिक्नुपर्ने कर्माचार्यले बताए। विद्यालयसम्म पुग्ने पैदलमार्ग भएपनि यातायातको सहज थिएन। सहज सडकमार्ग नहुँदा कतिपय अवस्थामा निर्माण कार्य गर्दा निर्माण सामाग्री बोक्नुपर्ने बाध्यता थियो।
विद्यालयका प्रधानाध्यापक तोयनारायण कोइरालाले नयाँ पहुँच मार्ग छोटो र सजिलो रहेको बताए। उनले भने, ‘सडकको पहुँच त थियो तर अलिक अप्ठ्यारो थियो, ट्याक्टर हिड्न समेत गाह्रो हुने खालको, मर्मत गरिरहन पर्ने। नयाँ पहुँच मार्ग सहज र छोटो छ। नगर प्रमुख ज्यूले आगामी आर्थिक वर्षमा थप स्तरोन्नति र ढलान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।’
वडा अध्यक्ष अधिकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत जनप्रतिनिधीको हैसियतमा आफूले पाउने सेवा सुविधा विद्यालय र बालबालिकाको हितमा प्रयोग गरेको बताए। अधिकारीले आफ्नै व्यक्तिगत खर्चमा ४ दिनसम्म डोजर प्रयोग गरेर करिब ७० हजार बराबरको काम गरेको बताए। जग्गाधनीहरूसँगको समझदारी पश्चात सहज रूपमा विद्यालय पुग्न सकिने पहुँच मार्ग निर्माण भएको बताउँदै उनले थप स्तरोन्नति र ढलान भएपछि स्कुल बस सहज रूपमै विद्यालय पुग्ने विश्वास व्यक्त गरेका छन् ।
यसैगरी विद्यालय जाने पैदल मार्ग पनि पुनर्निर्माण गर्न लागिएको अधिकारीले बताए। वडाको २ लाख र विद्यालयको १ लाख तथा अन्य स्रोत गरि करिब ४ लाख लागतमा रेलिङ सहितको स्तरीय पदमार्ग निर्माण गरिने उनले जानकारी दिए। १ सय मिटर लामो पदमार्ग २ मिटर फराकिलो हुनेछ, ३ ठाउँमा फोहर मलाईका डस्टविनहरु पनि हुनेछन् भने दायाँबायाँ फूलहरू रोपिने छ्न्। बाटोमा भएका पुराना ढुङ्गा र सिमेन्ट प्रयोग गरि मौलिकता पनि जोगिने गरि पदमार्ग पुनर्निर्माण गरिने अधिकारीको भनाई छ।
प्रतिक्रिया