नाटक घरको अभावमा कहिलेसम्म टिक्ला रङ्गकर्मीको उत्साह
अमृत अर्याल
वालिङ ।
विगतका वर्षहरुदेखि पोखरा थिएटरले स्याङ्जाका विभिन्न स्थानहरुमा पुगेर नाटक प्रदर्शन गर्न थालेको छ । गत वर्ष एक चिहान नाटक प्रदर्शन गरेर गएको टोलीले अहिले जिल्लाका विभिन्न स्थानहरुमा मुनामदन नाटक प्रदर्शन गरिरहेको छ । तर जिल्लामा एउटा पनि नाटक घर नहुँदा उनीहरुले पार्टी प्यालेसमा नाटक प्रदर्शन गर्न बाध्य छन् । गतवर्ष एक चिहान नाटक प्रदर्शन गरेर वालिङबाट फर्किएपछि निक्कै फुर्तिलो देखिएका निर्देशक परिवर्तन यस पटक पनि पार्टी प्यालेसमै नाटक देखाउन बाध्य भएको गुनासो गर्छन। पार्टी प्यालेसमै भएपनि उत्साहजनक सहभागिताले उनी यस पटक बढिनै उत्साहित छन् । तर जिल्लामा एउटा पनि नाटक घर नहुदाँ समेत सम्वन्धित निकायले त्यतातर्फ निर्माणमा ध्यान नदिएको उनले दुखेसो गरे ।
वालिङमा मुनामदन नाटक प्रदर्शन पछि पोखरा थिएटरका कलाकारहरू हर्षित देखिन्छन् । नाटकमा पाएको प्रतिक्रियाले उनीहरूमा उत्साह थपेको हो । त्यस सँगै नाटकमा देखिएको व्यवसायीकताले उनीहरूको अनुहारमा खुसी थपेको छ । अहिले नाटक हेर्नेले समेत पैसा तिर्न थालेपछि कलाकारितामै आम्दानी गर्न सकिन्छ की भन्ने आशा पलाएको अनुभव सुनाउँछन् नाटकका निर्देशक परिवर्तन। पछिल्लो समय धेरै स्टेज कार्यक्रम गरेको बताउँदै परिवर्तन मुनामदन नाटकको सफलताले हौसिएका छन् । नाटकको परिकल्पना र निर्देशन परिवर्तनले गरेका हुन् । कृष्टि गुरुङ, रमेश तिमल्सिना, धनकाजी श्रेष्ठ, रञ्जु दाहाल, प्रकाश रेग्मी, उत्सर्ग सुवेदी, शीतला अधिकारी, सुसन पौडेल, विष्णु खड्का कार्की, अर्जुन शर्मा र अञ्जली शाही लगायतका कलाकारहरूको अभिनय यसमा देख्न सकिनेछ ।
मुनाको भूमिकामा रहेकी कृष्टि गुरुङलाई नाटक प्रदर्शनको सफलताले हौसला मिलेको छ । थप आशावादी हुँदै गुरुङ भन्छिन्, ‘नाटकलाई व्यवसायीक बनाउन सकिन्छ होला । यसैबाट आम्दानी भएन भने चाहिँ गाह्रो हुन्छ तर अब रङ्गकर्मी भएर बाच्न सकिन्छ होला जस्तो लाग्छ । यसलाई आम्दानीको रूपमा बढाउनुपर्छ ।’ उनी आफु कलाकारिताको लतमा फसेको बताउँछिन् । पछिल्लो समय नाटक व्यवसायीक बनेकोमा खुसी व्यक्त गर्छन् रमेश तिमल्सिना । नाटक बाट करियर बनाउन सकिन्छ भन्ने आशा बोकेका रमेश बजारले बिस्तारै रङ्गकर्मीलाई स्थापित गराउने विश्वास राख्छन् । भोटेको भूमिकामा रहेका कलाकार धनकाजी श्रेष्ठ अहिलेसम्म गरेका कामहरूप्रति सन्तुष्ट छन् । निरन्तर अभ्यासमै रहेका रञ्जु दाहाल देखी नाट्यकर्मी प्रकाश रेग्मी लगायत कलाकारको उत्साह कम छैन ।
नाटक घरको अभाव कलाकारलाई दबाब
जिल्लामा नाटक घर नहुँदा पनि पोखरा थिएटरले हरेक वर्ष नाटक प्रदर्शन गरिरहेको छ । थिएटरले हरेक वर्ष नयाँ नयाँ नाटक प्रस्तुत गरिरहेको छ । अभावका बिच सुरु भएको नाटक प्रदर्शनले नाट्य क्षेत्रमा आशा जगाउन सफल भएको बैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियानका संयोजक मिलन समिरले बताए । पोखरा थिएटरका निर्देशक परिवर्तनले भने ‘पहिलो कुरा नाटकका दर्शक पाउनै गाह्रो अवस्था थियो । हामीले नाटक घर बाहेक बाहिर पनि पनि नाटक हुन्छ भन्ने प्रमाणित गर्नु थियो । त्यो गर्यौ । दर्शकलाई नाटक के हो भन्ने बुझाउन सफल भयौँ । अहिले नाटकका आफ्नै दर्शक बनेका छन् । स्कुलका बालबालिकालाई समेटेर सुरु गरेको पोखरा थिएटरले कलाकार उत्पादन गरेको छ । अब ती कलाकारलाई टिकाउनु पर्ने चुनौती छ,’ । नाटकको व्यवसायीकतामा ध्यान दिएको बताउँदै उनले स्याङ्जामा नाटक घरको अभाव रहेको सुनाए ।
बैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियानका संयोजक मिलन समिरले संस्थाले समन्वय र संरक्षण गर्न सक्ने बताउँदै जिल्लामा उपयुक्त जग्गा उपलब्ध भए नाटक घर निर्माण अभियान चलाउने बताए । तथापि नाटक घर निर्माणको लागि जनप्रतिनिधिले चासो नदिएको उनको भनाइ छ । नाटक घर भए कलाकारलाई व्यवसायीक नाटक प्रस्तुतिको लागि हौसला मिल्ने उनले प्रस्ट पारे । नाटक गर्न भन्दा त्यसको तयारीको लागि ठाउँ र भाडाको चिन्ताले धेरै दिमाग खर्च हुने कलाकारले दुखेसो गरे । नाटक घर अभावमा कलाकारको मनोबल उच्च बनाउन नसकिएको बताउँछन् मुनामदन नाटकका निर्देशक तथा नाट्यकर्मी परिवर्तन । नाटक घर भएपछि मात्र नाटकलाई व्यवसायीक बनाउने सबैभन्दा पहिलो सर्त पुरा हुने उनको तर्क छ । ‘सृजनाको लागि साधना चाहिन्छ । साधनाको लागि साधन चाहिन्छ । नाटकको लागि अनिवार्य साधन भनेको नाटक घर हो । रिहल्सनको लागि हल भाडामा खोज्ने देखी नाटक प्रदर्शनीको भाडा तिर्ने समस्याले कलाकारको ऊर्जा खर्च भइरहेको छ । यस्ता समस्याका बिच हामीले चाहेजस्तो गुणस्तरीयता दिन सक्दैनौ,’ उनले भने ।


प्रतिक्रिया