गण्डकी र लुम्बिनीको सिमानामा महामेला धर्मोत्सव

स्याङ्जा ।
दुई प्रदेशलाई साथ लिएर बगेको कालीगण्डकी नदी किनारमा एक महिने ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव—२०८२’ संचालन गरिएको छ । गण्डकी र लुम्बिनी प्रदेशको सिमानामा पर्ने उत्तरबाहिनी क्षेत्रमा कालीगण्डकीको महिमालाई विश्वभर चिनाउने उदेश्यले धार्मिक महामेला धर्मोत्सव गरिएको हो । असोज २१ गतेबाट शुभारम्भ गरिएको महामेला धर्मोत्सव कात्र्तिक १९ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । बिशेषगरी नदीहरु उत्तरप्रवाह हुने दुर्लभ मानिन्छ भने धार्मिक र बैज्ञानिक दृष्टिकोणले यस्ता नदीहरु महत्वपुर्ण मानिन्छ ।

धार्मिक रुपमा महत्वपुर्ण मानिएको उत्तरबाहिनी क्षेत्रलाई विश्वभर चिनाउन यहाँ स्थापित कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानले महामेला धर्मोत्सवको आयोजना गरेको हो । स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–१ असेर्दीको संगमस्थल उत्तरवाहिनी क्षेत्र (कालीगण्डकी तट)मा महामेला शुरु गरिएको प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले बताए । धार्मिक रुपले निकै पवित्र मानिने र एकमात्र शालग्राम पाइने कालीगण्डकी नदी त्यसमा पनि उत्तरतर्फ बगेको क्षेत्र भएकाले झनै पवित्र हुनेहुँदा यसको प्रचारप्रसारमा सहयागी भुमिका खेल्ने उदेश्यले एक महिने ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव—२०८२’ संचालन गरिएको अध्यक्ष चैतन्य कृष्णले बताए ।

यहाँ प्राकृतिकरुपमा ऊँ लेखिएको चक्रशिलाको दर्शन, साढे तीन किलोमिटरको दूरीसम्म उत्तर तर्फ भएर बहेकी कालीगण्डकीमा स्नान, २० फिट अग्लो भगवान शिवको शालिकको दर्शनकासाथै कालीगण्डकीकै जलको १ सय ८ धारामा नुहाउनेलगायतको व्यवस्था मिलाइएको छ । १८ पूराण, सहस्र चण्डीपाठ अनुष्ठानको सुन्दर अवसर एवम् सवालाख शालग्रामको दर्शन गर्न पाइने भएकाले पनि महामेलामा सहभागी हुनुले ठूलो अर्थ राख्ने आयोजकको भनाई छ ।

स्याङ्जा र पाल्पाको मात्रै नभएर दुवै प्रदेशका लागि यो क्षेत्र एक ऐतिहासिक तीर्थस्थल बन्ने सोच लिएर उत्तरवाहिनी क्षेत्रको धार्मिक विकासमा दीर्घकालीन हुने विश्वास लिएर महामेलाको आयोजना गरिएको ज्ञान विज्ञान प्रतिष्ठानका संरक्षक शंकरप्रसाद पाण्डेले बताए । महामेलाले सनातन धर्म, संस्कार र संस्कृति संरक्षण गर्ने र नदीलाई स्वच्छन्द प्रदान गर्ने विश्वास आयोजकको छ । यो धार्मिक मेलामा झण्डै एक करोड खर्च हुने अनुमान गरिएको छ ।

महामेलाको गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले शुभारम्भ गरेका थिए । गल्याङ्को पहिचानको रुपमा रहेको उत्तरबाहिनी क्षेत्रलाई यो धर्मोत्सवले फरक धार्मिक क्षेत्र बनाउनेमा विश्वास व्यक्त गरे । धर्मोत्सवका लागि हरिद्वार लगायतका नेपाल र भारतका विभिन्न स्थानहरूबाट प्रशिद्ध सन्तगुरुहरू कालीगण्डकी तटमा आइपुग्ने र सहभागी हुने भक्तजनहरूलाई देवघाट, रुरुक्षेत्र, सेतीवेणी शीला, मुक्तिनाथ लगायतका तीर्थस्थल दर्शनको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

शास्त्रमा उत्तरतर्फ फर्केको नदीलाई सर्वतीर्थ भनिन्छ । कालीगण्डकी उत्तर भएर बगेकी हुनाले यसक्षेत्रलाई उत्तरवाहिनी भनिएको हो । जहाँ ब्रह्ममयी गङ्गा नदी उत्तरवाहिनी मूर्ती भएर विद्यमान हुन्छिन्, त्यहाँ उनको दर्शन गर्दा, स्नान गर्दा र प्रणाम गर्दा समस्त पापहरूको नाश हुन्छ, भन्ने विश्वास गरिएको छ । राष्ट्रिय लोकभजन प्रतियोगिता, राष्ट्रिय वतृत्वकला प्रतियोगिता, धार्मिक तथा सांस्कृतिक हाजिरीजवाफ, निबन्ध लेखन, कविता प्रतियोगिता सञ्चालन गरीने प्रतिष्ठानले जनाएको छ । एक पटक पुग्नै पर्ने सन्देश दिन आयोजना गरिएको महामेलामा सहभागी हुन स्याङ्जा र पाल्पा दुवै जिल्लाबाट पुग्न सकिने छ ।

प्रतिक्रिया