देश र जनताको काम गर्नको लागी राजनीति गरेको हँु ः कानुन मन्त्री गुरुङ

आरती कुँवर,
वालिङ ।
देश र जनताको काम गर्नको लागी राजनीति गरेको कानुन न्याय तथा संसदिय मामिला मन्त्री धनराज गुरुङले बताएका छन् । ठुला योजना देखी साना साना योजनाहरुमा ध्यान गएको भन्दै मन्त्री गुरुङले सबै कामहरु विस्तारै सम्पन्न गर्ने बताएका हुन् । न्यु मिशन थ्रि स्टार युवा क्लब वालिङ–१२, काउलेद्धारा क्लबको २२ औ वार्षिकोत्सवको अवसरमा आयोजित साविक गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको उदघाटन समारोहमा बोल्दै कानुन मन्त्री गुरुङले देश र जनताको काम गर्नको लागी राजनीति गरेको बताए ।

अहिले नगरे कहिले काम गर्ने ? उनले भने,‘मलाई तपाईहरुले काम गर्नको लागी मन्त्री बनाउनुभएको हो, म काम गरेरै छाड्छु ।’ देश र जनताको लागी राजनीति गरेको मान्छे म धेरै कुरा सोचिरहदिन जहाँ जहाँ जे जे काम पर्छ गर्दै जाने हो उनले भने । मन्त्री गुरुङले फरक विचार राख्दैमा, फरक पार्टिमा लाग्दैमा शत्रु नहुने वास्तवमा शत्रु गरिबि, अशिक्षा, बेरोजगारी, भ्रष्टाचार हुने भन्दै त्यसको विरुद्धमा लाग्ने तर गाउँ तथा देशको विकासका लागी सबै मिलेर काम गर्नुपर्ने बताए । साथै उनले सबै काम एकैपटकमा सम्पन्न नहुने बताउँदै केही कामहरु यस वर्षमा थालिएको र अन्य कामको लागी आगामी वर्षदेखी शुरु हुने बताए । मन्त्री गुरुङले वालिङ, १२ काउले, चन्द्रकोट जाने बाटोको स्तरोन्नति गर्ने बताउदै वालिङ नगरपालीका भित्रका ग्रामिण सडकहरुको समेत स्तरोन्नीत गर्नको लागी योजना तयार गर्न र यदी बजेट अभाव भएमा खबर गर्न आग्रह समेत गरे ।

वालिङ नगरभित्रका जति पनि सानातिना बाटोघाटो, खानेपानी आदि जे पनि छन योजना तयार पारेर नगरमा जानुस यदी बजेट अभाव भएमा मलाई भन्नुस, म छु भन्दै मन्त्री गुरुङले चन्द्रकोट पर्यटकिय सन्दर्भ संग जोडिएकाले यसलाई व्यवस्थित बनाउन पहिला आधारभुत आवश्यकतामा बाटोको स्तरोन्नती गर्ने लगायत भ्यु टावर निमार्णका लागी आफँु लागी पर्ने मन्त्री गुरुङले बताए ।

कार्यक्रममा वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रेले युवा उद्यमशीलताको विकास गर्दै स्वदेशमै स्वरोजगारी सिर्जना गर्नको लागि नगरले २ करोड रुपैयाँ विनियोजन गरेको उल्लेख गर्दै बिनाधितो युवावर्गमा लगानी गर्दै स्वरोजगारको दर बढाउँदै उत्पादन वृद्धि गर्ने सोँच नगरको रहेको बताइन् । कार्यक्रममा वालिङ, १२ का वडा अध्यक्ष विश्वजंग गुरुङ, नेपाली कांग्रेसका गण्डकी प्रदेश प्रतिनिधी कमल कुँवरलगायतले बोलेका थिए ।

कार्यक्रम क्लबका अध्यक्ष कम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत क्लबका संस्थापक अध्यक्ष थमबीर गुरुङले र सञ्चालन क्लबका सदस्य मनिश गुरुङले गरेका थिए । क्लबको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको गाउँस्तरीय पुरुष भलिबल, भेट्रास तथा क्यारम बोर्ड प्रतियोगितामा भलिबलतर्फ प्रथम पुरस्कार नगद ८६ हजार शिल्ड मेडल र प्रमाणपत्र रहेको छ । । त्यस्तै द्धितिय, तृतिय र सान्त्वना पुरस्कार क्रमश ः ५६ हजार, ३६ हजार, २१ हजार शिल्ड मेडल र प्रमाणपत्र रहेको छ । त्यस्ृ भेट्रास तथा क्यारम बोर्ड तर्फ प्रथम र द्धितिय पुरस्कार खशि तथा पाठो, शिल्ड मेडल र प्रमाणपत्र रहेको छ ।

प्रतिक्रिया