स्याङ्जाका गाउँ–गाउँमा ‘भागवद् गीता’ वितरण गर्दै युवाहरु
प्रकाश डोटेल,
स्याङ्जा ।
विश्व हिन्दु युवा संघ स्याङ्जाको अगुवाईमा जिल्लाका गाउँ–गाउँमा ‘श्रीमद् भागवद्गीता’वितरण गरिएको छ । पछिल्लो समय समाजमा धर्म, कर्म र ज्ञान योगमा देखिएको अभाबलाई पुरा गर्न संघमा आबद्ध युवाहरुले भागवद्गीता वितरण गर्ने अभियान नै चलाएका छन् ।
युवावर्गमा नैतिकता हराउँदै गयो, धार्मिक मान्यताहरु मासिदै गए र ज्ञानका बारेमा चासो राख्न छाडे त्यसलाई रोक्न युवाहरुले भागवद्गीता वितरण गरेको बताए । खासगरी युवा र स्थानीयलाई नैतिकवान, धार्मिक आस्था र ज्ञानआर्जन गर्न आवश्यक छ भनेर सन्देश दिनका लागि गीतावितरण अभियान चलाएको उनीहरुको भनाई छ ।
भागवद्गीता वितरणको अगुवाई गरेको छन्, अर्जुनचौपारी गाउँपालिका–१ स्याङ्जाका ३० वर्षिय युवा नवराज पौडेलले । शिक्षण पेशामा आबद्ध पौडेलले एम.एस्सी.सम्मको अध्ययन गरेका छन् । बिज्ञान विषय लिएर अध्ययन गरेका पौडेलले मानिसमा धर्म संस्कृती हराएको बताउँदै धर्मसँगै संस्कृत भाषाको प्रवर्धन गर्न अभियान चलाएको सुनाए ।
एक लाख ११ हजार १११ गीता पुस्तक वितरण गर्ने लक्ष्य सहित झण्डै एक वर्षदेखि संचालन गरेको गीता वितरण अभियानमा हालसम्म करिब ५ हजार पुस्तक वितरण गरिएको छ । जिल्लाका ११ पालिका मध्ये अर्जुनचौपारी, भीरकोट र वालिङमा केन्द्रित पुस्तक वितरण अभियानलाई जिल्लाव्यापी बनाउने तयारी गरिएको अध्यक्ष पौडेलले बताए । आर्थिक जोहो गरेर संघले पुस्तक खरिद गरेको र केहि पुस्तक दाताबाट लिएर वितरण गर्दै आएको उनले जानकारी दिए ।
मानिस जति सुकै पढेको, जती सुकै उच्चपदमा र जती सकै धनीकिन नहोस,आफ्नो धर्म, संस्कृति र धरातल बिर्सन हुदैन् भन्ने शिक्षा सिकाउने अभियान सार्थक बन्नेमा अध्यक्ष पौडेल बिस्वस्त छन् । विद्यालय र विभिन्न सार्वजनिक कार्यक्रममा पुस्तक वितरण गर्दै आएका संघमा आबद्ध युवाहरुले पछिल्लो दशकमा मानिसहरु भोगी, रोगी र पढेर पनि अज्ञानी जस्तो बन्दै गएकोमा चिन्ता जनाए ।
खासगरी विद्यालयस्तरमा कक्षा ८ देखि १० कक्षा सम्मका विद्यार्थी र समुदायलाई प्राथमिकता दिएर पुस्तक वितरण गरेको संघले जनाएको छ । संघकै पहलमा ‘एक पालिका, एक संस्कृति पुस्तकालय’ अभियान समेत संचालन गरिएको छ । पुस्तक वितरण सँगै सहयोग जुटाएर भीरकोट र अर्जुनचौपारीमा पुस्तकालय स्थापना गरिएको संघले जनाएको छ ।
संघले वितरण गर्दै आएको भागवद् गीता पुस्तक स्थानीयले अभिरुचीपूर्वक अध्ययन गर्ने गरेको उनीहरुको बुझाई छ । ध्यानपूर्वक गीता अध्ययन गरेका स्थानीयमा सकारात्मक सोचमा अभिवृद्धिहुँदै गएको संघको अनुभव छ । गीता अध्ययनसँगै युवादेखि वृद्धसम्ममा धार्मिक आस्था, स्वअनुसाशन र एक आपसमा मित्र भावको बढोत्तरी बन्दै गएको संघले दावी गरेको छ ।
श्रीमद् भागवद्गीता, प्रायःगीता भनेर चिनिने । गीतामा महाभारत धार्मिक कथाका राजकुमार अर्जुन र भगवान कृष्णबीचको संवाद उल्लेख गरिएको छ । उक्त संवाद महाभारतको युद्धभूमि कुरुक्षेत्रमा हुन्छ, जहाँयुद्ध सुरु हुनुभन्दा ठीक पहिले अर्जुनलाई आफ्नो नैतिक दुविधा र युद्धलड्ने मनस्थिति हुन्छ । भगवान कृष्णले अर्जुनलाई आध्यात्मिक ज्ञान र मार्गदर्शन दिन्छन् । भगवान कृष्णले जीवन, कर्तव्य, धर्म र वास्तविकताको स्वरूपको विभिन्न पक्षहरू समेटिएका कुरा अर्जुनलाई बताउँछन् ।
भगवद् गीता भारतीय महाकाव्य महाभारतको एक अंश हो । जसलाई ७०० श्लोकहरूमा समेटिएको छ । गीता विश्वभरि विभिन्न भाषाहरूमा अनुवाद गरिएको छ । नेपाली भाषामा भगवद्गीता अनुवाद गर्ने संस्कृतका धेरै प्रतिष्ठित विद्वानहरूले नेपाली भाषी पाठकहरूका लागि अझ नजिक ल्याउने प्रयास गरेका छन् ।


प्रतिक्रिया