संस्कृतिको जगेर्ना गर्दै भीरकोटका महिला समूह
अमृत अर्याल, भीरकोट ।
बढ्दो आधुनिकता र सहरीकरणका कारण पछिल्लो समयमा यहाँका मौलिक संस्कृति विस्तारै हराउन थालेका छन् । धर्म, भाषा, साहित्य, कला र संस्कृतिले सम्पन्न भीरकोटको परम्परा आज लोपोन्मुख अवस्थामा पुगेको छ । यसको संरक्षण, सम्वर्धन एवं प्रवर्धन हुन नसक्दा पाको पुस्ता चिन्तामा छ । मौलिकता गुमनाम हुँदै जाँदासमेत नवपुस्ता कसैले पनि त्यति धेरै चिन्ता गरेको पाइँदैन । अनुशरण गर्नलायक विरासत बोकेका संस्कृति संरक्षणमा गर्नुपर्ने विषयमा सरोकारवालाहरु बेखबरजस्तै देखिन्छन् । आजभोलि आधुनिकताले गाउँलाई पनि छोएको छ । स्थानीयवासीको छाना, बाना र खाना सबै परिवर्तन हुँदै गएको पाइन्छ । मुलतः पश्चिमा संस्कृतिको प्रभाव गाउँमासमेत परेको छ ।
हिजोका मौलिक परम्परा, संस्कार, संस्कृति, धर्म हराउँदै जान थालेपछि यतिबेला भीरकोटका महिलाहरु यहाँको सांस्कृतिक परम्परा जगेर्ना गर्नतर्फ लागेका छन् । भीरकोट नगरपालिका–१ बयरघारीका स्थानीय महिलाले दिब्य तारा समूह गठन गरि धार्मिक जागरण अभियानमा जुटेका छन् । आफुहरुले हिन्दु संस्कार र संस्कृति जगेर्ना गर्ने अभियान थालेको समूहकी अध्यक्ष सावित्री केसीको भनाई छ । समूहले पहिलो अभियान अन्तर्गत भीरकोटमा रहेका मठ मन्दिरहरुको सरसफाई थालेको छ । समूहका सदस्यहरुलाई जन्मदिनमा धार्मिक कार्यमा प्रयोग गरिने पूजा सामाग्री उपाहार स्वरुप दिने गरिएको अध्यक्ष केसीले बताईन् ।
केसीका अनुसार गर्विलो इतिहास बोकेको हाम्रो संस्कृति तथा सभ्यताको जगेर्ना गर्ने मनसायले समूह गठन गरिएको हो । आफुहरुले नयाँ पुस्तालाई सांस्कृतिक चेतना पस्कने प्रयास गरेको केसीले बताईन् । उनले भनिन्, ’पहिरन पनि हाम्रो सम्पत्ति, पहिचान र इतिहास हो । यसले हाम्रो भाषा, संस्कृति, भेषभूषा र जीवनशैलीका बारेमा प्रष्ट पार्दछ । यो हाम्रो अस्तित्व र जीवन इतिहाससँग जोडिएको छ । अब हामीले हाम्रो भेषभूषमा समेत ध्यान दिन्छौं ।’
समूहकी कोषाध्यक्ष बिमला केसी भन्छिन् ‘अहिलेका युवा–युवतीहरु पाइन्ट, टिसर्ट लगाउने गर्दछन् । त्यो पनि ठाउँ–ठाउँ च्यातिएको हुन्छ । त्यस्ता पहिरनमा हिँड्न लाज मान्दैनन्’, उनले भनिन्, ‘आफ्नो पहिरन लगाउन हिच्किचाउँछन्, लज्जित भएको महसुस गर्छन् । यसले मातृत्व र जननीप्रतिको प्रेम हराउँदै गएको प्रष्ट हुन्छ ।’ हाम्रो संस्कृतिको जगेर्ना गर्ने हेतुले समूह गठन गरेको उनको भनाइ छ ।
स्थानीय संस्कृतिविद डा. तुल्सी प्रभासले संस्कृतिको संरक्षण र पुरातात्विक सम्पदाको अनुसन्धान तथा अध्ययन हुन जरुरी रहेको बताउँछन् । भीरकोट नगरपालिका–५ पकानका स्थानीय ज्येष्ठ नागरिक उदयराज अर्यालले परम्परागत संस्कृतिको संरक्षणले कला, संस्कृति, धर्म, संघर्ष, स्वाभिमान, मेहनत, वीरता सबैको प्रतिविम्ब दिने गरेको बताए । ‘संस्कृति पनि त हाम्रो पुँजी हो । यसले हाम्रो मौलिकता र वास्तविकता दुवै बोल्छ’, अर्यालले भने, ‘हामी त माल भएर पनि चाल नपाउने कस्तुरी मृगजस्तै भयौँ । यसको महत्व बाहिरका मान्छेले बुझेका छन् ।’


प्रतिक्रिया