चापाकोटमा नदीजन्य पदार्थको अनुगमन

वालिङ ।
स्याङ्जाको चापाकोट नगरपालिकामा अबैध रुपमा कालीगण्डकी नदी उत्खनन गरी गिट्टी बालुवा र ढुङ डम्पिङ् गरेको भन्ने गुनासोको आधारमा अनुगमन गरिएको छ । नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ बमोजिम बनेको जिल्ला अनुगमन तथा व्यवस्थापन समितिले चापाकोटका बिभिन्न ठाउँमा अनुगमन गरेको हो । जिल्ला समन्वय उपप्रमुख खड्कराज सुवेदीको नेतृत्वमा टोलीले चापाकोटका केही वडाहरुमा अनुगमन गरी चापाकोट नगरपालिकालाई प्रतिवेदन बुझाएको छ ।

टोलीले केहीक्षेत्रमा राखिएको ढुङ्गा, गिट्टी, बालुवाको लागत उठाई नदीजन्य पदार्थ खरीदको बिल ७ दिनभित्र नगरपालिकालाई बुझाउन सम्वन्धित व्याक्तिलाई अनुरोध गरेको छ । टोलीले दिएको समय ७ दिनभित्र खरीद गरिएको बिल बुझाउन नसकेमा चापाकोट नगरपालिकाले असार मसान्तभित्र उक्त नदीजन्य पदार्थको प्रचलित ऐन, नियमन, कानुन कार्यविधि अनुसार लिलाम बिक्रि गरी जिल्ला अनुगमन समितिलाई जानकारी गराउन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।

अनुगमनबाट भेट्टिएका ढुङ्गा, गिट्टी, बालुवा घर निर्माणका लागि खरीद गरिएको जानकारी दिएपनि खरीदकर्ता सगँ कुनैपनि बिलभर्पाइ नभएको बताइएको छ । टोलीमा स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायण प्रसाद ढकाल, इलाका प्रहरी कार्यालय चापाकोटका प्रमुख डिएसपी जेशी शाहा, सशस्त्र प्रहरी बल ३० नम्बर गुल्मका प्रमुख डिएसपी देवराज जोशी, जिल्ला समन्वयका नायव सुब्बा मोतीप्रसाद शर्मा, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि, चापाकोट नगरपालिकाका प्रतिनिधि लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

समितिले अनुगमन गरी छानविनका लागि चापाकोट नगरपालिकालाई दिएको प्रतिवेदन अनुसार फेला परेका नदीजन्य पदार्थ अबैध हो वा चोरी निकाशी हो भन्ने बिषय खुल्न केही दिन लाग्ने बताइएको छ । प्रतिवेदन प्राप्त गरेसगै चापाकोट नगरपालिकाले सम्वन्धित पक्षसगँ बिलभपाई ल्याउन अनुरोध गरिसकिएको चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले जानकारी दिए । नदीजन्य पदार्थ अबैध ठहरिएमा झण्डै ३ लाख राजस्व संकलन हुनसक्ने अनुमान अनुगमन टोलीको छ ।

प्रतिक्रिया