बाढीपीडितका लागि पुतलीबजार नगरपालिकाको २७ लाखभन्दा बढी सहयोग

पुतलीबजार ।

रसुवा जिल्लाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि पुतलीबजार नगरपालिकाले २७ लाख रुपैयाँभन्दा बढी सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। विपद्को कठिन घडीमा प्रभावित नागरिकको पीडामा सहयात्री बन्ने उद्देश्यले नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीको सेवा सुविधाबाट सहयोग जुटाउनुका साथै वस्तुगत सहायता उपलब्ध गराउने निर्णय गरेको हो।

नगरपालिकाका अनुसार नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको सेवा सुविधाबाट ३ लाख ८८ हजार ७ सय ५० रुपैयाँ सहयोग संकलन गरिनेछ। त्यस्तै, नगरपालिकाका कर्मचारी तथा स्वास्थ्य संस्थामा कार्यरत राष्ट्रसेवकहरूको तलबबाट १२ लाख ५१ हजार १ सय ८ रुपैयाँ र ११ लाख रुपैयाँ बराबरको वस्तुगत सहायता उपलब्ध गराइनेछ। यसरी बाढीपीडितका लागि पुतलीबजार नगरपालिकाबाट कुल २७ लाख ३९ हजार ८ सय ५८ रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने निर्णय भएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकले संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने तथा वस्तुगत सहायताका लागि छुट्याइएको रकमबाट दैनिक उपभोग्य सामग्री खरिद गरी प्रभावित नागरिकलाई उपलब्ध गराउने निर्णय गरेको छ। विपद् व्यवस्थापनलाई केवल प्रशासनिक जिम्मेवारीका रूपमा मात्र नभई मानवीय दायित्व र सामाजिक उत्तरदायित्वका रूपमा आत्मसात् गर्दै नगरपालिकाले सहयोगको निर्णय गरेको जनाएको छ। जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य संस्थामा कार्यरत राष्ट्रसेवकहरूले समेत आफ्नो सेवा सुविधाबाट योगदान गर्ने निर्णयले संकटका बेला स्थानीय सरकार र समुदायबीचको सहकार्यलाई थप अर्थपूर्ण बनाएको छ।

बाढीका कारण प्रभावित परिवारले तत्काल खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्रीलगायत दैनिक उपभोग्य वस्तुको आवश्यकता महसुस गरिरहेको अवस्थामा नगरपालिकाले उपलब्ध गराउने वस्तुगत सहायता राहतका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। त्यस्तै, उद्धार कोषमा जम्मा हुने रकमले प्रभावित क्षेत्रको राहत तथा पुनर्स्थापनाका प्रयासमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ। विपद्ले पीडा र चुनौती लिएर आए पनि त्यसका बीचमा जन्मिने सहकार्य, संवेदना र मानवताको भावना समाजको ठूलो शक्ति बन्न सक्छ। पुतलीबजार नगरपालिकाको यो पहलले विपद्को समयमा स्थानीय सरकारको मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई समेत उजागर गरेको छ।

प्रतिक्रिया