सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका गगन ढकाल प्रथम

क्रान्ति अर्याल,
स्याङ्जा ।
गण्डकी प्रदेश अन्तर्गत सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा सम्पन्न सिर्जनात्मक लेखन प्रतियोगिताले जिल्लाभरिका बालबालिकाको प्रतिभा उजागर गरिदिएको छ । वातावरण संरक्षण सम्बन्धी शिर्षकमा लेखिएको रचनाबाट अर्जुनचौपारीका गगन ढकाल स्याङ्जा जिल्ला भरि सर्वोत्कृष्ट घोषित भएका छन् । सिर्जनात्मक लेखन प्रतियोगितामा अर्जुनचौपारी गाउँपालिका स्थित चिल्ड्रेन्स एकेडेमी विद्यालयका छात्र गगन ढकाल प्रथम स्थान हासिल गर्दै स्याङ्जा जिल्लामा सर्वोत्कृष्ट बन्न सफल भएका छन् ।
प्रतियोगितामा कालिगण्डकी गाउँपालिकाको भवानी माध्यमिक विद्यालयकी छात्रा पल्पसा घले दोस्रो र आँधीखोला गाउँपालिकाको शारदा मन्दिर माध्यमिक विद्यालयकी छात्रा रोशनी ढकालले तेस्रो स्थान प्राप्त गरेकी छन् । त्यस्तै पुतलीबजार नगरपालिका स्थित सरस्वती माध्यमिक विद्यालयकी छात्रा सृष्टि शर्माले सान्त्वना स्थान हासिल गरेकी छन् ।
जिल्लाका ११ वटै स्थानीय तहबाट तीन–तीन जना उत्कृष्ट विद्यार्थी छनोट गरिएर जम्मा ३४ जना बीच जिल्ला स्तरीय प्रतियोगिता बिहीबार सम्पन्न गरिएको थियो । वातावरण दिवसको अवसरमा आयोजना गरिएको उक्त प्रतियोगितामा ‘वातावरण संरक्षणमा मेरो दायित्व’ भन्ने शिर्षक गोला प्रणालीबाट चयन गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले बालबालिकामा सकारात्मक सोच र प्रतिभा विकासमा यस्तो प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बालबालिकाका मौलिक विचारलाई कलात्मक ढंगले प्रस्तुत गर्न यस्ता कार्यशालाहरू उपयोगी हुने बताउँदै प्रतियोगिताले तार्किक क्षमताको विकासमा समेत टेवा पु¥याउने धारणा राखेका थिए ।
उक्त कार्यक्रममा समन्वय अधिकारी नवराज बराल, डिभिजन वन कार्यालयका प्रमुख नवराज बराल, विभिन्न स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा प्रतिनिधि, शिक्षकहरू र मूल्याङ्कन कर्ता अमृत रेग्मी र पुन्य प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यालयका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहायक प्रशासकीय अधिकृत द्रोण प्रसाद पनेरुले गरेका थिए ।
प्रतिक्रिया