भाग्योदय मा.वि.को स्वर्ण महोत्सव, मुख्यमन्त्री पाण्डेद्वारा उद्घाटन हुने

भीरकोट ।

स्याङ्जाको भीरकोट नगरपालिका–६ उजेलीडाँडामा अवस्थित भाग्योदय माध्यमिक विद्यालयले यही माघ १२ देखि १४ गतेसम्म स्वर्ण महोत्सव मनाउने भएको छ। वि.सं. २०३३ सालमा एउटा समीको चौपारीको नाङ्गो चौरमा खरको छानामुनिबाट सुरु भएको विद्यालयले ५० औँ वर्ष पूरा गरी स्वर्ण जयन्तीमा प्रवेश गरेको अवसरमा तीनदिने महोत्सव आयोजना गर्न लागेको हो। विद्यालयका प्रधानाध्यापक रेशमलाल खनालका अनुसार स्वर्ण जयन्तीलाई औपचारिक समारोहमा सीमित नराखी शैक्षिक महोत्सवका रूपमा मनाइनेछ। महोत्सवका अवसरमा विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रम, स्वर्ण स्मारक निर्माण, शैक्षिक मेला, बालप्रतिभा प्रदर्शनी, खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू आयोजना गरिनेछन्। प्रधानाध्यापक खनालले भने, “विद्यालयको स्थापना कालदेखि हालसम्मको शैक्षिक यात्रालाई स्मरण गर्दै आगामी दिनमा अझ गुणस्तरीय र व्यवहारिक शिक्षामा केन्द्रित हुने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ”

महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गर्ने कार्यक्रम तय भएको छ। स्थानीय जनप्रतिनिधि, शिक्षाविद्, पूर्व शिक्षक–विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको विद्यालयले जनाएको छ। स्वर्ण महोत्सवलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनालको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको हो। साथै महोत्सव सफल बनाउन आठ वटा विषयगत उपसमितिहरू पनि गठन गरिएको प्रधानाध्यापक खनालले जानकारी दिए।

अध्यक्ष छायाराम खनालकै संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ। उनका अनुसार महोत्सव सञ्चालनका लागि करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त रकम विद्यालयका पूर्व विद्यार्थी, अभिभावक, स्थानीय समाजसेवी, विभिन्न संघसंस्था तथा शुभेच्छुकहरूको सहयोगबाट जुटाइने योजना रहेको छ। महोत्सवको प्रचारप्रसारका लागि ढाकाराम खनालको नेतृत्वमा स्वर्ण महोत्सव प्रचारप्रसार समिति गठन गरिएको छ। सो समितिसँग सहकार्य गर्दै पूर्व विद्यार्थीहरूको संस्था ‘भाग्योदय पूर्व विद्यार्थी समाज’ले विभिन्न माध्यमबाट प्रचारप्रसारको काम गरिरहेको छ। विद्यालयको इतिहास, उपलब्धि र वर्तमान अवस्थालाई समेटेर विशेष स्मारिका प्रकाशन गरिनेछ। स्मारिका प्रकाशन समितिको संयोजकमा विद्यालयका पूर्व विद्यार्थी डा. तुलसीराम खनाल रहेका छन्।

यसैगरी सांस्कृतिक कार्यक्रम व्यवस्थापन समितिको संयोजकमा नारायणप्रसाद अर्याल, अतिथि सत्कार समितिको संयोजकमा मुक्ति चापागाईं, मञ्च व्यवस्थापन समितिको संयोजकमा खडानन्द खनाल, खाजा व्यवस्थापन समितिको संयोजकमा तुलसीप्रसाद अर्याल तथा स्वयंसेवक, खेलकुद तथा अतिरिक्त कार्यक्रम व्यवस्थापन समितिको संयोजकमा भोजबहादुर थापालाई जिम्मेवारी दिइएको छ। भीरकोट नगरपालिकामा नमूना विद्यालय विकास कार्यक्रम कार्यान्वयन गरिरहेको यस विद्यालयमा हाल साधारण शिक्षातर्फ ४ सय ६४ जना र प्राविधिक शिक्षातर्फ २५ जना विद्यार्थी अध्ययनरत रहेको सहायक प्रधानाध्यापक पूण्यप्रसाद अर्यालले जानकारी दिए। विद्यालयमा ३५ जना शिक्षक कार्यरत छन्।

पूर्व–प्राथमिक तहदेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुने यस विद्यालयले पछिल्लो समय प्राविधिक शिक्षालाई पनि प्राथमिकतामा राखेको छ। प्राविधिक शिक्षातर्फ १८ महिने कृषि प्राविधिक विषयको पढाइ सञ्चालन भइरहेको छ, जसले स्थानीय आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्‍याइरहेको विद्यालयको विश्वास छ। स्थापनाको सुरुवाती दिनमा भौतिक पूर्वाधार, शिक्षक र शैक्षिक सामग्रीको अभावमा पनि निरन्तर संघर्ष गर्दै अघि बढेको भाग्योदय माध्यमिक विद्यालय आज भीरकोट क्षेत्रकै एक महत्वपूर्ण शैक्षिक केन्द्रका रूपमा स्थापित भएको छ। स्वर्ण महोत्सवले विद्यालयको गौरवपूर्ण इतिहासलाई उजागर गर्नुका साथै आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धि र संस्थागत विकासका लागि नयाँ ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया