शुभलक्ष्मी सहकारीका सदस्यलाई जीएमसीमा २० प्रतिशतसम्म छुट

भीरकोट ।

भीरकोट नगरपालिकाको अग्रणी सहकारी संस्था शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्यहरूले अब गण्डकी मेडिकल कलेज (जीएमसी) पोखरामा स्वास्थ्य सेवामा १० देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन्। भीरकोट नगरपालिका–१ बयरघारीस्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था र गण्डकी मेडिकल कलेज पोखराबीच स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएसँगै सहकारीका शेयर सदस्यहरूले विभिन्न स्वास्थ्य सेवामा छुट पाउने व्यवस्था भएको हो।

सहकारीका शेयर सदस्यलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने उद्देश्यले गण्डकी मेडिकल कलेज पोखरामा आयोजित कार्यक्रममा दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको मेडिकल कलेजका सूचना अधिकारी कृष्ण पौडेलले जानकारी दिए। उनका अनुसार सम्झौतापत्रमा गण्डकी मेडिकल कलेजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा प्राचार्य डा. रविन्द्र प्रसाद श्रेष्ठ र शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट अध्यक्ष भक्तबहादुर केसीले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार सहकारीका सदस्यहरूले रजिष्ट्रेसन शुल्कमा २० प्रतिशत छुट पाउनेछन्। त्यसैगरी बहिरङ्ग सेवा अन्तर्गत ल्याब, एक्स–रे, ईसीजी, युएसजी, सीटी स्क्यान तथा एमआरआई सेवामा १० प्रतिशत छुट उपलब्ध हुनेछ। अन्तरङ्ग सेवा अन्तर्गत बेड चार्जमा १० प्रतिशत तथा दन्त सेवामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको सहकारीका व्यवस्थापक लेखबहादुर केसी (किरण) ले जानकारी दिए । उनका अनुसार सहकारीका सदस्यहरूको स्वास्थ्य उपचारमा आर्थिक भार कम गर्न तथा सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो सम्झौता गरिएको हो। यसबाट सहकारीका हजारौं सदस्य प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास गरिएको छ।

सम्झौताअनुसार सहुलियत प्राप्त गर्नका लागि सेवाग्राहीले सहकारी संस्थाबाट प्रमाणित परिचयपत्र (आईडी कार्ड) वा आवश्यक भेरिफिकेसनसहित गण्डकी मेडिकल कलेजमा उपस्थित हुनुपर्नेछ। प्रमाणित परिचयपत्र वा आवश्यक भेरिफिकेसन भएका सेवाग्राहीलाई मेडिकल कलेजले सम्झौताअनुसारको सहुलियतसहित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ। स्थानीय तहमा सहकारी र स्वास्थ्य संस्थाबीचको यस्तो सहकार्यले सदस्यहरूको सामाजिक सुरक्षामा टेवा पुग्नुका साथै सहकारीप्रतिको आकर्षणसमेत बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया