पूर्व वडाध्यक्षको घर हटाउन अख्तियारको निर्देशन

प्रकाश डोटेल,
स्याङ्जा ।

स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. ५ का पूर्व वडाध्यक्ष डण्डबहादुर रानाको घर हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले निर्देशन दिएको छ । सार्वजनिक जग्गा हडपेर घर बनाएको देखिएपछि अख्तियारले उक्त निर्देशन दिएको हो । स्याङ्जा जिल्ला साविक चिन्नेबास गाविस वडा नं. ७ को हाल हरिनास गाउँपालिका वडा नं. ५ को कित्ता नं. ५३७ को सार्वजनिक जग्गा हडपेर घर बनाएको आरोप लागेपछि अख्तियारले घर हटाउन निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन २०७४ मा राना एमालेबाट उक्त वडाको वडाध्यक्ष बनेका थिए ।

उक्त कित्ताको जग्गा जंगल चर्चिएको भन्दै अख्तियार कार्यालयले घर हटाउन निर्देशन दिएको जनाएको छ । बनेको पक्की तथा कच्ची संरचना हटाउन जिल्ला प्रशासन कार्यालय र सरकारी, सार्वजनिक सम्पत्ति संरक्षण गर्न हरिनास गाउँपालिकालाई अख्तियारले जारि गरेको निर्देशनात्मक पत्रमा उल्लेख गरिएको छ । अख्तियारले आफ्नो ऐन, २०४८ को परिच्छेद–६ अन्र्तगत दफा २८ अनुसार आयोगले सुझाब दिन सक्ने उपदफा ‘ख’ बमोजिम गएको माघ ९ गते उक्त निर्देशन दिएको हो । अख्तियारले पत्रमा निर्देशन तत्काल कार्यान्वयन गरि जानकारी गराउन समेत भनेको छ ।

वडाध्यक्ष बनेपछि रानाले डोजर खरिद गरेर गाउँपालिका अन्र्तगत काम गरेर अबैध रुपमा अकुत कमाएको स्थानीयले आरोप लगाएका छन् । पालिका र वडामा आफ्नै सरकार बनेको भन्दै उनले एकलौटी काम गरेर अकुत आर्जन गरेको स्थानीयको आरोप छ । उता उनै पूर्व वडाध्यक्ष रानाले अबैध ढुङ्गा खानी संचालन गरेको स्थानीयले बताएका छन् । अबैध ढुङ्गा खानीबाट ढुङ्गा निकालेर तनहुँको दुलेगौडा, पाल्पाको रामपुर र पोखरामा अबैध निकासी गर्दै आएको स्थानीयले बताए ।

२०७४ देखि २०७९ को ५ वर्ष अवधिमा बंगुर फार्म खोलेर रानाले गाउँपालिकाबाट कृषि अनुदान हत्याएको पालिका श्रोतले जनाएको छ । पालिका श्रोतका अनुसार बंगुर फार्मका नाउँमा उनले वर्षेनी ३ देखि ५ लाख कृषि अनुदान लिएको बताईएको छ । गाउँपालिकाका अध्यक्ष खिमबहादुर मानन्धर र पूर्व वडाध्यक्ष रानाका बिरुद्ध अख्तियारमा दर्जनौ उजुरी दर्ता भएको श्रोतले नाम उल्लेख नगर्ने शर्तमा जनाएको छ । दर्जनौ उजुरी दर्ता भएका छन् र उजुरी उपर छानबिन गरी कारबाहीको प्रक्रिया समेत अगाडी बढेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले जिल्ला प्रशासन मार्फत सार्वजनिक जग्गामा बनेको घर हटाउन निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आयोगको पत्रलाई बोधार्थ बनाउदै हरिनास गाउँपालिकालाई पत्र पठाएको छ । आयोगले माघ ९ गते पठाएको पत्रको आधारमा साविक चिन्नेवास ७ हाल हरिनास गाउँपालिका ५ मा रहेको सर्वाजनिक जग्गामा बनेको घर हटाउन पत्राचार गरेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । हरिनास गाउँपालिकाले पनि प्रशासनले पठाएको उक्त पत्रका बिषयमा छलफल भएको जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माका अनुसार डण्डबहादुर रानालाई बोलाएर छलफल गरेको बताए । कार्यपालिकाको बैठकमै यस बिषयमा छलफल भएको छ उनले भने,‘बिहिवार भएको छलफलमा यस बिषय टुङिगएन ।’ फेरी छलफल गर्नेगरी सकिएको छ, केही दिनमा प्रशासनले पठाएको पत्र कार्यन्वयन हुन्छ उनले भने । रानाले लामो समयदेखी सार्वजनिक जग्गामा घर बनाएर बस्दै आएपछि स्थानीयले अख्तियारमा पुगेर यो घर हटाउन निवदेन दिएका थिए । स्थानीयले दिएको निवेदनका आधारमा अख्तियारले प्रशासन मार्फत घर हटाउन पत्र पठाएको थियो ।

प्रतिक्रिया