भीरकोटका पिडित नागरिकको गुनासो सुन्न पुगे सभापति अर्याल

भीरकोट
लामो समयदेखि आँधीखोलाको कटानले खेतीयोग्य जमिन मासिएर पीडित भएका भीरकोट ५ का नागरिकको गुनासो सुन्न गण्डकी प्रदेश सरकारका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल पुगेका छन् । यहाँका नागरिकहरु तटबन्धको विषयले हरेक समय निरास हुदै आएका थिए । भीरकोट ५ स्थित पकान क्षेत्रमा रहेको सयौं रोपनी खेतीयोग्य, मलिलो जमिन केही वर्ष अघिसम्म वार्षिक तीन पटक वाली भित्राउन मिल्ने अवस्थामा थियो ।

लगातारको आँधिखोलाको कटान पश्चात अहिले सयौं रोपनी जमिन बगरमा परिणत भएपछि यहाँका नागरिक निरास भएको खबर पाएपछि सभापति अर्याल उनीहरुको गुनासो सुन्न पुगेका हुन् । भीरकोट ५ स्थित सिम्ले बाट सिमलचौर सम्म रहेका खेतीयोग्य जमिन बचाउने उद्देश्यले तटबन्धन हुने भएपछि केही समय अघि सम्म खुसी भएका नागरिकहरु यतिबेला अचानक पुन निरास हुन पुगेका थिए । सिंचाई कार्यालयले एकतफी मात्रै तटबन्धन गर्दा झनै आफ्नो खेतयोग्य जमिन नरहने चिन्ताले उनीहरु निरास भएका हुन् । स्थानीय प्रभावित किसान मोतीलाल पौडेलले सिंचाई कार्यालयको मापदण्ड अनुसार अहिले गर्न लागिएको तटबन्धले आफूहरुको जमिन सबै आँधीखोलामा मिसिन गई सदाका लागि आफूहरुको जिविकोपार्जनको एक मात्र माध्यम रहेको कृषि पेसा बाट टाढिनु पर्ने वाध्यता आउन जाने, अहिले गर्न खोजिएको ठाउँ बाट नै तटबन्ध गर्दा आफूहरुको खाने जमिन पनि नरहने हुनाले आँधीखोला वारिपारी दुवैतिर उत्तिकै जमिन लिएर तटबन्ध गर्नुपर्ने गुनासो सभापति अर्यालसगँ राखे ।

ताोरिडाँडा अर्चले टोल विकास समितिका अध्यक्ष इन्द्र प्रसाद पौडेलले अहिले गर्न लागिएको तरिकाले तटबन्ध गरेमा ५ नम्बर वडा तिर मात्र नोक्सान हुने हुँदा आँधीखोला वारिपारी दुवैतिर जग्गा ओगटेर तटबन्ध गर्नुपर्ने बताए । भीरकोट ५ पकान निवासी ९२ वर्षीय राम प्रसाद तिवारीले सिंचाई कार्यालयको मापदण्ड अनुसारको आँधिखोलालाई छुट्टयाउनु पर्ने जमिन सबै पकान क्षेत्रमा मात्र कटान गर्न लागिएको भन्दै दुःख व्यक्त गरे । पटक पटक विरोध गर्दै आएका स्थानिय कृषकको विरोध भेलामा बोल्दै भीरकोट नगर सभापति याम प्रसाद अधिकारीले वारिपारी दुवै तिर मर्का नपर्ने गरी तटबन्ध गर्न पहल गर्ने बताए ।

नागरिकको गुनासो सुन्दै गण्डकी प्रदेश अर्थ विकास समिति सभापति तथा प्रदेश संसद भोजराज अर्यालले नगर प्रमुख सँग छलफल गरी वारिपारी दुवै तर्फ बराबर जग्गा कटान गरी व्यवस्थित तटबन्धन गरी बाँकी खेतीयोग्य जमिन संरक्षण गरिने बताए । यहाँका नागरिकलाई समस्या हुनेगरी तटबन्धन नहुने प्रतिवद्धता समेत सभापति अर्यालले गरे ।

 

प्रतिक्रिया