स्याङ्जामा आगालागीबाट झण्डै १० लाखको क्षती

वालिङ ।
स्याङ्जामा तीन ठाउँका गोठमा आगालागी हुँदा झण्डै १० लाख बराबरको क्षती भएको छ । जिल्लाका तीन घरगोठमा भएको आगालागीबाट ९ लाख ८५ हजार बराबरको क्षती भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार पौष ४, ८ र १० गते भएको आगालागीबाट उक्त क्षती भएको छ । पौष ४ गते हरिनास गाउँपालिका ४ कुलुङखोला बस्ने होमबहादुर भुजेलको गोठ, पौष ८ गते चापाकोट ८ दामाचौरका देवीलाल न्यौपानेको गोठ र पौष १० गते अर्जुनचौपारी गाउँपालिका ५ गैराथर बस्ने सुर्यप्रसाद पौडेल गोठमा आगालागी भएको थियो ।

हरिनासका भुजेलको गोठमा र अर्जुनचौपारीका पौडेलको गोठमा कुडो पकाउने क्रममा अचानक आगालागी भएको र चापाकोटका न्यौपानेको गोठमा विद्युत सर्ट भई आगालागी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी हरीप्रसाद पौडेलले बताए । हरिनासका भुजेलको गोठमा आगालागी हुँदा ६० हजार, चापाकोटका न्यौपानेको गोठमा आगालागी हुँदा १ लाख २५ हजार र अर्जुनचौपारीका पौडेलको गोठमा आगालागी हुँदा ८ लाख बराबरको क्षती भएको डिएसपी पौडेलले बताए ।

हरिनासका भुजेल र चापाकोटका न्यौपानेको गोठमा आगालागी हुँदा गोठ र परालको टौवा नष्ट भएको पशुचौपायमा कुनै क्षती भएको छैन । यता अर्जुनचौपारीका पौडेलको गोठमा आगालागी हुँदा पशुचौपाय सहित परालको टौवा नष्ट भएको छ । पौडेलको आगालागीबाट ठुलो क्षती भएको प्रहरीले जनाएको छ । आगालागीका बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया