मानसिक अशान्ति मेटाउन मेडिटेसन प्रशिक्षण शुरु

वालिङ ।
मानिसमा हुने अशान्ति, चिन्तालाई शान्त बनाउन वालिङमा मेडिटेसन प्रशिक्षण शुरु गरिएको छ । स्याङ्जाको वालिङमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय वालिङ शाखाको आयोजनामा राजयोग मेडिटेशन प्रशिक्षण कार्यक्रम आइतबारदेखि सुरु भएको हो । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय वालिङ शाखाले मानसिक शान्ति, पारिवारिक खुसी, र सामाजिक समृद्धताका लागि वालिङ लगायत आसपास क्षेत्रका मानिसलाई चारदिने राजयोग मेडिटेशन प्रशिक्षण सञ्चालन गरेको छ ।
यही वैशाख १९ गतेसम्म सञ्चालन हुने कार्यक्रमको समुद्घाटन गर्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले मानव जीवनका लागि राजयोग मेडिटेशन प्रशिक्षण नभै नहुने कार्यक्रम भएको बताए । यो प्रशिक्षणले मानवीय नाताले ओतप्रोत हुने वातावरण र मानवताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले नभै नहुने कार्यक्रम रहेको नगरप्रमुख खाँणले बताएका हुन् । जनप्रतिनिधि तथा बिभिन्न नेतृत्वदायी भूमिकामा रहेका मानिसहरुमा दम्भ र अहमता हावी छ, जुन गलत हो भन्दै नगर प्रमुख खाँणले मानव जीवनका लागि शान्ति अत्यावस्यक छ, यसका लागि आध्यात्मिक चिन्तनसहितको शान्तिले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
यसैगरी वालिङ नगर उप प्रमुख कविता तिवारी गैह«ेले राजयोग मेडिटेशन प्रशिक्षण कार्यक्रम अनुकरणीय र ऐतिहासिक रहेको बताइन् । मनोवैज्ञानिक हिसावले आयोजना गरिएको प्रशिक्षण कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको नगर उपप्रमुख गैह«ेको भनाई छ । नयाँ पुस्तालाई कसरी सभ्य र सुसंस्कृत बनाउन सकिन्छ भन्नेमासमेत यो कार्यक्रमले भूमिका खेल्ने भएकाले सहभागीहरुले जिज्ञासु भएर प्रशिक्षण लिन उनले आग्रह गरीन् ।
संस्थाका महासचिव एवम् वरिष्ठ राजयोग शैलेसराज बरालले ४ दिने प्रशिक्षण कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पारेका थिए । कार्यक्रममा प्रमुख प्रशिक्षण राजु घले, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतका बक्ताहरुले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । वालिङ शाखाकी अध्यक्ष कविता दिदीको सभापतित्वमा सम्पन्न उदघाटन सत्रको संचालन शंकर देवकोटाले गरेका थिए ।
अनेकौं जिम्मेवारीहरुको दवाव, अस्वस्थ र अन्तहिन प्रतिस्पर्धा एवम् बदलिँदो परिवेशसँगै सामना गर्नुपर्ने चुनौतिहरुका कारण जीवनशैली अतिव्यस्त र तनावग्रस्त छ । व्यक्तिगत पारिवारिक एवम् व्यवसायिक समस्याहरुको वैज्ञानिक तथा आध्यात्मिक विधिद्वारा समाधान गरी आत्मिक सुख, मानसिक शान्ति, एवम् आन्तरिक शक्तिको गहन अनुभूति गराउने उद्देश्यले अपूर्व उत्प्रेरक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय वालिङ शाखाले आयोजना गरेको कार्यक्रमको सहयोगी संस्थाकोरुपमा वालिङ नगरपालिका रहेको छ । यसैगरी सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लव अफ वालिङ, वालिङ जेसिजको समेत सहयोगी संस्थाको भूमिकामा रहेको छ ।
भकुण्डेस्थित संस्थाको शाखाबाट निकालिएको शोभायात्राले बाजागाजसहित वालिङ बजार परिक्रम गरी कार्यक्रम सुमद्घाटन स्थल प्रवेश गरेको थियो । उदघाटन सत्रमा झण्डै २ सयजनाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया