‘नीतिगत र दीर्घकालिन अभावले व्यवसायीहरु समस्या भोग्न बाध्य छन्’

महादेव श्रेष्ठ,
(अध्यक्ष)
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ,
स्याङ्जा ।
२०८० माघमा स्याङ्जा उद्योग वाणिज्य संघको ३८ औँ साधारण सभा तथा अधिवेशनबाट महादेव श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका थिए । वि.सं. २०१३ सालमा स्थापित स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ केन्द्रिय संघको संस्थापक सदस्य पनि हो । उक्त संघका अध्यक्ष तथा सफल युवा व्यवसायी महादेव श्रेष्ठसँग संघले गरेका विविध गतिविधि र अन्य गतिविधिसँग सम्वन्धित रहेर पब्लिक आवाजका सम्पादक अमृत अर्यालले गरेको कुराकानीको सारसंक्षेप…………….
१. अध्यक्ष ज्यू आराम हुनुहुन्छ ? अहिले स्याङ्जामा उद्योग व्यवसायको अवस्था के कस्तो छ ?
धन्यवाद, नमस्कार । म आरामै छु । समग्रमा अहिले देशकै अवस्था नाजुक भएको बेला स्याङ्जाका उद्योग व्यवसायहरुको अवस्था पनि साह्रै नाजुक छ । बजार पहिला केन्द्रित थियो । अहिले संघीयता आइसकेपछि बजार विकेन्द्रित भएको छ । गाँउगाँउमा पनि व्यवसाय हुँदा अहिले सदरमुकाम भएर पनि स्याङ्जा बजारको व्यवसाय तृष्ण हुने अवस्थामा पुगेको छ । व्यवसायीहरु व्यवसाय गर्ने मनस्थिति मै छैनन् । अहिले व्यवसाय गर्नु भनेको नाफा भन्दा घाटा बढि कमाउन मात्रै व्यवसाय गरेको अवस्था छ ।
२. पहिलेको र अहिलेको अवस्था हेर्दा उद्योग व्यवसायमा कतै परिवर्तन भएको देखिदैन नि ?
पछिल्लो समयमा अनलाइन व्यवसाय फस्टाउन थालेको छ । तथापि हाम्रो जस्तो पहाडी क्षेत्रमा हेर्दा पहिले र अहिले उस्तै उस्तै छ । परिवर्तन एउटा समय र अवस्था अनुसारको माग पनि हो । त्यो अनुसार व्यवसायहरु चल्नलाई तयार पनि हुनुपर्छ । तर देशको परिस्थितिले गर्दा अहिलेको अवस्था त्यति चित्तबुझ्दो छैन् । व्यवसाय नै यो देशको आर्थिक गतिविधिको मुल आधार हो भन्ने थाहा हुदाँहुदै पनि व्यवसायका पक्षमा सकारात्मक सोचहरु आउन सकेका छैनन् । व्यवसायीहरुलाई हेर्ने नजर सधै नकारात्मक भएको पाइन्छ । त्यसैले व्यवसायलाई प्रवर्धन र संरक्षण गर्ने कुराहरुमा स्थानीय सरकारको समेत ध्यान जानु जरुरी छ ।
३. अहिले स्याङ्जाका व्यवसायीहरुको मुख्य समस्या के हो ?
पहिलो समस्या अन्डरबिलिङको हो । बोर्डरबाट सामान आउँदा कर कम तिर्नका लागि थोरै रकमको भ्याट बिल दिइन्छ, त्यो हाम्रो लागि समस्या भएको छ । दर्ता नभै घुम्ती व्यवसाय संचालन गर्नेहरुले दर्ता भएर कर तिरेका व्यवसायीहरुलाई समस्यामा पारेका छन् । अर्काे पुरानो कर बक्यौता पनि समस्याको रुपमा देखिएको छ । पहिले सदरमुकाममा रहेको स्याङ्जा बजार व्यावसायिक हब थियो । अहिले सबैखाले व्यावसाय मारमा परेको अवस्था छ । नीतिगत र दीर्घकालीन सोचको अभावका कारण स्याङ्जाबासीहरुले धेरै समस्या भोग्न परेको छ ।
४. महासंघले स्याङ्जाका व्यवसायीहरुको लागि अहिलेसम्म के के गर्दै आएको छ ?
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ महासंघमा दर्ता भएको संस्था हो । हामीले केन्द्रसँग कृषि, लघु उद्यम तथा अन्य व्यवसाय प्रवर्धनका कार्यक्रमहरु माग गरेका छौं । हामीले धेरै कुराहरुको सहजीकरण गरेका छौ । तर सम्बन्धित ठाउँमा हाम्रो पहुँच नपुग्दा हामीहरुले भनेजति काम गर्न सक्ने अवस्था छैन । जस्तै हामीहरुले व्यवसायीहरुको दक्षताको विषयमा, व्यवसायीहरुको सीप विकासको विषयमा, उहाँहरुको समस्याका विषयमा आन्तरिक स्रोतबाट व्यवस्थापन गरेर कार्यक्रम गरेका छौं । सरकारले गर्ने काम कारबाहीलाई हामीले पनि सर्पाेट गरेका छौं । बाहिरबाट आउने घुमुवा व्यवसायीहरुलाई रोकेर हामीले यहाँका व्यवसायहरुलाई प्रमोट गर्नुपर्दछ । केही केही सरकारले गर्नुपर्ने कामहरु हाम्रो निजी क्षेत्रले गर्दै आएको छ ।
५. हजुर उद्योग वाणिज्य संघको अध्यक्ष भएपछि यहाँको व्यवसाय क्षेत्रको कस्तो समस्या समाधान गर्नुभएको छ ? जसले गर्दा व्यवसायीहरुलाई सहज भएको छ ?
हामी व्यवसायीको समस्या समाधान गर्ने नभै सहजीकरण गर्ने संस्था हो । हामीले हरेक खालका व्यवसायीहरुको समस्या सम्वन्धित निकायमा पु¥याउने पहलकदमी गरिरहेका छौं । कर सम्वन्धि केही विषयहरुमा नेपाल सरकारको माथिल्लो निकायमा पनि कुरा पु¥याएका छौं । यो २०१३ सालमा खोलेको संस्था हो । हामीले आफ्नो व्यवसाय सँगै सामाजिक कामहरु पनि गरेका छौ । हामीले सरकारी निजी क्षेत्रको विषयमा कार्यक्रम गरेका छौ । हामी सामाजिक उत्तरदायित्व संस्थामा आबद्ध छौ । हाम्रो मुख्य एजेण्डा समग्र विकासका लागि निजी क्षेत्रहरुमै काम गर्नुपर्दछ भन्ने हो । त्यसको नेतृत्व जिल्ला उद्योग वाणिज्य संघले गदै आएको छ । व्यवसायीहरुलाई नीतिका कुराहरुमा संरक्षण र प्रबन्धका कुराहरु गर्छौ भनेर स्याङ्जा उद्योग वाणिज्य संघले जिम्मेवारी लिएको छ । हामीले काम त धेरै गरेका छौ । साथै परिवर्तन चाहिँ केही न केही गरेका छौ । अहिले गरेको कामको परिवर्तन भर्खरै देखिने भन्ने हुदैन् । धेरै कुराहरु बिग्रिसकेको अवस्थामा उद्धार गर्ने पक्षमा पछिल्लो चरणमा छ ।
६. उद्योग वाणिज्य संघ मार्फत स्याङ्जाका व्यवसायीहरुको समस्या समाधानका लागि कस्तो योजना बनाउनु भएको छ ?
हामीले पछिल्लो समयमा यो विषयमा घनिभूत छलफल गरेका छौं । विविध विषयमा सम्वन्धित निकायको ध्यानाकर्षण गराउने काम गरेका छौं । व्यवसायीहरुले एकद्धार प्रणलीबाट कर तिर्न मिल्ने व्यवस्था बनाउन सोही अनुशारको सहजीकरणको योजना बनेको छ । हामीले जुन जुन निकायमा कर तिर्ने हो एकै ठाउँबाट तिर्न मिल्ने वातावरणको खाजीमा हामी छौं । व्यवसायीहरुलाई भ्याटका समस्या समाधानका लागि सम्बन्धित कार्यहरुलाई समवन्य गर्न उहाँहरुलाई तालिमको व्यवस्था गरिएको छ । वस्तुहरुलाई व्यवस्थित रुपमा उत्पादन गर्न सिपमुलक कार्यक्रमहरु गरेका छौ । व्यवसायलाई बजारीकरणका लागि मन्त्रालयको मापदण्ड अनुसार सम्बन्धित कार्यलयमा समन्वय गरेका छौ । तपाईंले गरेको व्यवसायलाई हामीहरुले संरक्षण गछौं भनेर तालिमहरुको व्यवस्था गरेका छौ । बहिरबाट आउने घुमुवा व्यवसायीलाई रोक लगाएर यहाँको व्यवसाय प्रवर्धन गर्ने कार्यक्रम पनि गरेका छौ । पर्यटनको नाममा हामीले मेला महोत्सव प्रचार पनि गरेका छौ ।
७. स्याङ्जा जिल्लामा उद्यम व्यवसायको क्षेत्रमा नयाँ लगानी भित्रन नसक्नुको कारण के होला ?
पहिलो कुरा त नजिकै रहेको पोखरा र लुम्बिनीको बिचमा अवस्थित सानो बजार भएर पनि होला । अर्काे सिद्धार्थ राजमार्गको स्तरोन्नती नहुँदा र भौगोलिक कठिनाईका कारणले पनि यहाँ लगानी भित्रन सकेन कि जस्तो लाग्छ । गुणस्तरीय सडक, बिजुली, इन्टरनेट जस्ता आधारभूत पूर्वाधारको कमीले लगानीकर्तालाई निरुत्साहित बनाउँछ । उत्पादन र आपूर्तिको श्रृंखला सहज नभएकाले व्यवसाय सञ्चालन महँगो र जटिल हुन्छ ।
८. चुनावको बेलामा तामझाम र जोडतोडका साथ यहाँहरु लाग्नुहुन्छ । जितेर गइसकेपछि उद्योगी व्यवासायीलाई परेको समस्यालाई खासै ध्यान दिनुहुन्न भन्ने गुनासो छ नि, यो सत्य हो ?
यो कुरा सत्य होइन् । हामी पहाडी भूगोलमा छौं । यो जिल्लाकै अग्रणी संस्था हो । हामीले काम गर्दै नगरेको होइन, हामीले व्यवसायीको हकमा धेरै काम गरेका छौं । जिल्लामा क्रियाशिल ५ वटै उद्योग वाणिज्य संघका साथीहरुको समस्यामा हामी गम्भिर छौं । चुनावका बेला नेताहरु उद्यम, रोजगारी, लगानी प्रवद्र्धन जस्ता एजेन्डालाई प्राथमिकतामा राखेर भोट माग्छन् । उद्योगमै पुगेर समस्या सुन्ने, हँसाउने, फोटो खिचाउने र आश्वासन दिने परम्परा देखिन्छ । तर हामीले आश्वासन मात्र होइन काम गर्न थालेका छौं ।
९. तपाईको मुल संयोजकत्वमा संघले २ महिना अगाडी सम्पन्न गरेको ७ औं स्याङ्जा महोत्सवको अनुभव कस्तो रह्यो ?
स्याङ्जा उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न ७ औं स्याङ्जा महोत्सव मेरो संयोजकत्वमा सम्पन्न भएकोमा, म यो अवसरलाई अत्यन्तै गर्व, उत्साह र कृतज्ञताको साथ सम्झन्छु । म आफै मुल आयोजक समितिको संयोजक भएर आयोजना गरेको यो महोत्सव पहिलो हो । हामीले महोत्सवमा स्थानीय उत्पादनलाई प्रश्रय दिने गरी अघि बढेका थियौं । सोही अनुशार स्थानीय उत्पादनले महोत्सवमा बजार पनि पाए तर सुन्तलाको अफ सिजन भएका कारण स्याङ्जामै उत्पादन भएको सुन्तला हामीले महोत्सवमा राख्न पाएनौं । तथापि संभव भएसम्मका स्थानीय उत्पादनले बजार पाएको अनुभव छ । हामीले महोत्सवमा अपांगता सम्वन्धि सचेतना र परामर्शका कार्यक्रम पनि संचालन गरेका थियौं । उक्त कार्यक्रम निकै प्रभावकारी भएको मेरो अनुभव छ । यो महोत्सवको केही बचत रकम सामाजिक उत्तरदायित्वका काम खर्च गर्ने सोच बनाएका छौं । बचतबाटै गत बर्षको महोत्सवको बक्यौता भुक्तानी ग¥यौं । महोत्सवको आम्दानीबाटै नेपाल सरकारलाई कर तिर्न सफल भयौं ।
१०. उक्त महोत्सवको विषयलाई लिएर स्थानीय पत्रकारसँग संघको तिक्तता रहेको भन्ने सुनियो, वास्तविकता के हो ?
यो प्रश्न निकै संवेदनशील र चासोपूर्ण छ । स्याङ्जा महोत्सवजस्तो ठूला सार्वजनिक कार्यक्रममा पत्रकार, संघ, आयोजक र अन्य सरोकारवालाबीच विभिन्न किसिमका अन्तरक्रिया हुने गर्छन् — कहिलेकाहीँ सहकार्य मिठासपूर्ण हुन्छ, त कहिलेकाहीँ केही असमझदारी पनि उत्पन्न हुन्छ । उक्त महोत्सवको सन्दर्भमा व्यक्तिगत तथा संस्थागत रुपमा कुनै पनि पत्रकारसँग हाम्रो तिक्तता छैन । कतिपय पत्रकार साथीहरुले सकारात्मक सुझाव दिनुभयो भने कुनै एउटा अनलाइन मिडियाले निरन्तर रुपमा पूर्वाग्राही ढंगले महोत्सवको विषयमा नकारात्मक समाचार मात्र प्रकाशित गरेको पाइयो । हामीले उक्त अनलाइनका सम्पादकलाई हामीले गरेका केही सामाजिक उत्तरदायित्वका समाचार खै त, त्यो पनि प्रकाशित गर्नु न भनेर अनुरोध गरेका हौं । हामीले गरेका असल अभ्यासहरु केही पनि बाहिर नआउँदा हाम्रो चित्त दुखाई मात्र हो ।
११. अन्त्यमा पब्लिक आवाज मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
अहिले देश विषम परिस्थितीमा छ, त्यसैले सबैले आफ्नो दायित्व र कर्तव्य नभुलौं भन्न चाहन्छु । सयौं सपना बोकेर, सयौं सम्भावना सँगालेर हामीले स्याङ्जा महोत्सव जस्तो साझा उत्सव सफलतापूर्वक सम्पन्न ग¥यौं । यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छु । जाँदा जादैं नव वर्ष २०८२ सालको सबैमा शुभकामना व्यक्त गर्न चाहन्छु ।
प्रतिक्रिया