मुख्यमन्त्रीबाट भीरकोट नगरपालिकाको प्रशासकीय भवन उद्घाटन
भीरकोट ।
भीरकोट नगरपालिकाको प्रशासकीय भवन शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भवन उद्घाटन गर्दै नागरिकले सधैं सजग भई शासकलाई प्रश्न गर्नुपर्ने बताएका छन्। उनले नागरिकको निरन्तर निगरानी र प्रश्नले शासन प्रणाली सुधार गर्न सहयोग पुग्ने उल्लेख गरे।
मुख्यमन्त्री पाण्डेले सीमित स्रोत–साधनका बाबजुद नागरिकका आकांक्षा पूरा गर्नुपर्ने चुनौती रहेको बताउँदै प्रदेश सरकारले स्थानीय आवश्यकताअनुसार विकास योजनाहरू अघि बढाएको जानकारी दिए। साथै, संघीय लोकतान्त्रिक गणतन्त्रमा कानुनभन्दा माथि कोही नहुने उल्लेख गर्दै कानुनी शासनको पालना गर्न सबैलाई आग्रह गरे।
७ करोड २१ लाख रुपैयाँको लागतमा निर्माण भएको उक्त भवन गजेन्द्र निर्माण सेवाले निर्माण गरेको हो। २०७७ पुसमा निर्माण सम्पन्न भई २०७७ माघदेखि सेवा सञ्चालनमा आएको भवन पाँच वर्षपछि औपचारिक रूपमा उद्घाटन गरिएको हो।
कार्यक्रममा विभिन्न जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। साथै, भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पुर्व कानुन मन्त्री धनराज गुरुङ, संविधान सभा सदस्य राजु थापा, प्रदेश सांसद कल्पना तिवारी, निवर्तमान प्रदेश सांसद मेखलाल श्रेष्ठ, पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मी, भीरकोटका निर्वतमान नगरप्रमुख छायाराम खनाल, उपप्रमुख भगवती अर्याल रेग्मी, नगरप्रवक्ता तथा वडा नं। १ का अध्यक्ष दिपेन्द्र केसी लगायतले बोलेका थिए । कार्यक्रम नगरप्रमुख गोविन्दकुमार कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण लम्सालले गरेका थए ।


प्रतिक्रिया