स्याङ्जामा आगलागीबाट ४० लाखको क्षती

 

स्याङ्जा ।
स्याङ्जामा आगलागीबाट झण्डै ४० लाख बराबरको क्षती भएको छ । पुतलीबजार र वालिङमा लागेको आगोका कारण ३९ लाख ५० हजारको पसल, घरगोठ सहित धनमाल नष्ट भएको हो । गएको शुक्रवार र शनिवार आगलागीले स्याङ्जामा पुगेको क्षती अहिलेसम्मकै सबैभन्दा ठुलो क्षती पुगेको छ । शुक्रवार वालिङको एक पसल र धन्सार गोठमा आगलागी भएको छ भने शनिवार पुतलीबजारमा घरगोठमा आगलागी भएको छ ।

शुक्रवार वालिङ ६ मिर्दिमा रहेको सिरक डसना उद्योगमा आगोलागी हुँदा १४ लाख ५० हजार क्षती भएको छ । नुवाकोट मेगन गाउँपालिका वडा नं. –०६ घर भएका रमेश तामाङले आलमदेवी सिरक डसना उद्योग सञ्चालन गर्दै आएका थिए । उक्त उद्योगमा मेसिन चलिरहेको अवस्थामा अचानक बिजुली सर्ट भई आगलागी भएको भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

आगोलागीबाट मानविय क्षती नभएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । आगालागीबाट कपडा पेल्ने मेसिन लगायत फाइवर लत्ता कपडा जल्दा १४ लाख ५० हजारको क्षति भएको छ । उक्त कपडा पसलमा यो भन्दा अगाडी पनि आगलागी लागेर झण्डै १५ लाखको क्षती पुगेको थियो । यस बिषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । यसैबिच शुक्रवार नै वालिङ ५ बडहरेमा धन्सार र गोठान आगलागीबाट ५ लाख बराबरको क्षती पुगेको बताइएको छ ।

वालिङ ५ टेकबहादुर खड्काको धन्सार र गोठमा अचान आगो लागेको थियो । आगलागीबाट धन्सार र गोठ पुर्णरुपले जलेर नष्ट भएको वडा अध्यक्ष छवि आलेले बताए । पशुचौपाय भने आगलागीबाट क्षती हुनबाट जोगिएको उनले बताए । यसैबिच शनिवार पुतलीबजार ७ मा खिमबहादुर खत्रीको घरगोठमा आगलागी हुँदा पूर्णरुपले जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट २ तले ढुङ्गामाटो र टिनले छाएको कच्ची घरमा विद्युत सर्ट भई आगो लाग्दा जलेर नष्ट भएको थियो । आगलागीबाट सुनका गरगहना ६ तोला, नगद ७० हजार, भाडाकुडाँ सहित लत्ताकपडा जलेर नष्ट हुँदा २० लाख बराबरको क्षती पुगेको प्रहरीले उल्लेख गरेको छ । दुईदिन लागेको आगलागी विद्युतकै कारण लागेको बताइएको छ ।

यो मौसममा बढी आगलागीका घट्नाहरु हुने हुँदा नागरिक आफै सचेत रहनुपर्ने जिल्ला प्रशासनले सुझाव दिएको छ । सुख्खा मौसममा आगोले छिट्टै समात्न सहज हुने हुँदा आगो लाग्ने बस्तुहरुबाट हासियार बन्न प्रशासनले आग्रह गरेको छ । विद्युतीइ सामाग्रीको प्रयोग र सलाई, लाईटर जस्ता आगो लाग्न सक्ने बस्तुहरुलाई बच्चाबच्चीले चलाउन नसक्ने ठाँउमा राख्न पनि प्रशासनले सुझाएको छ ।

 

प्रतिक्रिया