इन्लेट भल्वमा समस्या— कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रको उत्पादन बन्द

स्याङ्जा ।
नेपालकै ठुलो उर्जा परियोजना कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रको उत्पादन बन्द हुने भएको छ । विद्युत उत्पादन गृहमा रहेको इन्लेट भल्बमा समस्या आएपछि ३ दिन उत्पादन बन्द हुने भएको हो । कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रले एक सूचना जारी गरी बैशाख २५ गते रातीदेखी २९ गते बिहानसम्मका लागि विद्युत उत्पादन बन्द हुने जनाएको छ । विद्युत गृहको इन्लेट भल्ब तथा युनिट २ को टर्वाइनमा समस्या आएपछि बन्द गर्नुपरेको केन्द्रका प्रमुख आत्मेश पौडेलले जानकारी दिए ।

प्रमुख पौडेलले जारी गरेको सूचना अनुसार कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रको पावर हाउसमा बृहत मर्मत सम्भार गर्नेक्रममा तिनवटै मेसिन बन्द गर्नुपर्ने उल्लेख गरेका छन् । बैशाख २५ गते साझबाट २९ गते बिहानसम्म विद्युतगृहको मर्मत सम्भार हुने समेत पौडेलले जानकारी दिएका छन् । बन्द हुनेक्रममा सुरुङमार्ग हुँदै पावर हाउसमा जाने पानी डाइभर्ट गरी नदी पुरानै वहावमा बगाउनु पर्ने र नदीको सतह बढ्ने हुँदा नदी किनारमा सतर्क रहन समेत केन्द्रले सुसुचित गरेको छ ।

एउटा मेसिनमा खराब आएपनि तत्कालका लागि तिनवटै मेसिन बन्द गर्नुपर्ने अवस्था आएको पौडेलले बताए । तीन टर्वाइन मध्ये एउटाको भल्बबाट पानी लिकेज भएर समस्या आएको छ उनले भने,‘सानो समस्यालाई तत्काल मर्मत नगरिए पछि झन् ठुलो समस्या हुनसक्छ ।’ त्यसैले अहिले नै मर्मत गर्न लागिएको हो उनले भने ।

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पर्छ । २९ गते बिहानदेखी दुईओटा मात्रै टर्बाइन संचालनमा आउने केन्द्रले जनाएको छ । एउटा टर्बाइन मर्मत सम्भार नहुन्जेलसम्म ९६ मेगावाट मात्रै विद्युत उत्पादन हुने केन्द्रले जनाएको छ । करिव २५ दिनको मर्मतसम्भार पछि भने १४४ मेगावाट नै विद्युत उत्पादन हुने जनाइएको छ । आयोजना निर्माणका वेला डिजाइन त्रुटीका कारण बेला—बेलामा भल्बमा समस्या आइरहने प्राविधिकहरु बताउछन् ।

प्रतिक्रिया