प्रहरी दिवसमा विविध कार्यक्रम
स्याङ्जा ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ७० औं प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिरहेको छ । नेपाल प्रहरी स्थापना भएको ७० बर्षको अवसरमा स्याङ्जाले विविध कार्यक्रम गरिरहेको हो । नेपालको शान्ति सुरक्षामा महत्वपुर्ण भुमिका खेल्दै आएको नेपाल प्रहरीले असोज ३१ गते देशभर ७० औं स्थापना दिवस मनाउदै छ । दिवसलाई सफल बनाउन जिल्ला प्रहरी कार्यालय स्याङ्जा र मातहतका कार्यालयहरुले सरसफाई, रक्तदान, खेलकुद प्रतियोगिता सगै लागुऔषध जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको सहज उपलब्धताको लागि प्रहरीले दिवसको अवसरमा रक्तदान सम्पन्न गरेको छ । मानवजीवन रक्षा र सामाजिक उत्तरदायित्वको भावना प्रवद्र्धन गर्ने उदेश्यले नेपाल रेडक्रस सोसाईटी स्याङ्जा शाखाको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम गरिएको प्रहरी प्रमुख न्यौपानेले बताए । ३७ जना प्रहरी कर्मचारी र ६ जना सर्वसाधरणहरुले रक्तदान गरेको प्रहरीले जनाएको छ । दिवसकै अवसरमा व्याडमेण्डन खेल प्रतियोगिता समेत सम्पन्न गरेको छ । जिल्लाभरका प्रहरी खेलाडीको प्रतियोगिता बाट छनोट भएका उत्कृष्ट खेलाडीलाई दिवसको दिन पुरस्कृत गरिने प्रहरीले जनाएको छ ।
प्रहरी दिवसको अवसरमा स्याङ्जावासी सबैमा शुभकामना सन्देश दिदै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक न्यौपानेले नजिकिदै गरेको तिहार, छड, नेपाल संम्वत लगायतका चाडपर्वहरु निर्वाध र उत्साहजनक रुपले मनाउन आग्रह गरेका छन् । शान्ति सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले विगतका बर्षहरुमा भन्दा फरक ढंगले सुरक्षा परिचालन गरिएकाले ढुक्कसगँ चाडपर्व मनाउन प्रहरी प्रमुख न्यौपानेले नागरिकहरुमा आग्रह गरेका छन् । भयरहित, शान्तिपुर्ण र मर्यादित तवरले चाडपर्व मनाउन अनुरोध गर्दै प्रहरी प्रमुख न्यौपानेले उछृखंल क्रियाकलाप गर्ने जो कोही पनि कारवाहीमा पर्ने बताए ।


प्रतिक्रिया