बेखबर स्थानीय सरकार— वालिङका ६८ सहकारी निष्कृय

श्रीकृष्ण सिग्देल,
स्याङ्जा ।
सहकारीहरु यतीबेला आफ्नो बार्षिक साधरणसभाको चटारोमा छन् । सहकारी ऐन २०७४ ले हरेक सहकारीले आर्थिक बर्ष शुरु भएको ३ महिनामा लेखापरीक्षण र ६ महिना भित्र बार्षिक साधरणसभा गर्नुपर्ने व्यवस्था गरे अनुसार सहकारीहरु साधरणसभाको चटारोमा रहेका हुन् । सहकारी दर्ता गर्ने र अनुगमन गर्ने अधिकार नेपालको संविधानले तीनै तहलाई दिएको छ । जुनतहमा सहकारी दर्ता भएको छ उहीतहमा बार्षिक साधरणसभाको प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था पनि सहकारी ऐनमा छ । तर वालिङमा दर्ता भएका सहकारीहरु मध्ये अधिकांश बढी सहकारीहरुले प्रतिवेदन बुझाएका छैनन् ।

स्थानीयतहमा प्रतिवेदन नबुझाउने सहकारीलाई निष्कृय मानिन्छ । तर वालिङ नगरपालिकाले अहिले सम्म प्रतिवेदन नबुझाएर निष्कृय रहेका सहकारीहरुको खोजी र अनुगमन समेत गरेको छैन । वालिङ नगरपालिकामा १०२ सहकारी दर्ता भएका छन् । केही सहकारीहरुले बचतकर्ताको रकम फिर्ता नदिएर समस्या बनाइरहेका बेला अनुगमन गरी समाधान गर्नुपर्ने स्थानीय सरकार निष्कृय सहकारीहरुका बारेमा समेत बेखबर बनेको छ । जसले गर्दा बचतकर्ताहरु अहिले निकै समस्यामा परेका छन् । अहिले सम्म बचत फिर्ता नदिएर समस्यामा परेको भन्दै बचतकर्ताहरुले दुई सहकारीको उजुरी नगरपालिकामा दर्ता गराएको सहकारी शाखाका प्रमुख भुवानी तिवारीले जानकारी दिए ।
सहकारी शाखाका प्रमुख तिवारीका अनुसार उजुरी दर्ता भएपनि अहिले सम्म कारवाही प्रक्रिया अगाडी बढाउन नसकिएको बताए ।

जनप्रतिनिधिहरु नै सहकारीमा जोडिएकाले कारवाहि प्रक्रिया अगाडी बढाउन समस्या देखिएको सहकारी शाखाले जनाएको छ । वालिङ नगरपालिकामा विभिन्न उदेश्य राखेर दर्ता गरिएका १०२ सहकारीहरु छन् । वालिङमा दर्ता गरी संचालनमा रहेका ४३ सहकारीले बार्षिक प्रतिवेदन बुझाएको सहकारी शाखाका प्रमुख तिवारीले बताए । आर्थिक बर्ष २०७९÷०८० मा बचत तथा ऋण सहकारी १५, बहुउदेश्यीय सहकारी १० र कृषि तथा साना किसान सहकारी ९ ओटा गरी ३४ सहकारीले प्रतिवेदन बुझाएको तथ्याङ्क सहकारी शाखामा छ । प्रतिवेदन नबुझाउने सहकारीका लागिभने अहिले सम्म नगरपालिकाले कुनै कारवाही प्रक्रिया अगाडी बढाउन सकेको छैन । जसले गर्दा सहकारीहरु संचालन भएका छन् वा छैनन् भन्ने बिषयमा बेखबर हुँदा तिनका शेयर सदस्य र बचतकर्ताहरु मर्कामा परेका छन् ।

नगरभित्र संचालन भएका प्रदेशस्तरका सहकारी बाहेक वालिङमा दर्ता भएका सहकारीहरुको कुल कारोवार ३ अर्ब १ करोड १५ लाख ९२ हजार २ सय ३५ रहेको तथ्याङक सहकारी शाखाले देखाएको छ । अर्बौ रुपैयाँको सुरक्षाको जिम्मेवारी बोकेको वालिङ नगरपालिका बचतकर्ताको बिषयमा संवेदनशिल बन्न सकेको देखिदैन । वालिङ नगरपालिकामा संचालनमा रहेका तर प्रदेशमा बार्षिक प्रतिवेदन बुझाउनु पर्ने १९ ओटा सहकारीहरु रहेका छन् । प्रदेश र स्थानीयतह गरेर वालिङ नगरपालिकामा १२१ सहकारीहरु रहेका छन् । प्रदेशमा बार्षिक प्रतिवेदन बुझाउनुपर्ने सहकारीका बारेमा पनि वालिङ नगरपालिका झनै बेखबर देखिएको छ ।

नगरपालिकाले स्थानीय सरकार संचालन ऐन अनुसार सहकारी ऐन २०७५ बनाएर अगाडी बढेको पनि ६ बर्ष पुरा भएको छ । सहकारीहरु समस्यामा परेको खबर पाएको नगरपालिकाले अहिले सम्म शेयर सदस्यहरुलाई सचेतना फैलाउने काम समेत गर्न सकेको छैन । सहकारीहरुले सदस्यको आर्थिक, सामाजिक तथा सांस्कृतिक समृद्धि हासिल गर्नेगरी काम गर्नुपर्ने ऐनमा उल्लेख छ । तर ऐनमा उल्लेख गरिए अनुसार सहकारीले सदस्यको समृद्धिका लागि के कस्ता कदमहरु चालेका छन् भन्ने बिषयमा समेत नगरपालिका अनविज्ञ छ ।

कुन—कुन हुन् निष्कृय सहकारी

गएको आर्थिकबर्ष २०७९÷०८० मा वालिङ नगरपालिकामा दर्ता भएका मध्ये ६८ ओटा सहकारीहरुले प्रतिवेदन बुझाएका छैनन् । ०७८÷०७९ मा ५० ओटा मात्रै सहकारीले बार्षिक प्रतिवेदन बुझाएका थिए । गएको आर्थिक बर्षमा बार्षिक प्रतिवेदन नबुझाउने सहकारीको संख्या झनै घटेको तथ्याङकले देखाएको छ । बार्षिक प्रतिवेदन नबुझाउने अधिकांश कृषिमा आधारित सहकारीहरु रहेका छन् । वालिङ नगरपालिकाको सहकारी शाखाले दिएको जानकारी अनुसार वालिङ १ ठेगाना राखेर दर्ता भएका नागरिक बचत तथा ऋण सहकारी, अर्मादी कृषक बंगुरपालन सहकारी, बराहकालिका बचत तथा ऋण सहकारी, सागरदेवी बचत तथा ऋण सहकारी, वालिङ बहुउदेश्यीय सहकारी, वालिङ २ ठेगना राखेर दर्ता भएका सिद्धबाबा श्रमिक महिला सहकारी, बाँसपानी बहुउदेश्यीय सहकारी, सुनौलो कृषि तथा बजार व्यवस्थापन सहकारी, वालिङ ३ ठेगाना राखेर दर्ता भएका माझकोट शिवालय महिला बहुउदेश्यीय सहकारी, माझकोट बाख्रापालन सहकारी, आठथर कुखुरापालन सहकारी, वालिङ ४ ठेगाना राखेर दर्ता भएका स्वर्णिम बचत तथा ऋण सहकारी, एलादी कृषि सहकारी, रम्भादेवी कृषि सहकारी, नरदेवी बाख्रापालन सहकारी, जनजागरण कृषि तथा फलफुल उत्पादन सहकारीले गएको बर्षमा प्रतिवेदन बुझाएका छैनन् ।

त्यसैगरी वालिङ ५ ठेगाना राखेर दर्ता भएका चण्डीडाँडा कृषि सहकारी, देउराली महिला कृषि सहकारी, भयरथान कृषि तथा पशुपालन सहकारी, वालिङ ६ ठेगाना राखेर दर्ता भएका सुनौलो सुन्तला उत्पादन सहकारी, स्मार्ट हरियाली तरकारी उत्पादन सहकारी, वालिङ ७ ठेगाना राखेर दर्ता भएका बंगुरपालन सहकारी, बनकट्टा सुन्तला तथा कागती उत्पादन सहकारी, काभ्रे अदुवा उत्पादन सहकारी, केवरे बाख्रापालन सहकारी, वालिङ ८ ठेगाना राखेर दर्ता भएका हरितज्योति कृषि सहकारी, मेलमिलाप बहुउदेश्यीय सहकारी, गतिशिल महिला बहुउदेश्यीय सहकारी, दर्शन बचत तथा ऋण सहकारी, बोलबम बहुउदेश्यीय सहकारी, भिमसेन बहुउदेश्यीय सहकारी, जनता बहुउदेश्यीय कृषि सहकारी, क्रियाशिल हस्तखला सहकारी, आँधीखोला आलु उत्पादन सहकारी, कटौजे बात्ती उत्पादन सहकारी, वालिङ ढाका उत्पादन श्रमिक सहकारी, वालिङ ९ ठेगाना राखेर दर्ता भएका गाउँवेसी बचत तथा ऋण सहकारी, कानुङ आँधीखोला बचत तथा ऋण सहकारी, वालिङ साना किसान सहकारी, सुर्कौदी तरकारी उत्पादन सहकारी, पिपलटारी मिलिजुली तरकारी उत्पादन सहकारी, कल्लेरी बाख्रापालन सहकारी, कल्लेरी अदुवा तथा अम्लिसा उत्पादन सहकारी, अदुवा बेसार तथा तरकारी उत्पादन सहकारी, वालिङ १० ठेगाना राखेर दर्ता भएका गह्रौकालिका साना किसान कृषि सहकारी, मदिखोला तरकारी तथा फलफुल बहुउदेश्यीय कृषि सहकारी, नमुना सुन्तला तथा मसला उत्पादन सहकारी, बासुकीनाथ बात्ती उत्पादन बहुउदेश्यीय सहकारी, न्यु गाउँवेसी बहुउदेश्यीय सहकारीले पनि बार्षिक साधरणसभाको प्रतिवेदन नबुझाएको तथ्याङक वालिङ नगरपालिकामा छ ।

त्यसैगरी वालिङ ११ ठेगाना राखेर दर्ता भएका बाहुनथान पर्यापर्यटकीय कृषि सहकारी, वालिङ १२ ठेगाना राखेर दर्ता भएका रिटेन भिलेज बाख्रापालन सहकारी, सिर्सेकोट महिला बचत तथा ऋण सहकारी, भण्डारी थुम्का कृषि सहकारी, वालिङ १३ ठेगाना राखेर दर्ता भएका थुमपोखरा महिला कृषि सहकारी, थुमपोखरा साना किसान कृषि सहकारी, भोर्लेखरी बाख्रापालन सहकारी, सुनौलो बिहानी मौसमी बेमौसमी तरकारी तथा पशुपालन सहकारी, वालिङ १४ ठेगाना राखेर दर्ता भएका सुनौलो बचत तथा ऋण सहकारी, आजाद बहुउदेश्यीय सहकारी, उज्जल महिला बहुउदेश्यीय सहकारी, सुर्याेदय कफि उत्पादन सहकारी, आधुनिक कृषि सहकारी, सुभाष दलित सिलाई कटाई बहुउदेश्यीय सहकारी, दाङ्से भलुवाई बाख्रापालन सहकारी, पेखु माझकोट मसला उत्पादन सहकारी, पनियारे आलु उत्पादन सहकारी, बायखोला कृषि तथा दुग्ध उत्पादक सहकारीले पनि बार्षिक प्रतिवेदन नबुझाएर सहकारी शाखामा निष्कृय देखिएका छन् ।

ठुलो संख्यामा सहकारीहरु निष्कृय रहदा समेत नगरपालिकाले सहकारी ऐन अनुसार कुनै कदम चालेको छैन । सहकारी ऐन २०७४ को परिच्छेद १५ को दफा ८८ मा विघटन र दर्ता खारेजी व्यवस्था गरेको छ । जसको उपदफा ३ ले लगातार दुईबर्ष सम्म कुनै कारोवार नगरी निष्कृय रहेको पाइएमा दर्ता खारेजी गर्ने अधिकार दर्ता रजिष्«टार अथवा प्रमुख प्रशासकीय अधिकृतलाई दिएको छ । तर वालिङ नगरपालिकाले निष्कृय रहेका सहकारीका बिषयमा अहिले सम्म कुनै पहलकदमी शुरु गरेको छैन । सहकारी शाखामा काम गर्ने कर्मचारीको अभावमा सहकारी अनुगमन देखी सहकारीका बिषयमा सबै काम गर्न नसकिएको सहकारी शाखाका प्रमुख तिवारीले बताए । सहकारीहरु स्वायत्त र स्वतन्त्र अधिकार पाएका संस्थाहरु भएकाले पनि कडाई गर्न कठिनाई भएको तिवारीको भनाई छ । हरेक आर्थिक बर्ष शुरु हुनुपुर्व नगरपालिकाले सबै सहकारीहरुलाई साधरणसभा र लेखापरीक्षण गर्न सूचना जारी गर्दै आएको उनले बताए ।

मेयर उपमेयर कै सहकारी निष्कृय

वालिङका नगर प्रमुख र उपप्रमुख संलग्न रहेकै सहकारी नगरपालिकाको रेकर्डमा निष्कृय रहेको देखिएको छ । नगर प्रमुख कृष्ण खाँण अहिले पनि अध्यक्ष रहेको हरितज्योती कृषि सहकारीले बार्षिक प्रतिवेदन नै नबुझाएको सहकारी शाखामा देखिएको छ । त्यसैगरी उपप्रमुख कविता तिवारी गैह्रे निवर्तमान रहेको गतिशिल महिला बहुउदेश्यीय सहकारी पनि बार्षिक प्रतिवेदन नबुझाएको देखिएको छ । जनप्रतिनिधि कुनैपनि संघसंस्थामा पदाधिकारी बस्न नमिल्ने कानुन विपरीत नगर प्रमुख अहिले सम्मपनि हरितज्योति कृषि सहकारीको अध्यक्ष रहेका छन् । नियमन निकायमा बसेका खाँण अहिले सम्म सहकारीको अध्यक्षमा रहिरहनुलाई शंकास्पद तवरले हेरिएको बताइएको छ ।

उपप्रमुख तिवारी भने गतिशिल महिला सहकारीको निवर्तमान अध्यक्ष हुन् । उनी आफैले नेतृत्व गरेको सहकारीले बार्षिक प्रतिवेदन समेत बुझाएको छैन । वालिङ नगरको अनुगमनको संयोजक समेत रहेकी तिवारीले नेतृत्व गरेको सहकारीले समेत प्रतिवेदन नबुझाउदा वालिङमा सहकारीहरुप्रति नगरपालिकाले हेर्ने दृष्टिकोण फरक छ भन्ने प्रष्ट हुन्छ । गतिशिल सहकारीका बचतकर्ताले रकम फिर्ता नपाएर वालिङ नगरमा उजुरी समेत दिएका छन् । तर अहिले सम्मपनि उक्त उजुरी माथी कुनै सुनुवाई नभएको गुनासो बचतकर्ताको छ ।

मेयर र उपमेयर नै सहकारीमा संलग्न भएका कारण वालिङका सहकारीको अनुगमन समेत गर्न सकेका छैनन् । स्वार्थ बाँझिने संस्थामा आफै नियमन गर्ने व्यक्तिहरु नै संलग्न हुनुले कारवाही गर्न कठिनाई भएको वालिङ नगर सहकारी शाखाले जनाएको छ । ११ ओटा स्थानीय तहमा रहेका सहकारीहरु मध्ये सबै भन्दा बढी समस्या वालिङमा रहेको देखिएको छ । त्यसमा पनि जनप्रतिनिधि नै संलग्न रहेका सहकारीहरु समस्यामा रहेका छन् । सहकारीको मुल्य, मान्यता र सिद्धान्त परिपालना गराउनुपर्ने जनप्रतिनिधिहरु नै आफै संलग्न रहेका सहकारीको विवरण बुझाउन टेदैनन् भने अन्य नागरिकले संचालन गरेको सहकारी प्रति प्रश्न उठाउन नैतिकता गुमाएका छन् ।

दुई सहकारीको उजुरी

वालिङ नगरपालिकामा दुई सहकारीले बचत रकम फिर्ता नगरेको भन्दै बचतकर्ताहरुले उजुरी दिएका छन् । मेलमिलाप बहुउदेश्यीय सहकारी र गतिशिल महिला बहुउदेश्यीय सहकारीले बचत रकम फिर्ता नदिएपछि नियमन निकाय रहेको वालिङ नगरपालिकालाई उजुरी दिएका हुन् । मेलमिलाप बहुउदेश्यीय सहकारीको साउन १० गते र गतिशिल महिला बहुउदेश्यीय सहकारीको असोज २९ गते बचतकर्ताहरुले उजुरी दिएका थिए ।

बचतकर्ताको उजुरी माथी संचालकहरु सगँ छलफल गरिएको र छिट्टै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति भएको नगरपालिकाले जनाएको छ । उजुरी दिएपछि बचतकर्ताहरु छलफलमा सहभागी भएपछि अहिले नगरपालिकामा पुन नआएको सहकारी शाखाले जनाएको छ । बचतकर्ता नगरपालिकामा नआएपछि बचत फिर्ता पाए वा नपाएको बिषयमा भने कुनै जानकारी नभएको सहकारी शाखाले जनाएको छ ।
बचतकर्ताहरुले अहिले सम्म बचत रकम फिर्ता नपाएको बताउदै आएका छन् । गतिशिल र मेलमिलाप सहकारीले अहिले सम्म

नगरपालिकामा समस्यामा परेको बिषयमा कुनै जनाउ दिएका छैनन् । झण्डै १ बर्षदेखी मेलमिलाप सहकारी बन्द छ भने दुई महिनादेखी गतिशिल महिला सहकारी बन्द रहेको छ । सहकारीमा शेयर सदस्य सबैभन्दा बढी जिम्मेवार हुनुपर्छ भन्ने सन्देश थाहा नपाउदा संचालकहरुले बढी लापरवाही गरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया