भीरकोटका वडा सचिवको विदाई
भीरकोट ।
भीरकोट नगरपालिका–८ नं. वडा कार्यालयका वडा सचिव सुवर्ण जीटीको विदाई कार्यक्रम सम्पन्न भएको छ। लामो समयसम्म सार्वजनिक सेवामा समर्पित रहेका सचिव सुवर्ण जीटी सेवा निवृत्त हुन लागेको अवसरमा भीरकोट नगरपालिकामा विशेष कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्माचार्य, उपप्रमुख भगवती रेग्मी अर्याल, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्साल, वडा नं.–७ का वडा अध्यक्ष ताराप्रसाद अर्याल, जनप्रतिनिधिहरू, कर्मचारीहरू, स्थानीय बुद्धिजीवी, सामाजिक अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले सचिव सुवर्ण जीटीको सरल, इमान्दार र कर्तव्यनिष्ठ सेवाको उच्च प्रशंसा गरेका थिए।
वडा सचिव सुवर्ण जीटीले आफ्नो जीवनको करिब ३१ वर्ष राष्ट्रसेवक कर्मचारीको रूपमा विभिन्न जिम्मेवारीमा रही सेवा गरेका थिए। उनले सेवाकालभरि जस्तोसुकै कठिन परिस्थिति, चुनौती र दबाबको सामना गर्नुपरे पनि सधैं सालिन व्यवहार र हसिलो मुस्कानका साथ काम गर्दै आएको स्मरण गर्दै वक्ताहरू भावुक बनेका थिए। सार्वजनिक प्रशासनमा अनुशासन, पारदर्शिता र सेवाभावलाई प्राथमिकता दिनु उनको कार्यशैलीको प्रमुख विशेषता रहेको उनीहरूले बताएका थिए।
कार्यक्रममा बोल्दै नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले सचिव सुवर्ण जीटीको योगदान वडा कार्यालय मात्र नभई सम्पूर्ण स्थानीय तहको प्रशासनिक सुदृढीकरणमा महत्वपूर्ण रहेको उल्लेख गरे। कर्माचार्यले भने, “उहाँले कर्मचारी र सेवाग्राहीबीचको सेतुको रूपमा काम गर्नुभयो। नियम, प्रक्रिया र मानवीय संवेदनालाई सन्तुलनमा राखेर सेवा प्रदान गर्ने कुरा उहाँबाट सबैले सिक्दा राम्रो हुन्छ ।” सहकर्मी कर्मचारीहरूले पनि उनीसँग बिताएका कार्यअनुभव स्मरण गर्दै उनलाई अनुकरणीय कर्मचारीको रूपमा चित्रण गरेका थिए। कठिन फाइल, जटिल प्रशासनिक समस्या तथा सेवाग्राहीका गुनासाहरूलाई धैर्यतापूर्वक समाधान गर्ने उनको बानीले कार्यालयको छवि सकारात्मक बनाउन ठूलो भूमिका खेलेको उनीहरूको भनाइ थियो।
विदाई कार्यक्रमका क्रममा सचिव सुवर्ण जीटीलाई मायाको चिनो, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो। सम्मान ग्रहण गर्दै उनले आफ्नो सेवाकाल सम्झँदै भावुक मन्तव्य दिए। उनले भने, “राष्ट्रसेवकको रूपमा काम गर्नु मेरो जीवनको गर्विलो यात्राको हिस्सा हो। सहकर्मी, जनप्रतिनिधि र सेवाग्राही सबैको सहयोगले नै म आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न सकेँ।” उनले सेवाकालमा भएका अनुभवहरूले आफूलाई जीवनभर मार्गदर्शन गर्ने उल्लेख गर्दै आगामी दिनमा पनि समाज र राष्ट्रको हितमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, कार्यालयका कर्मचारीहरूलाई सेवा प्रवाहमा अझ जिम्मेवार, पारदर्शी र जनमुखी बन्न आग्रह गरे। कार्यक्रमको अन्त्यमा उपस्थित सबैले सचिव सुवर्ण जीटीको स्वस्थ, सुखमय र सम्मानित जीवनको कामना गर्दै धन्यवाद ज्ञापन गरेका थिए। लामो समयसम्म सार्वजनिक सेवामा समर्पित रहेका एक अनुभवी र कर्मठ कर्मचारीको विदाईसँगै कार्यालयमा भावुक वातावरण सिर्जना भएको थियो।


प्रतिक्रिया