स्याङ्जामा विपिसीको सेवा अवरुद्ध

स्याङ्जा ।
बुटवल पावर कम्पनी (विपिसी) को सेवा स्याङ्जाका केही क्षेत्रमा अवरुद्ध भएको छ । जिल्लाको वालिङ र भीरकोट नगरपालिकाका अधिकांश वडाहरुमा शनिवार राती देखी विद्युत सेवा अवरुद्ध भएको हो । कम्पनीले एक सूचना जारी गर्दै वालिङ स्थित मिर्दि सवस्टेशनमा जडान गरिएको पावर ट्रान्सफर्मरमा अचानक समस्या आई मर्मत गर्नुपर्ने भएकोले मर्मत नहुँदासम्मको लागि ११ के.भी. लाइनबाट वितरण भएको वालिङ र भीरकोट नगरपालिकाका क्षेत्रहरुमा विद्युत आपूर्ति बन्द रहने भएको छ ।

सवस्टेसनमा रहेको ट्रान्सफर्मरमा कसरी समस्या आयो भन्ने बिषय भने कम्पनीले खुलाएको छैन । शनिवार राती मेघगर्जन सहित पानी परेको र ठुलो आवाजमा पट्किएकाले चट्याङ्का कारण ट्रान्सफर्मरमा समस्या आएको हुनसक्ने स्थानीयहरु बताउछन् । कम्पनीले सकेसम्म छिटोभन्दा छिटो मर्मत कार्य सम्पन्न गरी विद्युत सप्लाई आपूर्ति गरिने जनाएको छ ।

विपिसीको गल्याङ शाखाका प्रमुख डोल खरेलका अनुसार ११ के.भी. प्रसारण लाइनको ट्रान्सफर्मर मर्मतका लागि बुटवल लैजानुपर्ने भएका कारण दुईदिन सम्म वालिङ र भीरकोट क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने बताए । सबस्टेसनमा ठुलो समस्या आयो प्रमुख खरेलले भने,‘बैकल्पिक ट्रान्सफर्मर नभएका कारण दुईदिन समस्या हुन सक्छ ।’ यसमा सर्वसाधरणमा पर्न जाने असुविधाप्रति कम्पनी क्षमाप्रार्थी माग्न चाहान्छ उनले भने ।

दुईदिन सम्म विद्युत अवरुद्ध हुँदा सरकारी कामको सेवा अवरुद्ध देखी टेलिफोन सेवा, घरेलु उद्योग धन्दा, बैंक वित्तिय लगायत विद्युतीय संचार माध्यमहरु मर्कामा परेका छन् । विपिसीका ट्रान्सफर्मरहरु बेला—बेलामा बिग्रिने गर्दा केही क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुँदै आएपनि लामो समय अवरुद्ध हुने यो पहिलो पटक हो ।

प्रतिक्रिया