विपिसीको ट्रान्सफर्मर बिग्रिदा— ‘विद्युतबिहिन बन्दै १३ हजार उपभोक्ता’
स्याङ्जा ।
१९ गते रातीदेखी विद्युत सेवा अवरुद्ध हुँदा स्याङ्जाका १३ हजार उपभोक्ता मर्कामा परेका छन् । बुटवल पावर कम्पनीको वालिङ स्थित मिर्दी सवस्टेसनमा रहेको ट्रान्सफर्मरमा समस्या आएपछि १३ हजार उपभोक्ता विद्युतीय सेवाबाट मर्कामा परेका हुन् । कम्पनीसगँ बैकल्पिक ट्रान्सफर्मर नहुँदा ३ दिनदेखी विद्युत सेवा ठप्प भएको छ ।
मिर्दी सबस्टेसनमा रहेको ३३÷११ केभी, ३ एमभिए क्षमताको ट्रान्सफर्मर गत वैशाख २० गते अचानक बिग्रिएको विपिसीले जनाएको छ । बिग्रिएको ट्रान्सफर्मर मर्मतगर्न झण्डै २५ दिन लाग्ने भएपछि विकल्पका लागि विद्युत प्राधिकरणसगँ सहयोग मागेको विपिसीले जानकारी दिएको छ । ग्राहकको विद्युत आपूर्ति सुचारु गर्न बिपीसीले प्राधिकरणसँग ३ एमभिएको ३÷११ केभी ट्रान्सफर्मर अथवा ५ एमभिएको १ थान ट्रान्सफर्मर २५ दिनका लागि उपलब्ध गराइदिन अनुरोध गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तमकुमार श्रेष्ठले बताए ।
लामो समय विद्युत आपुर्ति नहुँदा सेवाग्राहीमा समस्या हुने देखिएपछि विकल्पका लागि विद्युत प्राधिकरणसगँ नियमाअनुसार सहयोग मागेको श्रेष्ठले बताए । प्राधिकरणले ट्रान्सफर्मर उपलब्ध गराइदिएमा बुधवारसम्म विद्युत आपुर्ति हुने उनले बताए । विद्युत अवरुद्ध हुँदा वालिङ नगरपालिका, गल्याङ नगरपालिकाका केही वडा र भीरकोट नगरपालिकाका १३ हजार ग्राहक प्रभावित भएका छन् । गर्मी बढेसँगै खानेपानी, सञ्चार र उद्योग व्यवसायमा समेत असर परेको स्थानीयको गुनासो छ ।
विद्युत सेवा नभएपछि इलाका प्रशासन कार्यालय, वालिङ मालपोत कार्यालय, नापी कार्यालय लगायत तीन स्थानीय सरकारका काम समेत प्रभावित भएका छन् । सरकारी निकायसगै साना उद्योगी व्यवसायी, खानेपानी, संचारक्षेत्र, बैक तथा वित्तिय संस्थाहरु समेत नराम्रोसगँ प्रभावित बन्न पुगेका छन् । ग्राहकले समयमै बिल नतिरे जरिवाना लिने बिपीसीले विद्युत सेवा लामो समय अवरुद्ध गर्दा जरिवाना हुन्छ की हुँदैन भन्दै नागरिकहरुले सामाजिक संजालमा प्रश्न गरेका छन् । विद्युत सेवा प्रभावित बनाउने कम्पनीलाई कारवाही गर्न मिल्ने वा नमिल्ने भन्ने बिषयमा न्याय दिने अधिकार विद्युत नियमन आयोगलाई दिएको छ । विद्युत नियमन आयोगले ‘विद्युत खरिद बिक्री तथा अनुमति प्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्त सम्बन्धी नियमावली, २०७६’ अनुसार वितरण कम्पनीले गुणस्तरीय र निरन्तर सेवा दिनुपर्ने शर्त छ ।
विद्युत नियमन आयोगमा सेवाग्राहीले उजुरी दिएमा त्यस्ता कम्पनीलाई छानविन गरी क्षतिपूर्ति वा जरिवाना गराउन सक्ने व्यवस्था रहेको छ । झण्डै ३ दिनदेखी विद्युत सेवा अवरुद्ध हुँदा विद्युत नियमन आयोगले समेत चासो नदेखाएको गुनासो स्याङ्जावासीको छ । आयोगका सूचना अधिकारी हरी बहादुर खत्रीका अनुसार अहिले सम्म विपिसीले विद्युत अवरुद्ध भएको बिषय जानकारी गराएको वा नगराएको आफुलाई थाहा नभएको बताए । कुनै पनि कम्पनीले विद्युत सेवा अवरुद्ध हुँदा समयमै आयोगमा जानकारी दिनुपर्ने व्यवस्था छ । तर अहिले सम्म जानकारी दिएको वा नदिएको भन्ने बिषय सूचना अधिकारी खत्रीले भन्न सकेनन् ।
यो बिषयमा विपिसीलाई कस्तो कारवाही हुन्छ भन्ने प्रश्नमा सूचना अधिकारी खत्रीले अहिले आयोगका पदाधिकारीहरु पदमुक्त भएको अवस्था रहेकाले भन्न नसकिने बताए । साच्चिकै विपिसीले उपभोक्तालाई मर्कामा पारेको रहेछ भने नियमानुसार कारवाही हुने उनले बताए ।


प्रतिक्रिया