स्याङ्जामा बाँदर आतंक, पाकेको बाली भित्राउनै पाउँदैनन् किसान

अमृत अर्याल,
वालिङ ।
किसानका खेतबारीमा बाँदर आतंकले सीमा नाघेको छ । वर्षभरि पसिना बगाएर लगाएको बाली भित्राउने बेलामा बाँदरले सखाप पार्न थालेपछि स्याङ्जाका किसानहरु यतिबेला पीडामा छन् । अहिले जिल्लाभर मकैमा घोगा लाग्ने र पाक्ने समय हो । तर खेतबारीमा खटिएका किसानका लागि बाँदर ठूलो चुनौती बनेको छ । बाली जोगाउन किसानले दिनरात खेत कुरिरहेका छन्, तर बाँदरको हुलले केही क्षणमै महिनौंको मेहनत उजाडिदिने गरेको छ ।

स्याङ्जाको भीरकोट नगरपालिका–५ पकानका किसान सुर्यबहादुर थापाले आफ्नो खेतमा बाँदरले मकै सखाप पारेपछि सामाजिक सञ्जालमार्फत पीडा पोखेका छन् । वर्षभरी गरेको मिहिनेत एकैछिनमा समाप्त भएको भन्दै उनी भावुक बनेका थिए । उत्पादन लिने बेलामा बाँदरले बाली नष्ट गरिदिँदा आफूलाई ठूलो चोट पुगेको उनले बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मिहिनेत, लगानी र आशा सबै एकैपटक समाप्त भयो ।’ कृषि पेसालाई व्यवसाय बनाउने सपना बोकेका थापा जस्ता किसान अहिले बाँदर आतंकका कारण निराश बनेका छन् । उनीहरुका अनुसार खेती गर्ने बेला मल, बीउ, जोताइ, सिँचाइ र मजदुरीमा ठूलो खर्च हुने गर्छ । तर उत्पादन भित्राउने समयमा बाँदरले खेतबारी उजाडिदिएपछि लगानीसमेत उठाउन मुस्किल हुने गरेको छ ।

वालिङ नगरपालिका–९ का किसान भविश्वर गैह्रेको अवस्था पनि फरक छैन । पाक्न थालेको मकै बाँदरले सखाप पारेपछि उनले भिडियोमार्फत आफ्नो दुःख सुनाएका छन् । एकै दिनमा बाँदरको हुल आएर खेतबारी उजाडेको उनले बताएका छन् । ‘हिजो एकै दिनमा बाँदरले सबै बाली सखाप पारेछन्,’ दुःखी हुँदै उनले भनेका छन्, ‘म र श्रीमतीले दुई महिनासम्म बिहान–बेलुका मल बोकेर मकै हुर्कायौं, तर उत्पादन लिने बेलामा सबै खेर गयो ।’ उनले आक्रोश मिश्रित भावनामा भनेका छन्, ‘यदि बाँदर मार्न पाइँदैन भने सरकारले एक–एक वटा बाँदर छोपेर किसानलाई देओस्, हामी पाल्न तयार छौं । होइन भने बाँदर कुर्न किसानलाई सरकारले जनशक्ति उपलब्ध गराउनुपर्छ ।’ आफूले रातदिन गरेर केही मकै जोगाए पनि छिमेकी किसानको सबै मिहिनेत बाँदरले नष्ट गरेको देख्दा मन दुखेको उनले बताए । पेसाले पत्रकारसमेत रहेका गैह्रे फुर्सदको समयमा कृषि तथा पशुपालन गर्दै आएका छन् । उनको अभिव्यक्तिले ग्रामीण किसानको वास्तविक अवस्था झल्काउँछ ।

कालीगण्डकी गाउँपालिकाका दुर्गा भट्टराईले बाँदर आतंक दिनप्रतिदिन बढ्दै गएको तथा बाँदरका हुलले मकै, फलफूललगायत विभिन्न बालीनाली नष्ट गर्दा पनि जनप्रतिनिधिहरु रमिते बनेर बसेको गुनासो गरे । पछिल्लो समय बाँदरहरु खेतबारीमा मात्र सीमित नभई घरघरमै प्रवेश गरी खाद्यान्न तथा अन्य सामग्रीमा क्षति पु¥याउन थालेको भट्टराई बताउँछन्।

खेतबारीमा गरेको वर्षौंदेखिको श्रम र परिवारको आशा एकै दिनमा समाप्त हुँदा किसान मानसिक रुपमा समेत विक्षिप्त हुने अवस्था सिर्जना भएको छ । ग्रामीण क्षेत्रमा सुर्यबहादुर थापा र भविश्वर गैह्रे मात्र होइन, यस्ता सयौं किसान छन् जो बाँदर आतंकबाट पीडित छन् । कतिपय किसानले दिनभरि खेतबारीमा बस्ने, ड्रम बजाउने, कुकुर पाल्ने, ड्रोन उडाउने तथा विभिन्न उपाय अपनाउने गरेका छन् । तर बाँदरको संख्या बढ्दै जाँदा ती उपाय प्रभावकारी हुन सकेका छैनन् । किसानहरुका अनुसार विगत केही वर्षयता बाँदरको समस्या विकराल बन्दै गएको छ । उत्पादन लिने बेलाका मकै, तरकारी, फलफूल, आलुलगायतका बालीमा ठूलो क्षति पुग्ने गरेको छ ।

अहिले धेरै किसानले खेतीयोग्य जमिन बाँझै छाड्न थालेका छन् भने केहीले गाउँ नै छाडेर अन्यत्र बसाइँ सर्न थालेका छन् । कृषि उत्पादन बढाउने र युवालाई गाउँमै स्वरोजगार बनाउने सरकारी नीतिको चर्चा भइरहे पनि किसानहरु भने बाँदरको समस्याबाट जोगिन नसकेको गुनासो गर्छन् । उनीहरुका अनुसार बाली नष्ट हुँदा क्षतिपूर्ति पाउने व्यवस्था प्रभावकारी छैन भने दीर्घकालीन समाधानका लागि पनि पर्याप्त पहल हुन सकेको छैन । गाउँमा खेती गर्न चाहने किसान दिनप्रतिदिन घट्दै जानु, खेतीयोग्य जमिन बाँझिनु र युवा पुस्ता गाउँ छाड्न बाध्य हुनुका पछाडि बाँदरको बढ्दो आतंक प्रमुख कारणका रुपमा देखिन थालेको छ ।

बाँदर आतंकले बाली मात्र होइन, मानिसको ज्यानसमेत जोखिममा पर्न थालेको छ । गत बुधबार वालिङ नगरपालिका–४ रत्नेस्थित हिमाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बाँदरको आक्रमणबाट घाइते भएका छन् । यसअघि गत महिना गल्याङमा बाँदरको आक्रमणबाट ६ जना घाइते भएका थिए । जिल्लाका विभिन्न स्थानमा यस्ता घटना बढ्दै जाँदा स्थानीयवासी त्रसित बनेका छन् । किसानहरुको गुनासो छ, उनीहरुको वास्तविक समस्यालाई स्थानीय सरकारले समेत प्रभावकारी रुपमा सम्बोधन गर्न सकेको छैन । स्थानीय तहले विभिन्न प्रयास गरे पनि बाँदर नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त हुन सकेको छैन ।

गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्यालले बाँदर समस्या स्याङ्जाको मात्र नभई देशकै समस्या भएको बताए । आफू पनि किसान र बाँदर पीडित भएको बताउँदै उनले गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष प्रदेश वन ऐन बनाउँदा बाँदरलाई कृषि हानिकारक वन्यजन्तुको रुपमा समावेश गरेको जानकारी दिए । ‘किसानले बाँदर लखेट्दा दुर्घटनावश बाँदरको मृत्यु भए पनि किसान दण्डित नहुने गरी ऐन बनाइएको छ,’ उनले भने, ‘प्रदेश सरकारले बाँदर नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्ने विषयमा अध्ययन गरिरहेको छ ।’

भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यले कृषकहरुको समस्यालाई पालिकाले गम्भीरतापूर्वक लिएको बताए । तर स्थानीय तहको प्रयास मात्र पर्याप्त नभएको उनको भनाइ छ । ‘केन्द्र सरकारले नै स्पष्ट नीति बनाएर यो समस्या समाधानमा चासो दिनुपर्छ,’ उनले भने, ‘स्थानीय सरकारले हालसम्म गरेका प्रयासहरु अपेक्षाअनुसार सफल हुन सकेका छैनन् । त्यसैले प्रभावकारी उपायको खोजीमा छौं ।’
यता डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख नवराज बरालले बाँदर समस्या राष्ट्रिय समस्या भएको बताए । खेतबारीमा बाँदरले ठूलो मात्रामा क्षति गराएमा आंशिक रुपमा क्षतिपूर्ति दिने व्यवस्था रहेको उनले जानकारी दिए । ‘हालै वालिङमा २० रोपनी क्षेत्रफलमा लगाइएको मकै बाँदरले पूर्ण रुपमा नष्ट पारेको निवेदन आएको थियो,’ उनले भने, ‘त्यसको क्षतिपूर्तिका लागि केन्द्रमा सिफारिस गरिएको छ ।’ बरालका अनुसार बाँदर जंगलमै भुलियोस् भन्ने उद्देश्यले कृषि वनको अवधारणा अघि सारिएको छ । मानिसहरु गाउँबाट बस्ती खाली गराएर बजारतिर सर्दै जाँदा गाउँघरमा जंगली जनावरको संख्या बढेको उनको भनाइ छ ।

तर किसानहरु भने सरकारी आश्वासनभन्दा व्यवहारिक समाधान खोजिरहेका छन् । उनीहरु बाँदर नियन्त्रण, बाली सुरक्षाको प्रभावकारी व्यवस्था र क्षतिपूर्तिको सुनिश्चितता चाहन्छन् । अन्यथा गाउँमा खेती गर्ने किसान घट्दै जाने र उर्वर जमिन बाँझिने क्रम अझ बढ्ने उनीहरुको चिन्ता छ । वर्षौंको मिहिनेत, लगानी र भविष्यको आशा बोकेर खेतबारीमा पसिना बगाइरहेका स्याङ्जाका किसान अहिले एउटा प्रश्न गरिरहेका छन्– उनीहरुको बाली र भविष्य जोगाउने जिम्मा आखिर कसले लिने ?

प्रतिक्रिया