चापाकोटका भण्डारीले बिक्रिगरे ७ लाखको फूल

स्याङ्जा ।

स्याङ्जाको चापाकोट नगरपालिका–१ बेलडाँडाका कृषक तुलसीराम भण्डारीले सयपत्री फूल बिक्री गरेर राम्रो आम्दानी गरेका छन् । भण्डारीले तिहारको अवधिमा फूलको माला, थुँगार बिरुवा बिक्री गरेर सात लाख रुपैयाँ आम्दानी गरेका हुन् ।

कृषक भण्डारीले तिहारमा माला बेचेर दुई लाख ५६ हजार १६० रुपैयाँ, फूलको थुँगा बिक्रीबाट चार लाख ७ हजार ५० आम्दानी गरेका हुन् । यस अघि सयपत्री फूलका बिरुवा बेचेर ५३ हजार आम्दानी गरेको कृषक भण्डारीले बताए । गएको तिहारमा सयपत्री फूलको माग अत्यधिक रहेको र सोहि अनुरुप मूल्य पनि राम्रो पाएको उनले सुनाए ।

कुल आम्दानी भएको ७ लाख मध्ये गाउँमै बेचेको फूलको हिसाव नगरिएको उनले बताए । फूलको उत्पादन अझै केही महिना जारी रहने बताउँदै भण्डारीले चालु सिजनमा झण्डै १० लाख आम्दानी हुने जनाए । भण्डारीले शिक्षण पेशामा रहँदा सामान्य र अवकाश पछि व्यावसायिक रुपमा सयपत्री फूलखेती गर्दै आएका छन् । ६० वर्षिय भण्डारीले विगत चार वर्षदेखि फूलखेती गर्दै आएका छन् ।

शिक्षकका रुपमा कार्यरत रहँदा नै फुर्सदको समयमा व्यावसायिक बन्दै आत्मनिर्भर बन्ने प्रयास गरेका भण्डारीले गाउँमै तीन रोपनी जग्गामा फूलखेती गरेका छन् । बाँझो जमिनको सदुपयोग गर्दै फूलखेतीका लागि थप क्षेत्रफल बढाउने योजना रहेको उनको भनाई छ ।

भण्डारीले अर्गानिक घर तथा कृषिफर्म दर्तागरी चार वर्षदेखि व्यावसायिक रूपमा फूलखेती गर्दै आएका हुन् । एकमुष्ठ र व्यापारीका लागि प्रतिकिलो ३०० देखि ३५० रुपैयाँका दरले फूलबिक्री गरेका भण्डारीले माला भने एक सयदेखि १५० सम्ममा बिक्री भएको जनाए । सयपत्री फूलको बीउखरिदमा १० हजार जतिखर्च गरेको भएपनि स्याहार सम्भार र गोडमेलका समेतको काममा परिवारका अन्य सदस्यले सघाउँदै आएको उनले बताए ।

प्रतिक्रिया