भीरकोटका दुई विद्यालयलाई १२ थान कम्प्युटर सहयोग

भीरकोट ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्याङ्जाको भीरकोट नगरपालिकास्थित दुई सामुदायिक विद्यालयलाई १२ थान कम्प्युटर प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत कम्पनीले भीरकोट नगरपालिका–६ मा रहेको भाग्योदय माध्यमिक विद्यालय र वडा नं. ८ स्थित पब्लिक एकेडेमी माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका चिफ फाइनान्स अफिसर चार्टर्ड एकाउन्टेन्ट प्रेम रेग्मी तथा इन्जिनियर उज्ज्वल रेग्मीको पहलमा विद्यालयहरुलाई कम्प्युटर उपलब्ध गराइएको हो । पहलकर्ता दुवै जना भाग्योदय माध्यमिक विद्यालयका पूर्व विद्यार्थी हुन् । आफ्नो अध्ययन गरेको विद्यालय र गाउँको शैक्षिक विकासमा योगदान पु¥याउने उद्देश्यले उनीहरुले कम्पनीसँग समन्वय गरी सहयोग जुटाएका हुन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका वालिङ शाखा प्रमुख देवीप्रसाद न्यौपानेका अनुसार भाग्योदय माध्यमिक विद्यालयलाई ७ थान र पब्लिक एकेडेमी माध्यमिक विद्यालयलाई ५ थान गरी कुल १२ थान कम्प्युटर हस्तान्तरण गरिएको छ । विद्यालयहरुमा कम्प्युटर शिक्षाको पहुँच विस्तार गर्न तथा विद्यार्थीलाई प्रविधिमैत्री वातावरणमा अध्ययन गर्ने अवसर उपलब्ध गराउन सहयोग गरिएको उनले बताए ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल लाइफका गण्डकी प्रदेश प्रमुख सहदेव अधिकारीले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन र गुणस्तरीय कम्प्युटर शिक्षा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरिएको जानकारी दिए । उनले नेपाल लाइफले व्यवसायिक गतिविधिसँगै सामाजिक क्षेत्रमा पनि निरन्तर योगदान गर्दै आएको उल्लेख गरे । अधिकारीका अनुसार कम्पनीले गण्डकी प्रदेशका विभिन्न विद्यालयहरुमा कम्प्युटर, स्टेशनरी सामग्री, झोला लगायतका शैक्षिक सामग्री वितरण गर्दै आएको छ । त्यसैगरी ट्राफिक प्रहरीलाई कम्प्युटर, प्रिन्टर तथा अन्य आवश्यक सामग्री उपलब्ध गराएर सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धिमा समेत सहयोग पु¥याउँदै आएको उनले बताए ।

कार्यक्रममा बोल्दै इन्जिनियर उज्ज्वल रेग्मीले आफू जन्मे–हुर्केको गाउँ र अध्ययन गरेको विद्यालयका लागि सहयोग जुटाउन पाउँदा विशेष खुसी लागेको बताए । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको उल्लेख गर्दै उनले विद्यालय, अभिभावक, पूर्वविद्यार्थी, स्थानीय सरकार तथा निजी क्षेत्रबीच सहकार्य हुन सके शिक्षाको स्तर अझ उकास्न सकिने धारणा राखे । “गाउँको विकास र समृद्धिका लागि सबै पक्षको साझा प्रयास आवश्यक छ,” उनले भने, “हामीले प्राप्त गरेको अवसर र अनुभवलाई आफ्नै समाजको हितमा प्रयोग गर्न सके मात्रै दिगो विकास सम्भव हुन्छ ।”

विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका प्रतिनिधिहरुले कम्प्युटर सहयोगले सूचना प्रविधि शिक्षाको विस्तारमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । हाल धेरै सामुदायिक विद्यालयहरुमा पर्याप्त कम्प्युटर तथा प्राविधिक स्रोतसाधनको अभाव रहेको अवस्थामा प्राप्त सहयोगले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान हासिल गर्न सहज हुने उनीहरुको भनाइ छ । नेपाल लाइफले गण्डकी प्रदेशभर सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । प्रदेश प्रमुख अधिकारीका अनुसार कम्पनीले हालसम्म प्रदेशका विभिन्न जिल्लाका विद्यालयहरुमा ५ सय ७६ थान झोला तथा ३ हजार ४ सय ५६ थान कापी वितरण गरिसकेको छ । शिक्षा, सामाजिक सेवा तथा सार्वजनिक हितका क्षेत्रमा केन्द्रित यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने कम्पनीले जनाएको छ । सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच विस्तार गर्दै शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले गरिएको यस सहयोगले भीरकोटका विद्यार्थीहरुलाई आधुनिक शिक्षासँग जोड्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया