काँग्रेसका मेयर/उपमेयरका उम्मेदवारद्वारा घरदैलो

वालिङ ।
आगामी बैशाख ३० गते हुन लागिरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस वालिङका उम्मेदवारले घरदैलो अभियान थालेका छन् । नेपाली काँग्रेस वालिङ नगर समिति र प्रमुख, उपप्रमुखका उम्मेदवारहरुबीच बैठक बसी घरदैलो अभियान गर्ने निर्णयसँगै घरदैलो थालिएको हो ।
वालिङ वडा नं. १ को रामबाच्छा, त्रियासी, खहरेमा घरदैलो तथा वडा नं. २ को सिमलचौपारी, धौखोला, छाप्राक, तीलडाँडामा घरदैलो तथा भेटघाट गरिएको हो । सिमलचौपारीमा आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारीले स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकालाई आधारभूत तहको स्मार्ट सिटीकोरुपमा स्थापित गर्न र अधुरा रहेका कार्य योजनाहरुलाई पूरा गर्नकालागि पनि नेपाली काँग्रेसको नेतृत्वलाई मतदान गरी बिजयी गराउन अनुरोध गरीन् ।
कार्यक्रममा नगर प्रमुखका उम्मेदवार दिलीपप्रताप खाँणले पाँच वर्षका अवधिमा अधुरा रहेका कार्यहरुलाई पूरा गर्नकालागि आफ्नो उम्मेदवारी रहेको बताए । उनले यसअघिका अधुरा कार्यहरुलाई नयाँ जोश र जाँगरकासाथ अगाडि बढाउँदै लैजाने प्रतिबद्धता जनाए । उनले वालिङबासी नागरिकहरुको चाहनालाई ध्यान दिंदै उद्यमशिलताका माध्यमबाट आर्थिक विकासका योजनाहरु आगामी दिनमा ल्याउने जिकिर गरे ।
कार्यक्रममा उप प्रमुख पदका उम्मेदवार कविता तिवारीले आसन्न निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई अमुल्य मत दिएर बिजयी गराउन अनुरोध गरीन् । उनले नागरिकहरुको सुख दुखमा साथ दिने पार्टी नेपाली काँग्रेस भएकाले आसन्न निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई सहयोग गर्न पनि आग्रह गरीन् ।
नेपाली काँग्रेस वालिङ कार्य समितिले प्रमुख, उपप्र्र्रमुुुख तथा वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुसँगको संयुक्त छलफल गरी वडा/वडामा प्रचारात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको नगर समितिका सभापति नेत्रप्रसाद पाण्डेले बताए ।
नगरका १४ वटा वडामा एकहप्तासम्म टोल टोलमा पुगेर टोल भेला गरिने भएको छ । निर्वाचनलाई लक्षित गरी विभिन्न तयारी समितिहरु गठन गरी तयारी थालिएको पाण्डेले बताए । सबै नगरवासीले स्मार्टसिटीको आधारशिलामा पुग्न नेपाली काँग्रेस पाटीलाई सहयोग गर्न आग्रह गरे ।
यसै गरी नेकपा एमालेले पनि घरदैलो अभियानलाई तिब्र पारेको छ । वालिङ नगरपालिका लागि नगर प्रमुखका उम्मेदवार कृष्ण खाँण र उपप्रमुख खगिसरा थापाले वालिङ १ त्रियासीबाट घरदैलो अभियानको शुभारम्भ गरेको नेकपा एमाले वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिए ।

 

प्रतिक्रिया