एकीकृत पाठ्यक्रम सम्वन्धी क्षमता विकास तालिम सम्पन्न
अमृत अर्याल
भीरकोट।
भीरकोटमा एकीकृत पाठ्यक्रम सम्वन्धी २ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । वैशाख ११ र १२ गते संञ्चालन भएको उक्त तालिमको एक कार्यक्रमका विच समापन गरिएको छ । भीरकोट नगरपालिकाको आयोजनामा नगरपालिकाका ३९ वटा सामुदायीक विद्यालयका शिक्षकहरुका लागी एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम दिने उदेश्यले उक्त तालिमको आयोजना गरिएको थियो । भीरकोट नगरपालिका भित्रका ३९ वटा सामुदायीक विद्यालयका ३९ जना शिक्षकहरुलाई एकीकृत पाठ्यक्रममा आधारित रहेर अध्यापन गराउने, बालबालिकाको पढाईप्रति लगाव बढाउने, उनीहरुमा पढ्ने बानीको विकास गर्ने, ग्रेटसिट निर्माण गर्ने लगाएतका विभिन्न विषयहरुमा सक्षम बनाउनका लागी तालिमको आयोजना गरिएको पालिकाले जनाएको छ । तालिम अवधिभर प्रशिक्षक विष्णु बहादुर भट्टराई र रमेश सिग्देलले प्रशिक्षण दिएका थिए ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले एकीकृत पाठ्यक्रमलाई विद्यालयमा लागु गर्नका लागी सबै शिक्षकहरूले महत्वपूर्ण भुमिका खेल्ने बताए । परिवर्तन गर्नु पर्ने कुराहरु थुप्रै भएपनि तत्काल सबैभन्दा पहिला सुधार गर्नु पर्ने कुराहरू पत्ता लगाएर ति विषयहरुको सुधार गर्नसकेको खण्डमा त्यसले विद्यार्थीहरुको सिकाईमा धेरै परिवर्तन ल्याउनेमा कर्माचार्य आशावादी छन् । तत्कालका लागी वालवालिकाको क्षमता विकास र वानी बसाल्नु रहेको उनको भनाई छ ।
त्यसैगरी शिक्षा शाखा प्रमुख विष्णु कोइरालाले शिक्षाको उदेश्य अनुरुप र शिक्षामा गुणस्तरीयता ल्याउनका लागी आफुहरुले विभिन्न कामहरु गर्दै आएका कारण ती विषयहरु प्रभावकारी हुनुपर्ने बताए । तालिममा सिकेका कुराहरूलाई व्यवहारिक रूपमा कार्यान्वयनमा आउनेमा आफु विश्वस्त रहेको बताउँदै कोइरालाले उदेश्य प्राप्तीका लागी काम गरेको क्षेत्रमा अपेक्षित प्रतिफल नआएको खण्डमा काम गरिरहनु पर्ने आवश्यकता नभएको समेत बताए । पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किदै गइरहेका कारण आगामी दिनहरुमा सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर वृद्धीका लागी आफुले निरन्तर काम गर्ने समेत कोइरालाको भनाई छ । समापन कार्यक्रमका प्रमुख अतिथी रहेका कोइरालाले भौतिक क्षेत्र, शैक्षिक सामाग्री र शिक्षकहरूको क्षमता विकासका लागि यो तालिमले महत्वपूर्ण सहयोग गरेको बताए।
प्रशिक्षक विष्णु बहादुर भट्टराईले तालिम केवल तालिम मात्रै नभएर सीप हस्तान्तरण, प्रयोगात्मक क्रियाकलापले सिकाईलाई थप प्रभावकारी बनाउने भएका कारण सिकेका कुराहरुको ८० प्रतिशत मात्रै व्यवहारिक रुपमा विद्यार्थीलाई सिकाउन सकेको खण्डमा ठुलो प्रतिफल हात लाग्ने बताए । सामाजिक रूपले हाम्रो अविकसित देशमा थुप्रै समस्या रहेको भएपनि ती समस्याको समाधान पनि हामीसँगै भएका कारण समस्याबाट भाग्नु भन्दा त्यसको समाधानलाई पहिल्याउनु उत्तम उपाय भएको भट्टराईले बताए । पुरानो अन्तरविषय वस्तुभन्दा विषयगत एकीकृत पाठ्क्रमका बारेमा दिइएको तालिमले शिक्षामा परिवर्तन ल्याउनेमा आफु विश्वस्त रहेको समेत उनको भनाई छ ।


प्रतिक्रिया