भीरकोटमा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सम्पन्न
भीरकोट ।
भीरकोट नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०८२÷०८३ को दुईदिने वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाअन्तर्गत सञ्चालित स्वास्थ्य संस्थाहरूले वर्षभरि सम्पादन गरेका स्वास्थ्यसम्बन्धी कार्यक्रम तथा सेवाको प्रगति समीक्षा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्वास्थ्य शाखाका सिनियर अहेव श्रीराम अर्यालले बताए । समीक्षा कार्यक्रममा नगरपालिकाअन्तर्गतका प्रत्येक स्वास्थ्य संस्थाले आर्थिक वर्ष २०८२÷०८३ मा सम्पादन गरेका वार्षिक कार्यहरूको प्रगति प्रस्तुत गरेका थिए। स्वास्थ्य संस्थाहरूले प्रदान गरेका स्वास्थ्य सेवा, सञ्चालन गरिएका कार्यक्रम, लक्षित वर्गमा पुगेको सेवा तथा कार्यक्रम कार्यान्वयनको अवस्थालगायत विषयमा प्रस्तुतीकरण गरिएको थियो।
कार्यक्रममा स्वास्थ्य संस्थाहरूले वर्षभरि हासिल गरेका उपलब्धि, देखिएका समस्या तथा चुनौती र आगामी दिनमा स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन आवश्यक सुधारका विषयमा समेत छलफल गरिएको थियो। प्रस्तुत प्रगतिको आधारमा स्वास्थ्य क्षेत्रका कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने विषयमा सहभागीबीच छलफल भएको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले बताए। दुई दिनसम्म सञ्चालन भएको समीक्षा कार्यक्रमले नगरपालिकाको स्वास्थ्य क्षेत्रमा भएका कामको मूल्यांकनसँगै आगामी वर्षका कार्यक्रम तथा योजनालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको स्वास्थ्य शाखाले जनाएको छ।


प्रतिक्रिया