भीरकोटको १८ औँ नगरसभाबाट नीति तथा कार्यक्रम स्वीकृत, ५७ करोड ३० लाखको बजेट प्रस्ताव

भीरकोट ।

स्याङ्जाको भीरकोट नगरपालिकाको १८ औँ नगरसभाको पहिलो बैठक सम्पन्न भएको छ। नगरसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरी स्वीकृत गरिएको छ। साथै चालु आर्थिक वर्ष २०८२÷८३ को बजेट समीक्षा, आगामी आर्थिक वर्ष २०८३÷८४ को प्रस्तावित बजेट वक्तव्य, विनियोजन विधेयक, २०८३ तथा आर्थिक विधेयक, २०८३ सभामा प्रस्तुत गरिएको छ। नगरसभामा नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले आगामी आर्थिक वर्षका लागि नगरपालिकाले अवलम्बन गर्ने विकास नीति, योजना तथा कार्यक्रम प्रस्तुत गरेका थिए। प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, रोजगार सिर्जना, सामाजिक सुरक्षा, वातावरण संरक्षण तथा सुशासनलाई प्राथमिकतामा राखिएको जनाइएको छ। नगरसभाका सदस्यहरूको छलफल तथा सुझावपछि नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा स्वीकृत गरिएको हो।

बैठकमा उपप्रमुख तथा आर्थिक विकास समितिका संयोजक भगवती रेग्मी अर्यालले चालु आर्थिक वर्ष २०८२÷८३ को बजेट कार्यान्वयन अवस्थाबारे समीक्षा प्रस्तुत गरेकी थिइन। समीक्षा प्रतिवेदनमा विभिन्न विकास निर्माणका आयोजना, सामाजिक तथा आर्थिक कार्यक्रमहरूको प्रगति, राजस्व संकलनको अवस्था तथा खर्चको विवरण प्रस्तुत गरिएको थियो। समीक्षा क्रममा केही योजनाहरू अपेक्षाअनुसार सम्पन्न भए पनि केही आयोजना विभिन्न कारणले पूर्ण रूपमा सम्पन्न हुन नसकेको जानकारी दिइएको थियो। त्यसैगरी आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि प्रस्तावित बजेट वक्तव्य सभामा प्रस्तुत गरिएको छ। सभामा आगामी आ.व.का लागि सामाजिक सुरक्षा भत्ता बाहेक ५७ करोड ३० लाखको प्रस्तावित बजेट पेश भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले जानाकारी दिए । नगरपालिकाले आगामी वर्षको बजेटलाई विकास निर्माण, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा नगरवासीको जीवनस्तर सुधारतर्फ केन्द्रित गरेको जनाएको छ। बजेटमार्फत कृषि उत्पादन वृद्धि, युवालाई स्वरोजगारमुखी बनाउने कार्यक्रम, महिला तथा बालबालिकाको सशक्तीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार तथा आधारभूत पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिइएको छ।

नगरसभामा प्रस्तुत विनियोजन विधेयक, २०८३ ले आगामी आर्थिक वर्षका लागि विभिन्न शीर्षकमा विनियोजन गरिने रकमको कानुनी व्यवस्था गरेको छ। यस्तै आर्थिक विधेयक, २०८३ मार्फत राजस्व संकलन, कर तथा शुल्क निर्धारण, आर्थिक अनुशासन र वित्तीय व्यवस्थापनसम्बन्धी व्यवस्थाहरू प्रस्ताव गरिएको छ। दुवै विधेयक नगरसभामा प्रस्तुत भई छलफलका लागि अघि बढाइएको छ। बैठकमा नगरसभाका सदस्यहरूले नीति तथा कार्यक्रम, बजेट तथा विधेयकहरूमाथि आफ्नो धारणा राख्दै नगर विकासका लागि रचनात्मक सुझाव दिएका थिए। सदस्यहरूले विकास योजनाको प्रभावकारी कार्यान्वयन, पारदर्शिता, जनसहभागिता तथा स्रोत–साधनको उचित उपयोगमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

नगरपालिकाले आगामी आर्थिक वर्षमा समग्र नगर विकासलाई तीव्रता दिने, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा स्थानीय नागरिकको अपेक्षाअनुसार कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। नगरसभाको पहिलो बैठकमा प्रस्तुत नीति, कार्यक्रम, बजेट तथा विधेयकहरूमाथि आगामी बैठकहरूमा थप छलफल गरी आवश्यक निर्णय गरिने जनाइएको छ। १८ औँ नगरसभाको पहिलो बैठक सम्पन्न भएसँगै भीरकोट नगरपालिकाले आगामी आर्थिक वर्षका विकास योजना तथा कार्यक्रम कार्यान्वयनको आधार तय गरेको छ। नगरपालिकाले समृद्ध, व्यवस्थित र विकासोन्मुख भीरकोट निर्माण गर्ने लक्ष्यसहित आगामी वर्षका नीति तथा कार्यक्रम अघि सारेको जनाएको छ।

प्रतिक्रिया