पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि स्याङ्जामा दुई दिने तालिम
स्याङ्जा ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा स्याङ्जाको आयोजनामा पत्रकारहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। पुतलीबजार नगरपालिकाको सहयोगमा स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। पत्रकारितामा पछिल्लो समय विकसित हुँदै गएका प्रविधि, विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोग, डिजिटल पत्रकारिताको विस्तार तथा छापा पत्रकारिताले भोगिरहेका चुनौतीबारे सहभागीहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा वरिष्ठ पत्रकार केशवशरण लामिछाने र भरत कोइरालाले सहजीकरण गर्दै पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगका सम्भावना, यसले सिर्जना गरेका अवसर तथा त्यससँगै देखिएका नैतिक र व्यावसायिक चुनौतीबारे विस्तृत रूपमा जानकारी गराइएको थियो। प्रशिक्षकहरूले एआईलाई पत्रकारितामा सहयोगी उपकरणका रूपमा प्रयोग गर्न सकिने भए पनि तथ्य परीक्षण, स्रोतको विश्वसनीयता, सम्पादकीय जिम्मेवारी र पत्रकारिताको आचारसंहितालाई सधैं प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। प्रशिक्षकहरूले डिजिटल युगसँगै समाचार उत्पादन, सम्पादन र वितरणको शैलीमा तीव्र परिवर्तन आएको उल्लेख गर्दै पत्रकारहरूले नयाँ प्रविधिसँग आफूलाई अद्यावधिक गर्न नसके प्रतिस्पर्धामा टिक्न कठिन हुने धारणा राखे। डिजिटल पत्रकारिताको विस्तारसँगै छापा पत्रकारिताले भोगिरहेका आर्थिक, प्राविधिक र पाठकीय चुनौतीका विषयमा पनि प्रशिक्षणका क्रममा छलफल गरिएको थियो।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले पत्रकारहरूको क्षमता विकास महासंघको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताए। उनले बदलिँदो सञ्चार प्रविधि र सूचना प्रवाहको गतिसँगै पत्रकारहरूले आफ्नो ज्ञान, सीप र दक्षतालाई निरन्तर अभिवृद्धि गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए। अध्यक्ष कोइरालाले पत्रकारिता क्षेत्र विश्वव्यापी रूपमा तीव्र परिवर्तनको चरणमा रहेको उल्लेख गर्दै नयाँ प्रविधिलाई आत्मसात् गर्दै गुणस्तरीय, विश्वसनीय र जिम्मेवार पत्रकारितालाई प्रवर्द्धन गर्न यस्ता तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। आगामी दिनमा पनि पत्रकारहरूको व्यावसायिक विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ थियो।
प्रशिक्षकहरूले पत्रकारहरूको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले महासंघले समय–समयमा यस्ता क्षमता विकासमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। यस्ता तालिमले पत्रकारहरूलाई नयाँ प्रविधि, बदलिँदो सञ्चार वातावरण र समसामयिक पत्रकारिताका अभ्यासबारे अद्यावधिक हुन सहयोग पुग्ने उनीहरूको भनाइ थियो। दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा कृत्रिम बुद्धिमत्ताको सुरक्षित र जिम्मेवार प्रयोग, समाचार लेखन तथा सम्पादनमा एआईको उपयोग, तथ्य परीक्षण (फ्याक्ट चेकिङ), डिजिटल माध्यममा सामग्री उत्पादन, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, छापा र अनलाइन पत्रकारिताबीचको अन्तर तथा पत्रकारिताको विश्वसनीयता कायम राख्ने उपायलगायत विषयमा अन्तरक्रियात्मक छलफल भएको थियो। सहभागी पत्रकारहरूले पनि आफ्नो कार्यअनुभव, चुनौती र जिज्ञासा राख्दै प्रशिक्षकहरूसँग छलफल गरेका थिए।
पुतलीबजार नगरपालिकाको सहयोगमा सम्पन्न उक्त कार्यक्रमले जिल्लाका पत्रकारहरूलाई बदलिँदो प्रविधि र पत्रकारिताको नयाँ अभ्याससँग परिचित गराउनुका साथै व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ। सहभागी पत्रकारहरूले पनि यस्ता तालिमले आफ्नो ज्ञान र सीपलाई अद्यावधिक गर्न मद्दत पुगेको बताउँदै आगामी दिनमा अझ बढी व्यवहारिक र विषयगत क्षमता विकास कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन्।


प्रतिक्रिया