नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा स्याङ्जाका दुई पत्रकार मनोनित
वालिङ ।
नेपाल प्रेस युनियनले स्याङ्जाका दुई सक्रिय पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। युनियनको विधान २०४८ (छैटौँ संशोधन–२०७९) को धारा २१ को ‘झ’ बमोजिम स्याङ्जाका दुईसहित सात केन्द्रीय सदस्य र दुई आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरिएको हो। मनोनित हुनेमा स्याङ्जामा तीन दशकदेखि सक्रिय पत्रकारितामा संलग्न पब्लिक आवाज साप्ताहिकका अध्यक्ष श्रीकृष्ण सिग्देल र स्याङ्जा बुलेटिन राष्ट्रिय दैनिकका सम्पादक भवानी अधिकारी रहेका छन्। पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय दुवै पत्रकारको मनोनयनले स्याङ्जाको सञ्चार क्षेत्रलाई थप गौरवान्वित बनाएको छ।
पत्रकार श्रीकृष्ण सिग्देलले नेपाल प्रेस युनियन स्याङ्जाको जिल्ला अध्यक्ष, नेपाल पत्रकार महासंघ स्याङ्जाको जिल्ला अध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्। हाल उनी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका सदस्य रहेका छन्। साथै आँधीखोला सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो आँधीखोला एफएमका सञ्चालक सदस्यका रूपमा पनि सक्रिय छन्।
त्यस्तै, पत्रकार भवानी अधिकारी यसअघि सञ्चारिका समूह स्याङ्जाकी जिल्ला अध्यक्ष तथा नेपाल पत्रकार महासंघ स्याङ्जाको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन्। हाल उनी प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको सञ्चार समन्वय समिति सदस्यका रूपमा कार्यरत छिन्। अधिकारी लामो समयदेखि पत्रकारिता तथा सञ्चार क्षेत्रको विकासमा सक्रिय रहँदै आएकी छन्।
यसैबीच, नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयका रिक्त दुई पदमा दिलिपाश्री अधिकारी र युवराज गौतमलाई उपमहासचिवमा मनोनित गरिएको छ। स्याङ्जाकी दिलिपाश्री अधिकारी यसअघि केन्द्रीय सदस्य हुँदै उपमहासचिवको जिम्मेवारीमा रहेकी थिइन्। उनी हाल काठमाडौंमा बसेर सक्रिय पत्रकारिता गर्दै आएकी छन्।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार युनियनको विधान २०४८ (छैटौँ संशोधन–२०७९) को परिच्छेद–४ को दफा ३१ तथा केन्द्रीय समितिको पहिलो बैठकले दिएको म्यान्डेटअनुसार सचिवालयका रिक्त पदमा उपमहासचिवद्वय मनोनित गरिएको हो। विधानअनुसार अध्यक्षको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष अनिवार्य रहने गरी नौ सदस्यीय सचिवालय गठन गर्ने व्यवस्था छ। यस्तै, केन्द्रीय समितिले सात जना केन्द्रीय सदस्यसँगै थप सदस्यहरू तथा दुई आमन्त्रित केन्द्रीय सदस्य पनि मनोनित गरेको जनाएको छ। नयाँ मनोनयनसँगै युनियनले आफ्नो केन्द्रीय संरचनालाई थप पूर्णता दिएको छ।
नेपाल प्रेस युनियनको केन्द्रीय समितिमा स्याङ्जाबाट दुई पत्रकारको प्रतिनिधित्व हुनु जिल्लाको पत्रकारिता क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै संगठन निर्माण, पेशागत अधिकारको संरक्षण तथा सञ्चार क्षेत्रको विकासमा योगदान पुर्याएका सिग्देल र अधिकारीको मनोनयनले स्याङ्जाका पत्रकारहरूको भूमिका राष्ट्रिय स्तरमा अझ सशक्त हुने विश्वास गरिएको छ।


प्रतिक्रिया