कृषि, पर्यटन र व्यापार प्रवद्र्धनका लागि वालिङ महोत्सव
(रमेश अर्याल)
सचिवालय व्यवस्थापन संयोजक,
वालिङ महोत्सव २०८२ मूल आयोजक समिति,
एवम्
महासचिव, उद्योग वाणिज्य संघ–वालिङ ।
स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा सञ्चालन हुँदै आएको चर्चित वालिङ महोत्सवको नवौँ संस्करण यही माघ १४ गतेदेखि औपचारिक रुपमा सुरु हुने भएको छ । स्थानीय कला, संस्कृति, व्यापार तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुँदै आएको यो महोत्सव माघ २५ गतेसम्म चल्नेछ । वालिङ–८ स्थित खेलमैदानलाई केन्द्र बनाएर आयोजना गरिने महोत्सव यस वर्ष पनि ‘हाम्रो गौरव हाम्रो शान ः वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने आकर्षक मूल नाराका साथ सञ्चालन हुन लागेको हो । महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका औद्योगिक तथा व्यावसायिक स्टलहरु, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक खेलकुद गतिविधि तथा विभिन्न सिर्जनात्मक प्रस्तुतिहरु समावेश गरिने आयोजकले जनाएको छ । यस महोत्सवले वालिङ क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउनुका साथै स्थानीय पहिचान र संस्कृतिलाई राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यसै सन्दर्भमा महोत्सवको तयारी, उद्देश्य, अपेक्षित उपलब्धि तथा यसले स्थानीय समुदायमा पार्ने प्रभावबारे जानकारी लिन पब्लिक आवाजका सम्पादक अमृत अर्यालले आयोजक संस्था वालिङ उद्योग वाणिज्य संघका महासचिव रमेश अर्यालसँग गरिएको कुराकानीको सम्पादित अंश ………
१. रमेश सर स्वागत छ यहाँलाई ! महोत्सव कहिलेदेखि कहिलेसम्म लगाउदै हुनुहुन्छ ?
धन्यवाद, नमस्कार । वालिङ उद्योग वाणिज्य संघको आयोजनामा नवौं कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८२ यहि माघ १४ गतेदखि २५ गतेसम्म वालिङ नगरपालिका वडा नं. ८ स्थित आँधीखोला किनारको खेलमैदानमा लाग्न गईरहेको छ । यस अवधिमा स्थानीय तथा राष्ट्रिय स्तरका व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक गतिविधि र विभिन्न प्रदर्शनीहरु प्रस्तुत गरिनेछ । महोत्सवमार्फत वालिङको पहिचानलाई अझ मजबुत बनाउँदै आर्थिक, सांस्कृतिक र सामाजिक गतिविधिलाई चलायमान बनाउने हाम्रो लक्ष्य रहेको छ ।
२. महोत्सवका मुख्य उद्देश्य के–के हुन् ?
नवौं कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८२ को मुख्य उद्देश्य कृषकले उत्पादन गरेका कृषिजन्यवस्तुको सहज बजारीकरण, उत्पादित वस्तुको प्रर्वद्धन एवम् बजारीकरणमा टेवा पु¥याउनु, स्याङ्जा जिल्ला भित्रका ११ वटै स्थानीय तहमा रहेका धार्मिक, ऐतिहासिक, पर्यटन, कृषि, रितिरिवाज र परम्परा झल्कने स्टल राखिने र सो मार्फत आन्तरिक एवम् बाह्य पर्यटकलाई स्याङ्जा जिल्लाको परिचय गराउनु र जिल्लाको भ्रमण गराउनु यस महोत्सवका उद्देश्य हुन् । यी लगायत विद्यार्थी भाई बहिनीहरुका लागि चौतर्फी विकासका नृत्य, गायन प्रतियोगिता राख्दै उत्कृष्ट हुने भाई बहिनीहरुलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ । साथै १२ दिन सम्म चल्ने यस महोत्सवको अर्को महत्वपूर्ण उद्देश्य भनेको साना, खुद्रा र सडक व्यापारीहरुलाई व्यापारमा अवसर दिईनु हो । समग्रमा भन्नुपर्दा पर्यटन तथा कृषि प्रवर्धन, स्थानीय उत्पादनलाई प्राथमिकता र वालिङको पहिचानलाई विश्वसामु पु¥याउने महोत्सवको मुख्य उद्देश्य हो । वालिङमै बसेर पनि व्यवसायिक रुपमा स्थापित हुन सकिन्छ भन्ने सन्देश दिनु पनि महोत्सवको उद्देश्य रहेको छ ।
३. महोत्सवका मुख्य आकर्षक के–के रहेका छन् ?
नवौं कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८२ को मुख्य आकर्षकको केन्द्रविन्दु स्थानीय कृषि उत्पादनको प्रर्दशन गर्दैछौं भने स्याङ्जा तथा गण्डकी प्रदेश भित्रका पर्यटकीय स्थलहरुको फोटो समेत प्रर्दशनीका लागि राखेका छौं । स्थानीय कलाकारहरुलाई प्रोत्साहन गर्दै गायन र नृत्य प्रतियोगितालाई प्राथमिकतामा राखेका छौं भने राष्ट्रिय स्तरका कलाकारहरुबाट दर्शकहरुलाई भरपुर मनोरञ्जन दिने प्रमुख उद्देश्य रहेको छ । त्यसैगरी दर्शकका लागि पिङ, मौतका कुवाँ, सरकस, चिप्लेटी, फुड स्टल लगायतका मनोरञ्जनका सामग्री रहने समेत म यहाँहरुलाई जनकारी गराउन चाहन्छु । यसका साथै विद्यार्थीहरुद्धारा निर्मित विज्ञान तथा शैक्षिक सामाग्री आविष्कार प्रदर्शनी पनि मुख्य आकर्षण हुनेछन् ।
४. महोत्सवमा कति दर्शक उतार्ने सोचमा हुनुहुन्छ ?
बेग्लै र भिन्नै सोचबाट यस पटक महोत्सवको आयोजना गरिरहेका छौं । महोत्सवका विषयमा व्यापक प्रचारप्रसार गरिरहेका छौं । स्याङजा जिल्लाका अतिरिक्त पर्वत र पाल्पा समेतका आमाबुवा, दाजुभाई, दिदीबहिनीहरुको प्रमुख बजारको रुपमा परिचत वालिङमा उल्लेखनीय सहभागिता रहने विश्वास हामीले लिएका छौं । यस पटकको महोत्सवमा कम्तीमा २ लाख दर्शक भित्राउने प्रयासमा वालिङ उद्योग वाणिज्य संघ लागि परेको छ । यस अवधिमा १० करोडको कारोबार गर्दै ५१ लाख बचाउने सोचमा छौं । विगतका महोत्सवहरुमा प्राप्त अनुभव, यस वर्षको आकर्षक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, व्यापारिक तथा औद्योगिक स्टलहरुको व्यवस्थापन र दर्शक लक्षित विविध मनोरञ्जनात्मक गतिविधिलाई हेर्दा यो लक्ष्य हासिल हुनेमा हामी आशावादी छौँ । साथै महोत्सवले वालिङ मात्र होइन, आसपासका पालिका तथा जिल्लाबाट समेत दर्शकहरुलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
५. वर्षेनी लाग्ने यस्ता महोत्सवले खासै उल्लेखनीय काम नगरेको भन्ने जन गुनासो छ, यस विषयमा तपाईको भनाई के छ ?
विभिन्न सामाजिक संघ संस्थाहरुले पनि मेला महोत्सवको आयोजना गर्दै आएका छन् । उनीहरुका उद्देश्य के थिए त्यसको पनि समिक्षा हुदै जाला । स्याङ्जा जिल्लाको प्रतिष्ठित व्यापारीक संस्था वालिङ उद्योग वाणिज्य संघले २ वर्षको अन्तरालमा मेलाको आयोजना गर्दैछ । यसको मुख्य उद्देश्य कृषकले उत्पादन गरेका वस्तुको बजारीकरण, स्थानीय व्यवसायिलाई प्रोत्साहन गर्दै उत्पादित वस्तुको प्रर्वद्धन गरी बजारीकरणमा टेवा पु¥याउने रहेको छ । यसमा सबैको साथ सहयोगको आवश्यता पनि छ । महोत्सवलाई फरक दृष्टिकोणले हेरिनुपर्छ । महोत्सव यस क्षेत्रमा मनोरञ्जनको साधन मात्र नभै आर्थिक गतिविधिलाई चलायमान गराउने माध्यम पनि हो ।
६. वालिङ महोत्सव २०८२ ले यसअघिका महोत्सव भन्दा नयाँ के दिँदैछ ?
विगतमा जस्तै वालिङ महोत्सवले कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ अन्तर्गत उत्पादित तरकारी तथा फलफुल महोत्सवमा विशेष प्रदर्शनका रुपमा राखिने छन् । महोत्सवको अन्य नयाँ आकर्षणका रुपमा ममी डान्स प्रतियोगिता, पर्यटन टुर प्याकेज र महोत्सवको डिजिटल सर्वेक्षण रहेका छन् । आँधीखोले रोइला, टिकटक प्रतियोगिता र लण्डन ब्रिजको शो पनि हुँदैछ । महोत्सवलाई प्रविधिमैत्री बनाउँदै सुरक्षा व्यवस्थामा सुधार, सरसफाइ तथा पार्किङ व्यवस्थापनमा पनि नयाँ व्यवस्था लागू गरिएको छ । समग्रमा भन्नुपर्दा, वालिङ महोत्सव २०८२ ले व्यापार, संस्कृति, मनोरञ्जन र पहिचानलाई एउटै थलोमा समेट्दै अघिल्ला महोत्सवहरुभन्दा अझ फरक र प्रभावकारी अनुभूति दिनेछ भन्नेमा हामी विश्वस्त छौँ ।
७. यसपालि यहाँहरु कुन क्षेत्रमा बढी केन्द्रित हुनुहुन्छ ?
यसपालि पनि हामी कृषि क्षेत्रमै बढी केन्द्रित छौँ । स्याङ्जाको समग्र आर्थिक, सामाजिक र साँस्कृतिक विकास गर्दै उद्योग व्यवसायको प्रवद्र्धनमा टेवा पु¥याउने महोत्सवको उद्देश्य भएकाले वालिङमा हवको रुपमा विकसित कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको विकासमा हाम्रो ध्यान केन्द्रित छ । यससँगै युवा र नयाँ पुस्तालाई लक्षित कार्यक्रम, उद्यमशील सोच विकास गर्ने गतिविधि, सीप तथा प्रतिभा प्रस्तुतिका अवसरहरु पनि यसपालिको विशेष फोकसमा छन् । समग्रमा भन्नुपर्दा, यस वर्षको महोत्सवले वालिङको आर्थिक विकाससँगै पहिचान, संस्कृतिको संरक्षण र भावी पुस्ताको सशक्तीकरणलाई केन्द्रमा राखेको छ ।
८. महोत्सवले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकता दिनुको कारण के हो ?
स्याङ्जा कृषिको सम्भावना भएको राम्रो जिल्ला हो । नयाँ उन्नत जातको खोजी गरी आधुनिक र वैज्ञानिक विधिले खेती गर्न किसानलाई अब पनि सघाइएन भने स्याङ्जाको कृषिमा अहिले देखिएको सम्भावना सेलाएर जानेछ । यसो हुँदा प्रतिभा पलायन बढ्छ । यसैले कृषिप्रति धेरै उत्साही युवालाई कृषि क्षेत्रमा अझ आकर्षित गर्न सकिने उद्देश्यले महोत्सवले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको हो । स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले कृषिलाई प्रमुख प्राथमिकता दिइएको हो । समग्रमा भन्नुपर्दा, कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु भनेको स्थानीय उत्पादनको संरक्षण, आत्मनिर्भर अर्थतन्त्र निर्माण र दिगो विकासको आधार तयार गर्नु हो र यही सोचअनुसार यसपालिको वालिङ महोत्सव अगाडि बढाइएको छ ।
९. वालिङ महोत्सवको नवौं संस्करणबाट आयोजकको समग्र अपेक्षा के छ ?
महोत्सवमा कृषि लगायतका अन्य क्षेत्रलाई चासो देखाइएपछि यस क्षेत्रमा यहाँका किसानहरु थप लाभान्वित हुनेछन् । लगानी बढ्ने अपेक्षा समेत हाम्रो छ । वित्तीय क्षेत्रले पनि किसानहरुलाई कृषिमा लगानी गर्न प्रोत्साहित गर्नेछन् । कृषि क्षेत्रमा जिल्लावासीले जगाएकोे आशालाई सरकार र स्थानीय तहले पक्कै सम्बोधन गर्नेछ । हामीले महोत्सवबाट बचत रकमको ५० प्रतिशत कृषक उन्नयनमा र वालिङ खेलमैदानको स्तरोन्नतीमा खर्च गर्ने योजनामा छौं । समग्रमा भन्नुपर्दा, वालिङ महोत्सवको नवौँ संस्करणले आर्थिक समृद्धि, सांस्कृतिक संरक्षण र सामाजिक एकताको सन्देश प्रवाह गर्दै वालिङको भविष्य निर्माणमा सकारात्मक योगदान पु¥याओस् भन्ने नै हाम्रो मुख्य अपेक्षा हो ।
१०. अन्तिममा महोत्सवमा सहभागी हुनुहुने दर्शकलाई केहि सन्देश छ ?
वालिङ उद्योग वाणिज्य संघको आयोजनामा हुन गईरहेको नवौं कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८२ मा सम्पूर्ण आमाबुवा, दाजुभाई, दिदी बहिनीहरुलाई माघ १४ गते देखि सुरु हुन लागेको महोत्सवको अवलोकन गर्न अनुरोध गर्दै यहाँहरुको गरिमामय उपस्थितिको अपेक्षा सहित हार्दिक चुले निमन्त्रणा गर्दछु । आउनुहोस् महोत्सवमा सहभागी हुनुहोस् । महोत्सवले मनोरञ्जनका अतिरिक्त व्यवसायिक सिपको समेत प्रवर्धन गर्ने हुँदा सबैले उचित लाभ लिनुहोस् भन्न चाहन्छु । मलाई नवौं कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८२ को विषयमा आफ्ना कुराहरु राख्ने सुअवसर प्रदान गर्नु भएकोमा तपाई लगायत सम्पूर्ण टिमलाई धन्यवाद !


प्रतिक्रिया