पर्यटन प्रवर्द्धन गर्न पत्रकारहरूबिच अन्तरक्रिया
स्याङ्जा ।
स्याङ्जाका महत्त्वपूर्ण पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्याङ्जामा पत्रकारहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेशको आयोजनामा स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रममा पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि जिल्लाका महत्त्वपूर्ण पर्यटकीय गन्तव्य र पर्यटनको सम्भावनाको विषयमा छलफल गरिएको थियो। कार्यक्रममा एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरू बारे जानकारी गराएका थिए। उनले गह्रौसुर, कालिगण्डकी ड्याम, स्वरेक मैदान, नवग्रह मन्दिर, सिरूबारी, डहरेदेउराली लगायतका पर्यटकीय स्थलहरूको महत्त्व र तिनको सम्भावना तथा पर्यटन विकासका लागि भइरहेका प्रयासबारे पत्रकारहरूलाई जानकारी गराएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा सञ्चारमाध्यम तथा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले स्याङ्जाका पर्यटकीय सम्पदाको प्रभावकारी प्रचारप्रसारमार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने धारणा व्यक्त गरे। कार्यक्रममा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइरालाले पर्यटन प्रवर्धनका लागि जिल्लामा क्रियाशील पत्रकारहरू र महासंघ स्थानीय सरकारहरूसँग सहकार्य गर्न तयार रहेको बताए। कार्यक्रममा पर्यटनसँग सम्बन्धित सरोकारवाला, पत्रकार तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले स्याङ्जाका पर्यटकीय क्षेत्रहरूको पहिचान, संरक्षण र प्रचारप्रसारका विषयमा सुझाव दिएका थिए। कार्यक्रममा स्याङ्जाका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि एकीकृत सेवा कार्यालयले अंग्रेजी भाषामा तयार गरेको ब्रोसर विमोचन गरिएको थियो। ब्रोसरमा जिल्लाका १ दर्जन भन्दा बढी पर्यटकीय स्थलको फोटो, सिद्धार्थ राजमार्गदेखिको दुरी, महत्त्व र उपलब्ध सेवाहरू समेटिएका छन्।


प्रतिक्रिया