एकैदिन निर्वाचन कार्यालयको स्थापना

कला राना,
वालिङ ।
यही बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी स्याङ्जामा मुख्य निर्वाचन कार्यालय सहित यहाँका ११ पालिकाहरुमा एकैदिन निर्वाचन अधिकृतको कार्यालय स्थापना गरीएको छ । निर्वाचन सम्बन्धी अभिमुखीकरण कार्यक्रमसहित विहिबार जिल्लाका ११ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको हो ।
यता वालिङ नगरपालिकामा नगर प्रमुख दिलिपप्रताप खाँण र न्यायधिस एवं निर्वाचन अधिकृत उदवीर नेपालीले कार्यालयको व्यानर पढेर कार्यालयको उघाटन गरेका छन् । निर्वाचन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका अवसरमा वालिङ नगरप्रमुख दिलिपप्रताप खांणले निर्वाचन आयोगको ऐन नियमलाई पालना गर्दै आगामी स्थानीय तहको निर्वाचनलाई शान्त वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिए । अहिलेको निर्वाचन संहिताले अनावश्यक तडकभडकलाई निरुत्साहित गर्न प्रयास गरेको भन्दै गलतलाई कारबाही गर्नका लागी निर्वाचन कार्यालय दृढ रुपमा उभिनुपर्ने बताए ।
निर्वाचनमा हुने गलत परम्परा तथा संस्कृतिको अन्त्य गर्नुपर्ने भन्दै आजभन्दा १० वर्ष अगाडिको निर्वाचन जित्ने शैलिले यसपटकको निर्वाचन जित्न नसकिने भएकाले शैलि परिर्वतन गर्नुपर्ने बताए । निर्वाचन कार्यालयका साथमा प्रशासन, पुलिस तथा राजनितिक दल साथमा रहेकाले निर्वाचनका बेला आचार संहिता विपरित काम गरेमा जुनसुकै पार्टीलाई पनि कारबाहीको भागिदार बनाउनुपर्नेमा आँफू साथमा रहेको बताए । कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले निर्वाचनलाई निष्पक्ष बनाउन राजनितिक दलको भुमिका महत्वपुर्ण रहने बताइन् । आचारसंहिताको अक्षरस पालना गर्न तथा गराउन निर्वाचन कार्यालय तथा राजनितिक दलले समेत सहयोग गर्नुपर्ने भन्दै कार्यालयले यथार्थ कुरा बाहिर ल्याउनुपर्ने बताइन् ।
कार्यक्रममा नेपाली कांगे्रसका नगरसभापति नेत्रप्रसाद पाण्डे, एमाले अध्यक्ष शोभाकान्त पौडेल, माओवादी केन्द्रका नगर अध्यक्ष रमेश अर्याल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतका राजनितिकल दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहित सम्बन्धी जिज्ञासा सहित निर्वाचनमा सहयोग पुग्नेखालको काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यत्रममा न्यायधिस तथा निर्वाचन अधिकृत नेपालीले कार्यक्रमको सहजीकरण गर्दै कार्यक्रममा उठेका जिज्ञासाको समाधान गरेका थिए । राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, नेपाल प्रहरी, शसत्र प्रहरीलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया