वालिङका ६७ सहकारी अझै बुझाएनन् प्रतिवेदन

स्याङ्जा ।
वालिङ नगरपालिकालाई कार्यक्षेत्र बनाई दर्ता भएका अधिकांश सहकारीहरुले बार्षिक साधरणसभाको प्रतिवेदन अझै बुझाएका छैनन् । वालिङ नगरको सहकारी शाखाको तथ्याङ्क अनुसार ६७ सहकारीले बार्षिक साधरणसभाको प्रतिवेदन बुझाउन आएका छैनन् । वालिङ नगरपालिकामा १०२ ओटा विभिन्न उदेश्य राखेर सहकारीहरु दर्ता भएका छन् । तर पौष मसान्त सम्म सहकारीले बुझाउनुपर्ने बार्षिक साधरणसभाको प्रतिवेदन नबुझाउनेमा ६७ सहकारी रहेका छन् । नगरको सहकारी शाखाका अनुसार अहिले सम्म जम्मा ३५ सहकारीले मात्रै साधरणसभाको प्रतिवेदन बुझाएको तथ्याङ्क छ ।

वालिङ नगरपालिकाले फागुन महिना भित्र साधरणसभाको प्रतिवेदन बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । तर अझै ६७ सहकारी प्रतिवेदन बुझाउन नआएको सहकारी शाखाका प्रमुख भुवानी तिवारीले जानकारी दिए । आर्थिक बर्ष २०८१÷०८२ शुरु भएसगै वालिङ नगरपालिकाले पौष मसान्त भित्र साधरणसभा सम्पन्न गरी प्रतिवेदन बुझाउन अनुरोध गरेको थियो । नियमन निकायको पत्रलाई समेत वालिङका अधिकांश सहकारीहरुले वेवास्ता गरेको देखिएको छ । फागुन महिनाभित्र पनि धेरै सहकारीले प्रतिवेदन बुझाउन नआएपछि सहकारी शाखाले वडातहमा नै पत्र पठाएर सहकारीहरुको अवस्थाका बारेमा जानकारी दिन अनुरोध गरेको तिवारीले बताए ।

सहकारीहरुले वडाको सिफारीका आधारमा नगरपालिकाले दर्ताको अनुमति दिएको थियो । सोही आधारलाई टेकेर प्रत्येका वडामा भएका सहकारीहरुको नाम सहित ति सहकारीको अवस्था बारे जानकारी दिन अनुरोध गरेको नगरपालिकाले जनाएको छ । प्रतिवेदन नबुझाउने सहकारीहरु खारेजी गर्नुपर्ने हो वा होइन भन्ने बिषय सहित पत्राचार गरिएको छ तिवारीले भने,‘वडास्तरलाई समेत जिम्मेवारी दिने काम गरेका छौं ।’ चैत्र महिनाभित्र प्रतिवेदन नबुझाउने सहकारीको बारेमा जानकारी दिन अनुरोध गरेका हौं उनले भने । वडास्तरबाट आएको सुझावका आधारमा प्रतिवेदन नबुझाउने सहकारीहरुलाई खारेजीको प्रक्रिया अगाडी बढाइने तिवारीको भनाई छ ।

पब्लिक आवाजले तीन महिना अगाडी ६८ सहकारी निष्कृय रहेको खबर सार्वजनिक गरेको थियो । यो खबर सार्वजनिक गरेपछि यो पटक भने ६७ सहकारीमा झरेको छ । अझै पनि ठुलो संख्यामा रहेका सहकारीहरुले प्रतिवेदन बुझाउन प्रयास समेत गरेका छैनन् । वालिङ नगरपालिकाले पटक—पटक प्रतिवेदन बुझाउन आग्रह गर्दापनि ६७ सहकारीले प्रतिवेदन नबुझाएपछि यी सहकारीहरु निष्कृय हुनुपर्छ भन्ने बुझ्न सकिन्छ । जिल्लामा सबैभन्दा बढी सहकारी संकटग्रस्त देखिएको वालिङ हो । सहकारीहरुमा समस्या आएपछि वालिङ नगरपालिकाले प्रतिवेदन नबुझाउने सहकारीहरु खारेजी प्रक्रियामा अगाडी बढेको छ । वालिङ नगरकै सहकारी ऐन २०७४ अनुसार प्रत्येक सहकारीले ५ महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था र प्रतिवेदन नबुझाउने सहकारीहरु निष्कृय रहेको मानिनेछ भन्ने उल्लेख गरेको छ । उक्त ऐनलाई कार्यन्वयन गर्न वालिङ नगर सहकारी शाखाले सक्रियता बढाएको छ ।
कुन—कुन सहकारीले बुझाए प्रतिवेदन
वालिङ ।
वालिङ नगरपालिकामा दर्ता भएर कार्य संचालन गर्दै आएका ३५ सहकारीले ढिलोगरी भएपनि बार्षिक प्रतिवेदन बुझाएका छन् । सहकारी शाखाले दिएको तथ्याङ्क अनुसार उल्लेखित सहकारीहरुले प्रतिवेदन बुझाएका छन् । प्रतिवेदन बुझाएका सहकारीहरुले पौष मसान्तभित्र बार्षिक साधरणसभा सम्पन्न गरेको प्रतिवेदन बुझाएको देखिएको छ । प्रतिवेदन बुझाउनेमा तारादेवी महिला विकास बचत तथा ऋण सहकारी वालिङ ६, जनकल्याण साना किसान कृषि सहकारी वालिङ २, नेपाल आदर्श बहुउदेश्यीय सहकारी वालिङ ८, वालिङ कर्मचारी बचत तथा ऋण सहकारी वालिङ ८, सिर्सेकोट साना किसान कृषि सहकारी वालिङ १२, भयर कृषि सहकारी वालिङ १३, अर्मादी बचत तथा ऋण सहकारी वालिङ २, राधाकृष्ण बचत तथा ऋण सहकारी वालिङ ८, हाम्रो बहुउदेश्यीय सहकारी वालिङ १० रहेका छन् ।

यसैगरी डौवा बचत तथा ऋण सहकारी वालिङ ११, ऋद्धिसिद्धि बचत तथा ऋण सहकारी वालिङ ६, मनोहर बचत तथा ऋण सहकारी वालिङ ६, बराहकालिका बचत तथा ऋण सहकारी वालिङ १, सागरदेवी बचत तथा ऋण सहकारी वालिङ १, मितेरी बचत तथा ऋण सहकारी वालिङ ८, नारी जागरण बचत तथा ऋण सहकारी वालिङ ९, स्वाभिमान महिला बचत तथा ऋण सहकारी वालिङ ९, जनमुखी बहुउदेश्यीय सहकारी वालिङ १, फुलबारी बचत तथा ऋण सहकारी वालिङ १०, वालिङ बचत तथा ऋण सहकारी वालिङ ८, मेरो बचत तथा ऋण सहकारी वालिङ ६, सप्तरङ्ी कृषि सहकारी वालिङ ९, महालक्ष्मी बहुउदेश्यीय सहकारी वालिङ ८ रहेका छन् ।

यता भिमसेन बहुउदेश्यीय सहकारी वालिङ, नमस्ते बचत तथा ऋण सहकारी वालिङ ८, त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी वालिङ १, आरक्षी बहुउदेश्यीय सहकारी वालिङ ९, गाउँवेसी बचत तथा ऋण सहकारी वालिङ ९, कानुङ् आँधीखोला बचत तथा ऋण सहकारी वालिङ ९, साथीभाई बहुउदेश्यीय सहकारी वालिङ ८, बोलबम बहुउदेश्यीय सहकारी वालिङ ८, रामबाच्छा बचत तथा ऋण सहकारी वालिङ १, सुनौलो कृषि तथा बजार व्यवस्थापन सहकारी वालिङ २, गह्रौकालिका साना किसान कृषि सहकारी वालिङ १०, वालिङ साना किसान कृषि सहकारी वालिङ ९ ले नगरपालिकामा प्रतिवेदन बुझाएका छन् ।

 

प्रतिक्रिया