समुदायमुखी कार्यक्रममार्फत शिक्षा क्षेत्रमा सहकारीको लगानी

भीरकोट ।

भीरकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। संस्थाले भीरकोट नगरपालिकाका पाँच वटा विद्यालयमा अध्ययनरत १ सय ११ जना विद्यार्थीलाई झोला, कापी तथा कलम वितरण गरेको हो। शिक्षा क्षेत्रमा सहयोग पु¥याउने तथा विद्यार्थीलाई अध्ययनप्रति थप उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको सहकारी संस्थाले जनाएको छ। संस्थाका अनुसार भीरकोट–५ स्थित तिलारनेटा आधारभूत विद्यालयका १६ जना, भीरकोट–६ स्थित जनसेवा आधारभूत विद्यालय फोक्सिङका २२ जना, भीरकोट–७ स्थित जनज्योति आधारभूत विद्यालय पासिनडाँडाका १९ जना, भीरकोट–६ स्थित सिमलचौर विकास केन्द्रका १५ जना तथा भीरकोट–१ स्थित लक्ष्मी आधारभूत विद्यालय जगतपुरका ३९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।

सहकारी संस्थाले वितरण गरेको सामग्रीले विद्यार्थीलाई विद्यालय शिक्षामा निरन्तरता दिन तथा अध्ययनप्रति उत्साह बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ। ग्रामीण क्षेत्रका कतिपय विद्यार्थीका लागि सामान्य शैक्षिक सामग्रीसमेत अभाव हुने अवस्थामा यस्ता सहयोगले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सामग्री हस्तान्तरण कार्यक्रममा सहभागीहरूले सहकारी संस्थाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर गरेको सहयोग प्रशंसनीय रहेको बताएका थिए। उनीहरूले सहकारीले समुदायको आवश्यकता पहिचान गरी विद्यालय र विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गर्नु सकारात्मक कदम भएको उल्लेख गरे।

यसैबीच, संस्थाले विद्यार्थीलाई सामग्री वितरणमा मात्र सीमित नरही विद्यालय तथा समुदायस्तरमा उपयोग हुने थप सामग्रीसमेत उपलब्ध गराएको छ। सहकारीले कार्यक्रममा सहभागी सम्पूर्ण विद्यालयलाई साझा प्रयोगका लागि एक–एक थान वाटर डिस्पेन्सर हस्तान्तरण गरेको जनाएको छ। साथै क्षेत्री समाज भवनमा तातो–चिसो पिउने पानीको व्यवस्था गर्न एक थान वाटर डिस्पेन्सर उपलब्ध गराइएको छ। उक्त सहयोगबाट विद्यालय तथा समुदायस्तरमा स्वच्छ पिउने पानीको पहुँच विस्तार हुनुका साथै विद्यार्थी, शिक्षक तथा स्थानीय बासिन्दालाई सहजता हुने अपेक्षा गरिएको छ। विद्यालयमा सुरक्षित र स्वच्छ पिउने पानीको उपलब्धताले बालबालिकाको स्वास्थ्य संरक्षणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा बोल्दै सहकारी संस्थाका प्रबन्धक रामु अर्यालले सहकारीले सामाजिक उत्तरदायित्वलाई आफ्नो प्रमुख दायित्वका रूपमा लिँदै आएको बताए । उनले सहकारी केवल बचत तथा ऋण कारोबारमा सीमित नरही समुदायको सामाजिक, शैक्षिक तथा मानवीय विकासमा योगदान गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । प्रबन्धक अर्यालले शिक्षा क्षेत्रलाई विशेष महत्व दिँदै विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुग्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए। उनका अनुसार बालमैत्री नगरपालिका निर्माण गर्ने अभियानलाई टेवा पु¥याउने उद्देश्यले विद्यालय र विद्यार्थीलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिएको हो। “बालबालिकामा लगानी गर्नु भनेको समाजको भविष्यमा लगानी गर्नु हो,” उनले भने, “विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएर उनीहरूको अध्ययन यात्रामा सानो भए पनि सहयोग पु¥याउने हाम्रो प्रयास हो।” उनले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै समुदायप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

सहकारी संस्थाले स्थानीय तह, विद्यालय तथा समुदायसँग सहकार्य गर्दै सामाजिक विकासका गतिविधिलाई निरन्तरता दिने जनाएको छ। सहकारी संस्थाले सञ्चालन गरेको यस कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीले बताएका छन्। समुदायसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले सहकारी र समुदायबीचको सम्बन्ध थप मजबुत बन्ने विश्वास गरिएको छ।

प्रतिक्रिया